• Ad

Samadhan National Daily

  • Ad

आयातीत पीडाको कहानी

पाेखरा, १६ पौष:
udeepraj dhungana

१. कथालाई काठमाडौंबाट कटारी, ओखलढुंगा, फेरि काठमाण्डौ हुँदै कतार पुर्‍याउँदा कहीँ कतै पनि पात्र डम्बरबहादुर राई एक्लै हिँडेको भान हुँदैन । पाठक पनि सँगै यात्रा गरिरहन्छन् । किनकि यो कथा ९० प्रतिशत नेपालीको हो ।

२.प्रमुख पात्र त्यो काल खण्डमा राजनीतिक रुपमा उखुम परिस्थिति बोकेर छट्पटिएको राजधानी मै छ । जुन समय देश र जनताका लागि सामान्य कदाचित थिएन । त्यसतर्फ न लेखक सचेत छन् न त सम्पादक नै ।

आगोले जलाउँछ । पानीले प्यास मेट्छ । मानिस जन्मिएपछि मर्छ । यी कुराहरु सत्य हुन् । अकाट्य हुन् । र अकाट्य छ हिजोआज नेपालका हरेक घरबाट कम से कम एक जना विदेशिनु । विदेशिएका मध्ये ९० प्रतिशतभन्दा बढी नेपाली खाडी र खाडी बराबरका मुलुकमा जानु । यो पनि हामी नेपालीका लागि एउटा सत्य हो । नेपाली समाजमा पछिल्लो पटक यही ‘सत्य’ बन्न अग्रसर विकराल समस्याको एउटा प्रतिनिधि कथाको रुपमा समेटिएको प्रचारसहित बजारमा निस्किएको हो ‘मुदिर’ ।

आफैं पनि अरबमा ‘रब’ खोज्दै भौंतारिएर केही समय अगाडि नेपाल भित्रिएका लाहुरे लेखक मीनराज बसन्तले यो उपन्यास लेखेका हुन् । सामान्यतया ‘मुदिर’कै भाषामा भन्नुपर्दा यसरी फर्कने ‘लाहुरे’सँग कमाईको मामलामा न ‘पाङ हुन्छ न पुच्छर’ नै । तर लेखक मीनराज वसन्तसँग भने एउटा कथाको ‘ड्राफ्ट’ थियो । गजल, कविता र फुटकर लेखनमा रमाइरहेका लेखकलाई अरबले मुदिर टकारी दियो । कयौं पटक सुनिएका, कयौं पटक अखबारका हेडलाइन भएका र नेपालका कयौं परिवारले भोग्न विवश कथालाई लेखकले उधिन्ने प्रयास गरेका छन्, मुदिरमा ।

mudir

पुस्तकः मुदिर
विधाः आख्यान
लेखकः मीनराज वसन्त
प्रकाशकः शिखा बुक्स
मुल्यः रु. ३२५

सुदुरपश्चिम ओखलढुंगाको मुन्धुमभक्त पात्र डम्बेको कथा हो, यो उपन्यास । नेपालमै हुँदा खाएका हण्डर र गरेका बबण्डरले पात्रलाई कतार पु¥याउँदछ । काठमाडौंमा डेरावालका साझा समस्यालाई सुस्त बतासले स्पर्श गराउँदै लेखकले कथालाई घरदेशबाट परदेश लैजान्छन् । पहिलो परदेश र पहिलो प्लेन यात्राले स्वागत गरेका छेडखानीसँगै हतारमा कतार पुगेपछि कथाले नयाँ मोड लिन्छ । मालिकलाई अरबी भाषामा ‘मुदिर’ भनिन्छ । त्यही मुदिर वरिपरि घुम्छ डम्बरबहादुर राईको जीवन । भनुँ यसरी अझ, मुदिरले घुमाइरहन्छ डम्बरबहादुर र बहादुरहरुलाई ।

म्यानपावर कम्पनिको बदमासी, दलालको छक्कापन्जा र अरबी मुदिरको चङ्गुल कसरी बनेको हुन्छ कथा अगाडि बढ्दै जान्छ । डम्बेले बुझ्दै जान्छ । घरका आशा र सपना, परदेशको परिस्थितिमा खाडीमा कसरी पिल्सिन्छन् नेपाली युवा यही नै मूल कथा हो । मूल मर्म हो उपन्यासको ।

काव्यात्मक शैलिमा गरिएको कथावाचन लोभलाग्दो छ । पछिल्लो समय दहरिँदै आएको यस प्रकारको शैलीमा लेखक मीनराज वसन्तले आफुपनि लाइनमा नै रहेको प्रमाणित गर्न सफल छन् । हरेक कुरालाई प्रस्तुत गर्दा बडो मिहिन ढंगबाट गरिएको भाषा प्रयोगले पाठकलाई बोर हुने बहाना दिँदैन ।

परदेश, विशेष गरी कतार, संयुक्त अधिराज्य अरब र साउदी अरेबियामा काम गरेका अनुभवीलाई आफ्नै कथा जस्तो लाग्नेगरी कथालाई प्रस्तुत गरिनुले लेखकीय कुशलता झल्काउँछ । उनीहरु ठाँउठाँउमा भक्कानिन सक्छन् । कसरी लेखकले ठ्याक्कै मेरो कथा लेख्यो होला भनेर गम खान सक्छन् । कथालाई काठमाडौंबाट कटारी, ओखलढुंगा, फेरि काठमाण्डौ हुँदै कतार पुर्‍याउँदा कहीँ कतै पनि पात्र डम्बरबहादुर राई एक्लै हिँडेको भान हुँदैन । पाठक पनि सँगै यात्रा गरिरहन्छन् । किनकि यो कथा ९० प्रतिशत नेपालीको हो ।

कथामा चिप्लेका अधिकांश ठाँउमा लेखक एकहोरो चिप्लिरहेका छन् । उपन्यास लेख्नु मनको बहमात्र फुकाउनु कदाचित होइन । लेखक आफैं पनि त्यही परिवेशमा रहेकोले होला भावनामा अत्याधिक बगेको महसुस हुन्छ । कताकति लाग्छ यो संस्मरण हो जहाँ म पात्र भयंकर हाबी छ । साइडलाइनमा आएका सबै जसो पात्रलाई लेखकले नजरअन्दाज गरेका छन् । प्रमुख पात्र घर छोडेपछिको कथा मात्र छ उपन्यासमा । घर छोडेपछि घरको कथा पनि हुन्छ भन्ने सत्य उपन्यासले भुसुक्कै बिर्सेको छ ।

‘मुदिर’ पढ्दै जाँदा यस्तो लाग्छ, कतारमा हरेक कामदारको प्रमुख समस्या भनेको केबल तोकिएको समयमा तलब नपाउनु मात्र हो । घरदेशमा हुँदा जसरी राजधानी खाल्डोलाई पात्रले कोसिरहन्छ त्यही क्रमको अर्को उपखण्डको रुपमा मात्र कतारलाई प्रस्तुत गरिनु उपन्यासको कमजोर पक्ष हो ।

आम नेपालीको समस्या बेरोजगारी, गरिबी, आवश्यकता पूर्ति सहजता लगायतका मुद्धालाई सम्बोधन गर्ने कोसिस गरिएको छ । तर एउटा मानिस लाहुरे भइसकेपछिको उसको घरमा आइपर्ने मानसिक एवं सामाजिक प्रभावलाई प्रस्तुत गर्न भने आख्यान चुकेको छ । आफैंमा आख्यानकारद्वारा छनौट विषय अत्यन्त गम्भीर भइकन पनि मुख्य विषयसँग परिपूरक भएर आएका÷आइरहेका उपकथालाई स्थान नदिनुले उपन्यासलाई हुनुपर्ने जति सुन्दर हुनबाट रोकेको छ । भलै आख्यानको अन्तिममा रहेको उपसंहारले सन्तुलित अवतरणको लागि स्पष्टोक्ती दिएको छ ।

कथा वि सं. २०६२ सालतिरबाट सुरु गरिएको छ । पुच्छरको पेजसम्म आइपुग्दा वि. सं. २०७० को फ्रेम सेट छ । टाइम फ्रेममा कथालाई राख्न खोजिएको जस्तो देखिन्छ तर त्यही टाइम फ्रेमलाई सन्तुलित गरिएको छैन । अझ भनुँ त्यो प्रयोगको उपयोगिता सिद्ध गर्न आख्यानकार चुकेका छन् । समयसीमा नराखिएको भए कथा सर्वकालीन हुन सक्थ्यो । ६२ सालको टाइम फ्रेम राखिसकेपछि कुनै पनि कथाले कसरी देशको त्यो बेलाको समय बोल्न बिर्सन्छ ? अझ प्रमुख पात्र त्यो काल खण्डमा राजनीतिक रुपमा उखुम परिस्थिति बोकेर छट्पटिएको राजधानी मै छ । जुन समय देश र जनताका लागि सामान्य कदाचित थिएन । त्यसतर्फ न लेखक सचेत छन् न त सम्पादक नै ।

उपन्यासलाई आञ्चलिकतामा ढाल्ने प्रयास सर्वोत्कृष्ट नभएपनि भयंकर दोषयुक्त छैन । यद्यपि लेखकले कताकति जबरजस्त त्यस्ता शब्द घुसाएका छन् । जुन नहुँदा पनि उपन्यासको वजन बढ्ने थियो घट्ने थिएन । किराँत र अरबी भाषा संस्कृतिको बारेमा अझ कम आएको छ उपन्यासमा जति कथानुसार आउनुपर्ने हो ।

नेपालका विदेशी नियोगको अस्तव्यस्तता आम मानिसले आंकलन गरिएको भन्दा पनि खराब हुन्छ उपन्यासले ऐनाले झै छर्लङ्ग देखाउँछ । विदेशमा रकमको रुख हुन्छ भन्ने आम अर्धशिक्षित र अशिक्षित वर्गको अपेक्षा, रहर, कौतुहलता मनको लड्डु कसरी ध्यूसँग जस्तो हुन्छ । उपन्यासले यस पक्षलाई सरल रुपमा सप्रसंग व्याख्या गरेको छ ।

कृति दुधले नुहाएको जस्तो बनाउन प्रस्सत ठाँउहरु थिए÷छन् । उपन्यासको मिहिन कुरा भनेको यसले बोल्ने आयातीत पीडाको दुरुस्त कहानी हो । जसको लागि हामी ऋण गरेर दोस्रो दर्जाको नागरिकको हैसियतमा विदेशिन हौसिन्छौ । पुस्तक विदेश जान चाहनेलाई मार्ग निर्देशनका लागि उपयुक्त छ । गएर फर्केकालाई आफ्नो कालो समयको छाया सम्झाई दिन काफी छ । अगाडि बढ्नका लागि उत्प्रेरण दिनको लागि फलदायी छ । उपन्यासले पठाउन चाहनेका लागि ‘के मैले पठाउन यो बाहेक अर्को विकल्प छैन?’ प्रश्न तेर्साउँछ । सजग बनाउँछ । जुन उपन्यासको सुन्दर पक्ष हो ।

उपन्यासले बताउँछ बाटो जुनसुकै होस् । रहर होस् वा कर, जसरी पनि खाडी पुगेपछि लाहुरेले भोग्ने समस्याका ठेलीमा सम्बन्धित देशमा रहेका नेपाली नियोगहरु पनि कहीँ कतै खाडी कै मुदिरको भूमिकामा देखिनु लज्जास्पद छ । विदेश भन्ने बित्तिकै लहडमा लाइनमा लाग्ने हामी लठ्ठुलाई बुझेर मात्र विदेशिन निर्देशित गर्छ ।  मुदिर खाडीमा नेपाली कामदारको आम पीडाहरु लक्षित रहेर प्रकाशित यो समयको सुन्दर कृति हो ।

Udeeprajdhungana@gmail.com


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad