• Ad
  • Ad

Samadhan National Daily

  • Ad

‘आमा नायिका मधुवालाझैँ लाग्नुहुन्थ्यो’

पाेखरा, १६ पौष:

स्कुल जान झोला बोकेर सबेरै निस्केको बच्चा त्यो साँझ घरै फर्किएन र त्यो राति पनि आएन । भोलिपल्ट बिहान ममी खोज्न निस्किनु भयो । सीधै फिल्महलको पालेसँग गएर सोध्नुभयो, ‘खोइ मेरो साहु ?’
साहु हलमै थियो । पालेले साहुलाई देखाइ दिए । ममीलाई थाहा थियो, ‘हराइ रहने साहु कहिले जात्रा हेर्न गएको हुन्छ नत्र भने फिल्म हेर्न ।’

स्कुल जान्छु भनेर निस्केको साहु कहिले जात्रा हेर्न त कहिले फिल्म हेर्न कुदिरहेको हुन्थ्यो । हराएको हरायै गर्ने । त्यसपछि घरमा कमै मात्र बस्ने बुवालाई भन्दा धेरै बस्ने ममीलाई नै पीर पर्ने । ममी नै खोज्न जानुपर्ने ।

उनलाई खोज्न त्यति गाह्रो थिएन । अनुप कि जात्रा लागेको ठाउँ कि फिल्म हलमा खोजेपछि भेटिन्थे । कहिले त साहु रातभरी नै फिल्म हलमा बसिदिने । बिहान पनि आमाले नै लिन जानुपर्ने । सधैँ त्यसरी खोज्न र लिन जानु पर्ने भने जहिले ममीले नै गर्नु पथ्र्यो । साहुको गोठालो जस्तै । साहु अर्थात अनुप बराल ।

‘साहु’ अनुपलाई ममीले बोलाउने उनको प्रेमिल नाम हो । ‘कुन दिनको ऋण खाएछु तेरो, साहु’ भन्दै अनुप हराएकोहरायै गरेर सताएपछि रिसमा राखिदिनु भएको नाम हो । ममीले रिसमा पनि, मायामा पनि अनुपलाई बोलाउँदा ‘साहु’ भनेरै बोलाउनु हुन्छ । कहिले त डुली हिँड्ने भएर ‘गाइने’ पनि भन्नु हुन्थ्यो ।

अनुप बराल एउटा त्यस्तो नाम हो जसले पछिल्लो समय नेपाली नाट्य क्षेत्रबाट चलचित्र क्षेत्रमा आएका धेरैभन्दा धेरै कलाकारलाई बाटो देखाउने गुरुको रुपमा चिनिए । साथै नाटक र फिल्म खेल्ने कलाकार अनि कलाकारलाई खेलाउने निर्देशक पनि ।

उनले कतिलाई कलाकार त कतिलाई हिरो नै बनाए । बजारका चल्तीका कलाकार दयाहाङ राईदेखि सौगात मल्लसम्म उनका विद्यार्थी हुन् । बजारले अहिले उनैका विद्यार्थीहरुलाई नै रोज्छ । तर उनी आफू भने प्रायः चलचित्रमा भिलेनको रोलमा देखिन्छन् र पनि गुरु नै भइरहेका छन् । उनी अहिले पनि विभिन्न कलाक्षेत्रका पाठशालाका गुरु नै हुन् ।

अनुप सानैदेखि चञ्चले स्वभाव अनि चलाख बुद्धिका थिए । शिक्षित परिवार । मध्यम खालको आर्थिक अवस्थाका अनुपका बुवा पेन्टर हुनाले स्टुडियो जाने पेन्ट गर्ने गर्दथे । तीन भाइ–बहिनीमध्येका अनुप सबैभन्दा जेठा सन्तान हुन् । घरमा ममीले नै हेरचाह गर्नु पर्ने हुन्थ्यो । बुवा यायावर जस्तो, कहिले कता पेन्टिङ गर्न जानुपर्ने कहिले कता ।

हप्तौँसम्म पेन्टिङकै काममा हराइ दिने चर्चित कार्टुनिस्ट ‘वात्सायन’ दुर्गा बराललाई आफ्नै स्टुडियो र काम धान्नै फुर्सद थिएन । सानैदेखि ममीको केयरिङमा हुर्किएका अनुप बुवालाई सम्झिन्छन्, ‘उहाँले पनि घर त हेर्नु हुन्थ्यो तर समय नै हुँदैन थियो ।’

गाउँकै सात आठवटाभन्दा बढी विद्यालय फेरीफेरी पढेका उनले उच्च शिक्षा हाँसिल गर्नका लागि पोखरा र काठमाडौँलाई रोजे । एक्टिङ भने दिल्लीको एनएसडीबाट पढे । सानैदेखि कलाकारिताको नसा लागेका उनी रङ्गमञ्चमा नै ध्यान दिन्थे । भन्छन्, ‘औपचारीक पढाइमा त रुचि नै थिएन । रुचि त पोखराको जात्रा अनि फिल्म हलमा थियो ।’ उनी त्यसै गर्थे जसो उनलाई रुचि लाग्थ्यो । त्यसैले प्रत्येक चीजमा फिल्मको विम्ब देख्थे उनी ।

मधुवाला जस्तै सुन्दर तस्बिर ममीको
सानोमा फोटोको एल्बम पल्टाएर हेर्दा अनुपलाई आफ्नो ममी मधुवाला जस्तै लाग्थ्यो । हो ठ्याक्कै मधुवाला जस्तै । सन् १९६० को दशकमा बनेका चर्चित हिन्दी फिल्महरु ‘सराबी’, ‘हाफ टिकट’, ‘ब्वायफ्रेन्ड’ र ‘झुमरु’ जस्ता फिल्मकी नायिका मधुवाला जस्तै । ‘ममी अगाडि नै बसिरहनु भएको हुन्थ्यो तर म त्योभन्दा बढी तस्बिरमा भएकी ममीलाई देखेर खुशी भइरहेको हुन्थेँ ।

तस्बिरकै ममी राम्री लाग्ने,’ अनुप ती क्षणहरु सम्झिँदै मुस्कुराउँछन् । अत्यधिक फिल्मका सौखिन अनुपलाई आफ्नो ममीको सुन्दरतालाई त्यही मधुवालाको सुन्दरतासँग दाज्न मन लाग्थ्यो । बाल्यकाल सम्झिँदै अनुप भन्छन्, ‘मेरी ममी पनि मधुवाला जस्तै सुन्दर हुनुहुन्छ, आदर्श हुनुहुन्छ भन्ने लाग्थ्यो ।’

पिट्नु भएको याद छैन । पढ्न भनेर स्याङ्जाको वालिङमा मामाघर पठाएका अनुप स्कुलभन्दा बढी माछा मार्न बम पड्काउनेसँग खोलातिर दुगुर्न थाले । पढ्न भनी पठाएको छोरो माछा मार्न खोलातिर दुगुर्न थालेपछि आमाले आपूmसँगै राख्ने निधो गर्नुभयो । त्यहाँ पनि एक्लै रहन सकेनन् उनी । भाइबहिनीको मायाले अनुपलाई निकै सतायो ।

कान्छो भाइ अजीत र बहिनीलाई निक्कै माया गर्ने अनुपले एकदिन बुवाको खल्तिबाट पैसा चोरेर भाइबहिनीलाई नै घरबाट भगाए । आमा दमौलीमा औलो उन्मूलन परियोजनामा जागिरे हुनुहुन्थ्यो । बुवाको खल्तीबाट चोरेको पैसाले भाइबहिनी बोकर दमौली पुगेका अनुप ममीको अगाडि भने पर्नै सकेनन् । उनले दिमाग लगाए, ममी आउनु पहिले नै लुकिसक्नुपर्छ ।
अब लुक्ने कहाँ ? झन् समस्या पर्‍यो ।

आगनमा भुसचुलो (भुसबाट बल्ने चुलो) थियो । चुलोको छेउमा भुसको ठूलो बोरा थियो । त्यही बोराभित्र छिरेर लुकेर बसे अनुप ।
ममी आइपुगेर भाइबहिनीलाई सोध्नुभयो, ‘खोइ त दाइ ?’ उनीहरुलाई पनि थाहा थिएन । यताउता खोज्नुभयो । सबै सुनेर बसेका अनुप त्यतिबेलासम्म पनि केही नबोली बसिराखे । ‘कतै डुल्न गयो होला’ भन्दै मुर्मुरिएर खाना पकाउन थाल्नु भएछ । संयोगबस त्यही दिन चुलाको भुस पनि सकिएछ ।

ममी बोल्दै जब भुस निकाल्न भनेर बोरा भएतिर जानु भयो अनि आत्तिएर अनुप बोराबाट निस्किए । उनलाई लागेको थियो आमाले पिट्नु हुनेछ । तर उनले सोचे जस्तो भएन । आमाले पिट्नु भएन । उनी त्यसपछि निकै भावुक बने । भन्छन्, ‘आमाको माया पहिलो पटाक त्यहिबेला महसुस गरेँ ।’

एकदमै खुशीमा रुवाए
कलाकारिताको नशा लागेका अनुप उच्च शिक्षा सकेपछि एक्टिङ सिक्न भारत जाने निधो गरे । ममीले भने मान्नु भएको थिएन । उता विदेशमा दुःख हुन्छ होला, यतै बसोस्, केही गरोस् भन्ने ममीको मनासय थियो । तर उनले मानेन् । आफ्नो रहर पूरा गर्न अनुप दिल्ली गए ।

दिल्लीको एनएसडीमा एक्टिङ पढ्दै गर्दा एक पटक कन्भोकेसनमा अनुपले ममीलाई पनि बोलाए । कन्भोकेसनमा अनुपले गरेका राम्रो प्रोजेक्टहरुलाई स्क्रिन गरिएको थियो । प्रोजेक्ट देखाउँदै गर्दा हलमा अनुपसँगै बसेकी ममीको आँखामा आँशु झर्‍यो । त्यो खुशीको आँशु थियो । छोराले उत्कृष्ट काम गर्‍यो भन्ने लागेर हुनुपर्छ उहाँ निकै खुशी हुनु भएछ । त्योभन्दा पहिल कहिल्यै पनि ममी यति धेरै खुशी हुनुभएको थाहा थिएन अनुपलाई । कन्भोकेसनको प्रोजेक्ट देखेपछि भने ममीले निकै प्रशंसा गरेको याद गर्छन् अनुप ।

अनुपले ममीलाई दुखाएर नरुवाएकै भने होइनन् । फिल्म र जात्रा भनेपछि अनुपलाई अरु सबै कुरा फिक्का जस्तै लाग्थ्यो । सानो छँदा नै जात्रा हेर्न गएका बेला साथीसँग लुकामारी खेलिरहेका अनुपलाई गाडीले हानेर नालीमा फालिदिन्छ । उनलाई ममीले अँगालो हालेर रोएको क्षणबाहेक अरु याद छैन । ‘नाक, मुख र खुट्टामा पुरै चोट लागेको थियो’ उनले खुट्टाको दाग देखाउँदै भने, ‘मेरा लागि दुःखी भएर ममी रुनुभएको क्षण साहेद त्यही होला ।’ एनएसडीको त्यो क्षण आँशु झरे पनि निकै सुखद रहेको ठान्छन् अनुप ।

..अनि जिद्दीमा पनि
जिद्दी स्वभावका अनुपलले आफ्नो वैवाहिक जीवन पनि जिद्दीपूर्ण नै बनाए । दिल्लीको एनएसडीमा एक्टिङ सिक्दै गर्दा उनले सँगैकी एकजना क्लासमेटलाई मन पराए । बंगाली परिवेशकी ती केटीसँग अनुपको प्रेम सम्बन्ध निकै झाँगिएपछि उनी विवाह गर्ने मुडमा पुगे ।

घरमा पनि कुरा त राख्नु प¥यो । ममीसँग कोलकत्ता घुम्न जाँदा उनले त्यो मौका छोपे । ‘ममी म त्यो केटीसँग विवाह गर्छु,’ प्रस्ताव गरे । ममीलाई भने त्यो वैवाहिक जीवन सफल हुन्छ भन्नेमा शंका थियो ।

‘कुनै संस्कार र संस्कृति नै मिल्दैन ममीले शंका व्यक्त गर्नुभयो,’ अनुपले भने । नाइट गाडीमा फर्किंदै गर्दा निकैबेर सम्झाउनुभयो अनुपलाई । रातभरको त्यो यात्रामा ममी निकै रुनु पनि भयो । तर विवाह गर्ने मुड बनाइसकेका अनुपले ममीको आग्रहलाई मान्न सकेनन् ।

आफ्नै जिद्दी मनलाई मान्ने भए । तिनै प्रेमिकालाई अनुपले विवाह गरे । जीवन संगिनी बनाए । नभन्दै ममीको शंका सत्यमा परिणत भयो । अनुपको जीवनमा ती बंगाली प्रेमीका जीवन साथी बनेर धेरै समय रहन सकिनन् । ममीको मन थिएन तर अनुपले गरे नै । उनी सम्झिन्छन्, ‘आमा कति महान हुन्छन् । आफ्नो इच्छालाई मारेर मेरो जिद्दीलाई स्वीकार गर्नुभयो ।’

त्यो सम्बन्धको अन्त्यपछि पनि नेपाल फर्किसकेपछि उनले जीवनमा अर्को विवाहको निर्णय गरे । उनी ब्राह्मण परिवारका थिए । विवाह मास्के थरकी केटीसँग गर्ने निर्णय गरे । ‘तँ नै धेरै बुझ्ने भइसकिस,’ ममीले नकार्नु भएन । अनुपले विवाह गरे रङ्गमञ्चकै कलाकार दिया मास्केसँग । करिब सात आठ वर्ष लामो संगतपछि दियासँग विवाह गर्ने निर्णय गरेका उनलाई पछिल्लो विवाहका लागि भने ममीले नाइनास्ती गर्नुभएन । ममीले नै स्विकार्नुभएको यो सम्बन्ध भने अहिलेसम्म ठिकठाक चलिरहेको छ । ‘सायद ममीले स्वीकार गरेको भएर पनि होला, यो सम्बन्ध त राम्रै चलिरहेको छ,’ उनी हाँस्दै भन्छन् ।

उस्तै भाव उस्तै स्वभाव
करिब ४८ वर्ष उमेर भयो अनुप बरालको । तर पनि ममीका अगाडि उनी बच्चाजस्तै व्यवहार गर्छन् । घर गएको बेला सबैभन्दा पहिले ममीको पाउ ढोगेपछि उनलाई बुवाको आर्ट ग्यालरी घुम्नुपर्छ । करिब ७० वर्ष पुग्नुभएकी ममीले अझै उस्तै प्रेम भावले पुरानै स्वभावमा गरेको व्यवहार अनुपलाई कुनै नौलो लाग्दैन । भन्छन्, ‘आमाको माया हो, बदलिने त कुरै भएन ।’


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad