• Ad

Samadhan National Daily

  • Ad

अमेरिकाबाट आएको त्यो फोन

पाेखरा, १३ पौष:
keshav-sharans-photo

दाइ मेरी क्रिसमस ! यही वाक्यबाट भाइले कुराकानीको मेलो बढायो । दिन क्रिसमसकै थियो । ठानें, विस गर्न फोन गर्‍यो । मैले पनि भनें, भाइ मेरी क्रिसमस टु यु टू । कुरा अरु पनि भए । हाम्राबीच औपचारिक–अनौपचारिक दुवै बात चल्छ । तर खास कुरा क्रिसमसकै रहेछ । धर्मनिरपेक्ष मलाई क्रिसमसको कुनै कुरा सुन्नु थिएन । तर उसले सुनायो । सुन्न लायक नै कुरो सुनायो । क्रिसमस धार्मिक पर्व भए पनि उसले चर्चा गर्न लाएको र सुनाउन खोजेको कुरा हामीले सामान्य रुपमा बुझ्ने धर्मभन्दा धेरै उच्चकोटीको रहेछ । भन्यो, ‘यो वर्षको क्रिसमस मेरो लागि विशेष रह्यो ।’

किन भाइ ? मेरो स्वाभाविक प्रश्न थियो ।

मैले जीवनको महत्वपूर्ण निर्णय गरें ।

के ?

आजको दिन मैले छुट्टै पेपल खाता खोलेको छु, जहाँ महिनाको २० डलर जम्मा गर्छु

के भो त ?

वर्षभरि जम्मा भएको पैसा दान गर्नेछु ।

कसरी आयो यस्तो बुद्धि ?

क्रिसमसले सिकायो ।

कसरी ?

उसले बेलिविस्तार लगाउन थाल्यो ।

म एबिसी लिकर स्टोर्समा काम गर्छु । मेरो म्यानेजरले अमेरिकाको राष्ट्रपति को हो भन्ने पनि चिन्दैन । उसले जीवनमा अहिलेसम्म भोट हालेको छैन । न राजनीतिमा चासो राख्छ न अरु कुरामा तर क्रिसमस आउँदा भने निकै खुसी हुन्छ । अस्ति एउटा रेस्टुरेन्टमा गएर ४० डलरको खाएछ र ५ सय डलरचाहिँ वेटरहरुलाई टिप्स दिएछ । किन त्यत्रो दिएको भनेर सोध्दा उसले भन्यो, ‘तिनीहरुले पनि क्रिसमस मनाउन् न ।’ म छक्क परें ।

कल्पना अचेल केटाकेटी हेरचाह गर्ने हिमालयन डे केयर सेन्टर चलाउँछिन् । ती ससाना केटकेटीका बाबुआमा अस्ति आएका थिए । केटाकेटीलाई लिएर गए । बाटोमा मैले देखें आफ्नो बच्चालाई उनीहरुले केही पैसा दिएका थिए । त्यो पैसाचाहिँ उनीहरुले भिखारीहरुलाई दिन लगाए । मेरो दिमाग खुलेजस्तो भयो । यति सानैदेखि ती बच्चाहरुलाई सिकाइयो । तर मैले कहिल्यै दानको कुरा सिक्न पाइनँ ।

क्रिसमसका दिनमात्रै होइन बेलाबेला चर्चमा गएर दान गर्नेहरु देखेको थिए । त्यो सामान्य लागेको थियो । तर यो क्रिसमसका बेला भने चर्चमा दान दिनुको अर्थ धेरैबेर खोजे । आखिर दानबाट धनी भएर चर्चहरुले स्कुल र हस्पिटल खोल्न सकेका रहेछन् भन्ने बोध गरें ।

फेरि नेपालतिर फर्कियो भाइ । भन्यो, ‘दाइ हामीलाई कहिल्यै दान गर्न सिकाएन है हाम्रो समाजले ? मैले समर्थन जनाएँ । ‘हुन त हाम्रो धर्मकर्ममा पनि दानधर्म र पुण्यको कुरा छ,’ मैले भनें, ‘तर त्यो दान गरिब दीनदुखीलाई दिनुपर्छ भनेर कहिल्यै कसैले भन्दैन ।’

म अझै बोल्दै गएँ—अझ हामी ब्राह्मणहरु दान गर्छौं त केवल आफ्ना छोरीचेली र ज्वाइँ, भान्जाभान्जीलाई मात्र । पण्डितलाई दान दिनुपर्ला भनेर पनि हो कि कुन्नि जनै पूर्णिमा वा अन्य चाडपर्वमा पनि उनै ज्वाइँ र भान्जालाई पुज्छौं-दक्षिणा बाँड्छौं । दक्षिणा पनि आफ्नो हैसियत अनुसारभन्दा सकी नसकी ज्वाइँभान्जाको हैसियतमा दिनुपर्ने बडो अचम्मको चलन छ ।

america-bat-ayako-fonprakash-acharya

हाल अमेरिका बस्ने कास्की निर्मलपाेखरीका प्रकाश अाचार्य

पण्डितले दान र पुण्यको कुरा गरे पनि आफू दान माग्छन्, लिन्छन् । मलाई थोरै दिए पुग्छ, धेरैचाहिँ गरिबलाई बाँड भनेर भन्दैनन् । आजसम्म पनि मैले स्कुल बनाए धर्म हुन्छ, हेल्थपोस्ट बनाए धर्म हुन्छ वा अरु दीनदुखीलाई दान गरे धर्म हुन्छ भनेर पण्डितहरुले भनेको सुनेको छैन । पछिल्लो समय पोखरामा ख्यातिप्राप्त पण्डित कमलनयन गौतमले भने मन्दिरको मूर्तिमा भन्दा दानपेटिकामा पैसा राख्न भनेकोचाहिँ सुनेको छु ।

उनी आफ्ना प्रवचनमा भन्छन्, ‘दानपेटिकामा जम्मा भएको पैसाले मन्दिरकै हितमा काम हुन्छ, गाउँठाउँको हितमा काम हुन्छ ।’ क्रिश्चियनले मात्रै होइन मुसलमानहरु पनि इद आदि पर्वका बेला गरिबहरुलाई दान गर्छन् । क्रिस्चियन र मुसलमानहरु आफ्नो आम्दानीको १० प्रतिशत दानका लागि छुट्याउँछन् । हामी भने त्यसो गर्दैनौं । यी लगायत कुराहरु मैले भाइलाई भनें । भाइलाई मेरो कुरा जँच्यो ।

भाइले हालैको एउटा समाचारतिर ध्यान मोड्यो ।

दाइ मैले महिनामा जाबो २० डलर जम्मा गर्दा के हुन्छ भन्लान् मान्छेहरु । तर धेरै हुन्छ भन्ने कुरामा आफैं कन्भिन्स भएँ । तपाईंकै पत्रिका अन्नपूर्ण पोस्टमा छापिएको थियो समाचार— २ हजारको स्पाइक जुत्ता किन्न नसक्दा खाली खुट्टा दौडिइन्, गुडिया गुप्ता । त्यति थोरै पैसा नहुँदा पनि त्यो हालत छ । अमेरिकाको २० डलर भनेको नेपालमा २ हजार रुपैयाँ हुन्छ । २ हजारले पनि कसैको जीवनमा ठूलो काम बन्दो रहेछ । त्यही समाचार पढेपछि मैले २० डलर महिनामा दानका लागि छुट्याउने निधो गरें ।

भाइले अझै भन्दै गयो, ‘कहिलेकाहिँ कफी खाँदै २० डलर त्यत्तिकै सकिन्छ । त्यो कम गर्न सकिन्छ ।  मैले वर्षमा २४ हजार रुपैयाँ जम्मा गर्न सक्छु । मजस्तै अरुले पनि गरे भने धेरैजना मिलेर नेपालमा राम्रो सहयोग गर्न सकिन्छ । जब दीनदुखीलाई आवश्यक परेको हुन्छ त्यतिबेला आफूसँग नहुन सक्छ । त्यसैले दानकै लागि छुट्टै खातामा राखियो भने चाहिँदा त्यहाँबाट निकाल्न सकिँदोरहेछ । केहीअघि मात्रै दुर्घटनामा बितेका नेपालीको शव नेपाल पठाउन चन्दा संकलन गर्दा अपर्झट पैसा निकाल्न नसक्दा पनि  पनि छुट्टै बचत चाहिँदो रहेछ भन्ने बोध भयो ।’

मेरो भाइ प्रकाश आचार्य ८ वर्ष भयो अमेरिका गएको । उसले यो ८ वर्षमा आफ्नै घर किनेको छ । कारमा डुल्छ । श्रीमती र छोराछोरीलाई खुसी र सुखी बनाएर राखेको छ । मेरा मामा माइजू अर्थात उसका बाआमाले अमेरिका घुमिसक्नु भयो । कल्पनाका बाआमा पनि पुगिसक्नुभएको छ त्यो सातसमुद्रपारिको अनुभव लिन । कान्छो भाइ अस्ट्रेलिया छ । बैनी रेनुका र ज्वाइँ रामचन्द्र अनि भान्जाभान्जी भएको पनि अमेरिकै हो । जीवनमा यो गर्न सकिनँ । ऊ गर्न सकिनँ भनेर उपलब्धिका लागि रोइलो गर्नुपर्ने अवस्थामा छैन प्रकाश । तर उसले अमेरिका पुगेका ८ वर्षमा गरेको सबैभन्दा ठूलो उपलब्धि यसपालिको क्रिसमसमा आफूले गरेको निर्णयलाई मान्यो । यति सानो कुरा दिमागमा पस्न ८ वर्ष लाग्यो ।

आएकै वर्षदेखि दानका लागि पैसा छुट्याउन पाएको भए थुप्रै जम्मा हुन्थ्यो होला भनेर ऊ थकथकी मानिरहेको थियो । अर्काे कुरा पनि उसले भन्यो—दान भनेको धनी भएर मात्रै गर्ने कुरा होइन । नेपालमै पनि महिनामा १ सय रुपैयाँ छुट्याएर वर्षमा १२ सय जम्मा गर्न सकिन्छ । त्यस्ता १० जना साथी मिलेर १०-१२ हजारको सहयोग गर्न सकिन्छ । उसले मलाई पनि सुझायो, ‘एकैपटक ५-१० हजार दान वा सहयोग गर्न गाह्रो होला दाइ, तर महिनैपिच्छे थोरैथोरै जम्मा गर्नुभयो भने बेस हुन्छ ।’

मैले पनि एकाध ठाउँमा ५ हजारका दरले दान गरेको सुनाएँ । तर त्यसलाई चर्चामा भने ल्याइनँ । समाचार बनाउनु त परै फेसबुकमा पनि स्टाटस लेखिनँ । म पनि ठान्छु के भने दान धन भएरै मात्रै गर्ने होइन । सामान्य दालभात खान सक्ने भइसकेपछि थोरै अर्काका लागि छुट्याउन नसक्ने मध्यम वर्गीय कोही हुँदैन । मात्रै सोच निम्न वर्गीय हुनुहुँदैन । अन्तमा फोन राख्दा भाइलाई भनें, ‘जसरी तेरो क्रिसमस धन्य भयो यसपालि । भाइले पुण्यको निर्णय गरेको खबर सुनेर म धन्य भएँ ।’ ऊ जति खुसी थियो पुण्यमार्गमा हिँड्न थाल्दा म पनि उस्तै पुलकित भएँ । वास्तवमा क्रिसमस दिन अमेरिकाबाट आएको भाइको फोनले मलाई धन्य बनायो ।

(लामिछाने अन्नपूर्ण पोस्ट दैनिकको पोखरा ब्युरो प्रमुख हुन्)


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad