स्थानीय तह निर्वाचन २०७९

नयाँ चुनाव, पुरानै एजेन्डा, घोषणामै सिमित पत्रहरु

महानगरलाई चाहिने पूर्वाधार बनाउन ध्यान नदिने दलहरुले हरेक चुनावमा मेट्रोरेल, तत्काल लालपुर्जा जस्ता असम्भव नारा दिएर झुक्याइरहेका छन्

सञ्जय रानाभाट २०७९ वैशाख २३ गते १०:२९

सञ्जय रानाभाट
पोखरा l
जब चुनाव आउँछ, यी मुद्दा सुनिन्छन् । स्थानीय, प्रदेश या प्रतिनिधि सभाको निर्वाचनमा यीनै एन्जेन्डालाई पोखरामा दल तथा उम्मेदवारले भोट तान्ने माध्यम बनाइरहेका छन् । आसन्न स्थानीय निर्वाचनमा पनि पोखरा महानगरको नेतृत्वका लागि प्रतिस्पर्धा गरिरहेका दल र उम्मेदवारले घोषणापत्रमा यिनै मुद्दालाई दोहोर्‍याएका छन् ।

अझ रोचक त के भने स्रोत, साधन र भूगोल एवं जनसंख्याका आधारमा असम्भवजस्तै रहेको पोखरामा मेट्रोरेल सञ्चालन गर्ने योजना एमाले र सत्तागठबन्धनको घोषणापत्रमा छ । एमालेका तर्फबाट कृष्ण थापा र गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य मेयरका उम्मेदवार छन् ।

यसअघि ०७४ को निर्वाचनमा एमालेका मेयर उम्मेदवार मानबहादुर जिसीले मोनोरेलको योजना ल्याएका थिए । तर उनले ५ वर्षे कार्यकालमा त्यसको सम्भाव्यता अध्ययनसमेत गराएनन् । यस पटक एमालेले पुरानै योजना मनोरेल तथा मेट्रोरेल समेटेको छ । ‘पोखरा महानगरभित्र सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि मोनोरेल तथा मेट्रोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गरिनेछ,’ एमालेको घोषणापत्रमा उल्लेख छ ।

Advertisement

—क्षेत्रीय स्तरको बसपार्क
—पोखरा रिङ रोड
—ताल–ताल मोनोरेल
—सहरमा मेट्रोरेल
—व्यवस्थित पार्किङ
— सार्वजनिक शौचालय
— पार्कहरुको निर्माण
—गुणस्तरी शिक्षा र स्वास्थ्य
—पर्यटन विकास
—पृथ्वीचोकमा सिटी बसपार्क
—सुकुम्बासीलाई लालपुर्जा वा आवास

पहिला एमालेकै कार्यकर्ता र त्यति बेलाको घोषणापत्र बनाउनेमध्ये एक धनराज आचार्य अहिले फरक पार्टीबाट उम्मेदवार छन् । र, उही एजेन्डालाई समेटेका छन् । गठबन्धनको साझा मेयरमा उम्मेदवार बनेका उनको पनि घोषणा पत्रको मुख्य बुँदामा मेट्रोबाट फेवा–बेगनास जोड्ने योजना छ । ‘अघिल्लो घोषणापत्रमा भएका योजना पूरा गरिदिएको भए त्यो पार्टी (एमाले) छोड्नुपर्ने परिस्थिति बन्ने थिएन,’ आचार्यले घोषणापत्र सार्वजनिक कार्यक्रममा भनेको थिए ।

चुनावी घोषणापत्रलाई भोट माग्ने साधनका रुपमा मात्र प्रयोग भएको राजनीतिक विश्लेषक पदमशरण रेग्मी बताउँछन् । ‘राज्य संघीय संरचना गएपछि अझ बढी भोटको राजनीतिक भयो । साधन, स्रोतको सुनिश्चितता नभई जे पनि लेख्ने प्रवृत्ति मैलाउँदै गएको छ,’ उनले भने, ‘अब जनता धेरै सचेत भइसके ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सदावहार एजेन्डा थियो । विमानस्थल निर्माण अहिले अन्तिम चरणमा छ । अहिले पोखराको मुख्य बजार क्षेत्रको यातायात आवागमन अत्यन्तै अव्यवस्थित छ । विमानस्थल सञ्चालनपछि पोखराको सहरी यातायात आवागमन कठिन हुने आकलन छ । यसपालि उम्मेदवारले ट्राफिक व्यवस्थापनको मुद्दा त समेटेका छन् तर कसरी भन्ने व्याख्या छैन ।

Advertisement

राजनीतिक विश्लेषक रेग्मी भन्छन्, ‘केही राम्रा काम पनि भएका छन् । तर, यो स्थानीय तहमा ७० प्रतिशत नराम्रा काम भए । नराम्राले राम्रा काम ढाक्दा स्थानीय सरकार कमजोर देखियो ।’ देश संघीयतामा गएसँगै राजनीतिक गर्ने मान्छेले सेवा भावले काम गरे १५ वर्षभित्रमा देशको मुहार फेर्न सकिने उनले सुनाए ।

‘जनतालाई डेलिभरी दिन्छु भनेर आउनुपर्‍यो,’ उनले भने, ‘चुनाव लड्दा ५ करोड खर्च गर्न थालेपछि त कमाउ धन्दा नै सुरु हुन्छ । यस कारण यस्तो प्रवृत्ति बन्द गर्नुपर्छ र काम गर्न सक्ने मान्छे स्थानीय सरकारको नेतृत्वमा आउनुपर्छ ।’ पोखरा ३२ मा लामेआहालमा क्षेत्रीय स्तरको बसपार्क निर्माण पहिला पहिलाका चुनावकै एजेन्डा यसपालि पनि दलहरुले समेटेका छन् । प्रदेश सरकारले पनि त्यही योजना ल्याएको थियो । तर वर्षाैंअघिको यो योजना कार्यान्वयन प्रक्रियामा सिन्को भाँचिएको छैन । पोखरा ३२ को लामेआहालबाट ३३ को बाघमारा, दोबिल्ला हुँदै विरौटासम्मको वैकल्पिक निर्माणाधीन मार्गलाई स्तरोन्नति र लामगादी, पटनेरी, रिठेपानी, भेडिफारम, ढुंगेसाँघु, जोड्ने सडकलाई महानगर गौरवको आयोजनामार्फत निर्माण गरिने एमालेको घोषणापत्रमा उल्लेख छ ।

अधिवक्ता भगवती पहारी दलहरुले घोषणा पत्र बनाउँदा विज्ञहरुको सुझाव लिनुपर्ने बताउँछिन् । उनले भन्नि, ‘देशको आवश्यकता के हो त्यसलाई ध्यान दिनुप¥यो । योजना, नीति, नियम बनाउँदा त्यो क्षेत्रको विज्ञ राखेर काम गर्नुपर्छ ।’
पृथ्वीचोकमा बसपार्कका लागि ४० वर्षअघि नै जग्गा अधिग्रहण भएको हो । झन्डै ३ सय रोपनी जग्गा बसपार्कका लागि छुट्याइएको थियो । भूमिहीनको बसोबास, राजमार्गको मापदण्ड र मुआब्जास्वरुप जग्गा वितरण लगायतका कारण अहिले सय रोपनीमात्र जग्गा त्यहाँ छ ।

अधिवक्ता पहारीले अब आउने जनप्रतिनिधि सेवा भाव लिएर भोट माग्न आउनुपर्ने बताइन् । ‘मिलुजुली खाने प्रवृत्ति अब अन्त्य गर्नुपर्छ,’ उनले भनिन् । अघिल्लो चुनावमा पनि पृथ्वीचोकमा बसपार्क निर्माणलाई उम्मेदवारले चुनावी एजेन्डा बनाएका थिए । गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार आचार्यले घोषणा पत्रमा सार्वजनिक निजी साझेदारी अवधारणामा लामेआहालको निर्माणाधीन क्षेत्रीय बसपार्कदेखि पर्यटकीय क्षेत्र लेकसाइडसम्म सडक दायाँ बाँया इलेक्ट्रिक ट्राम्स् सञ्चालन गर्ने उल्लेख गरेका छन् । यसरी असम्भव योजना ल्याउने जनप्रतिनिधिलाई जनताले बुझेर मत दिनुपर्ने पहारीको तर्क छ । ‘अलिकति बुझेका राम्रो मान्छे राजनीतिमा आउन पछि हटेको जस्तो देखियो । योगदान केही नगर्ने तर, पद चाहिने प्रवृत्तिका मान्छेअघि बढेको देखियो,’ उनले सुनाइन् ।

पोखराका धेरै सार्वजनिक जमिन भूमिहीन र भूमिपति दुवैथरीबाट अतिक्रमण भइरहेको छ । उम्मेदवार भने भूमिहीनलाई लालपुर्जा वा व्यवस्थित आवास दिने एजेन्डा हरेक चुनावमा ल्याउँछन् । सार्वजनिक जमिन अतिक्रमित छ, तर चुनावी घोषणापत्रमा भने पार्क निर्माणका योजना छन् । कास्कीमा ४० हजार हाराहारी सुकुम्बासी रहेको बताइन्छ । यहाँ एमाले र गठबन्धनका दलले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने घोषणा पत्रमा लेखेका छन् । अघिल्लो ५ वर्षमा कुनै भूमिहिनले लालपुर्जा पाएनन् । ‘भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउँदै राष्ट्रिय भूमि व्यवस्था आयोगसँग समन्वय गरी जग्गाधनी लालपुर्जा प्रदान गरिनेछ,’ आचार्यको चुनावी घोषणा उल्लेख छ । महानगरको व्यस्त सडक तथा चोक चोकमा आवश्यकता अनुसार आकासे पुल तथा अन्डरपास÷बाइपास निर्माण पनि गठबन्धनको घोषणा पत्रमा छ । जसको स्रोतको सुनिश्चितता भने स्पष्ट छैन ।

स्थानीय चुनावमा राजनीति गर्न नहुने विश्लेषक रेग्मी सुनाउँछन्, ‘धेरै देशमा स्थानीय सरकारमा एजेन्डा हेरेर मतदान गरिन्छ । योग्य मान्छे उठाइन्छ । राजनीतिक दलले जुन व्यक्तिलाई उठायो, त्यसैको विकल्प यहाँ भएन । यसले राम्रो मान्छे आउन सकेन भन्ने ठान्छु ।’ पोखरा रिङरोड पनि हरेक चुनावमा दोहोरिने एजेन्डा हो । पोखरामा सवारी पार्किङ व्यवस्थित छैन । पार्किङको एजेन्डा पनि दोहोरिएको छ । सार्वजनिक शौचालय अहिले पोखराका मुख्य बजार क्षेत्रमा खासै छैनन् । पोखरा महानगरपालिकाको तथ्यांकमा भने २८ सार्वजनिक शौचालय छन् । तिनको सरसफाइ र नियमित सञ्चालन चुनौतिपूर्ण छ भने थप शौचालय निर्माणको खाँचो मतदाताले औंल्याइरहेका छन् ।

उम्मेदवारहरुले दोहोर्‍याएको एजेन्डा यो पनि हो । स्थानीय सरकारको अधिकारभित्र माध्यमिक शिक्षा र स्वास्थ्य छ । जनताले मुख्य चासो राखेको यी एजेन्डामा उम्मेदवारले गुणस्तरीय शिक्षा र स्वास्थ्य भनिरहेका छन् । तर सामुदायिक विद्यालयको स्तर उकास्ने कुनै वस्तुगत योजनाअघि सारेका छैनन् । पर्यटनको विकास त झन् पोखरामा कहिल्यै छुट्दैन । पोखरामा पर्यटकको बसाइ लम्ब्याउने योजना प्रमुख दुवै उम्मेदवारले घोषणापत्रमा समेटेका छन् । पर्यटकीय गन्तव्य विकास गर्ने भन्ने पनि छ । तर धेरै पर्यटक कसरी ल्याउने भन्नेबारे ठोस योजना दुवै घोषणापत्रमा छैन ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया