• Ad
  • Ad

Samadhan National Daily

  • Ad

जाति विशेषमा सीमित हुन्न धर्म संस्कृति

पाेखरा, १६ पौष:

हिमालको स्याब्रु होस् वा तराईको झिझिया, गुरुङको गरिमा वा मगरको महिमा । सबैमा सबैको अपनत्व छ र त नेपाल साझा छ ।

पुरै पोखरा ल्होछारमय भएको छ । अझै पनि केही समुदायमा यो हाम्रो परम्परा, संस्कृति र चाड होइन कि भन्ने कहीँ कतै मनमा छ भने त्यो आजै हटाउनुपर्छ ।

 

नेपाल धेरै थरि जातजाति र संस्कृतिको साझा फूलबारी हो । यहाँका हरेक जात जाति र क्षेत्रका आ–आफ्नै किसिमका विशिष्ट चाडपर्व र संस्कृति छन् । भनिन्छ – संस्कृति आवश्यकता, उपलब्धता, परिवेश र परिस्थितिले सिर्जना गर्छ र त्यसैमा आआफ्ना पहिचान र स्वरुप झल्कन्छ ।

यदि यसलाई स्वीकार गर्ने हो भने हामी जुन संस्कृति र चाड पर्व मनाइरहेका छौं, त्यो चाडपर्व र संस्कृति साझा हुनुपर्छ हो र हुनुपर्छ । यो कुनै जात र क्षेत्र विशेषको मात्र हुन सक्दैन, किनकि हामी एउटै मुलुकका हौं र सबैको साझापनमा सम्पूर्ण नेपालीत्व झल्कन्छ । यो तेरो, यो मेरो भन्ने सानो भावनाले केबल द्वैष मात्र बढाउँछ । द्वेष कलहको बीउ पनि हो । त्यसैले अब हामी सबैले हाम्रा भन्ने भावनाको विकास गर्नुपर्छ । हिमालको स्याब्रु होस् वा तराईको झिझिया, गुरुङको गरिमा वा मगरको महिमा । सबैमा सबैको अपनत्व छ र त नेपाल साझा छ । यसरी साझा हुन सक्योे भयो भने मात्रै संस्कृति बच्छ अनि हामी बाँच्छौं र हाम्रो पहिचान पनि बाँच्छ । संस्कृतिको पहिचानमा देशको मुहार खुल्छ ।

कुनै पनि देश कति संमृद्ध छ भन्ने कुरा त्यहाँको संस्कृतिले निर्धारण गर्छ । संस्कृतिको विविधताले त्यसको संमृद्धि झल्काउँछ । त्यसैले हामीले हाम्रो मुलुककमा भएका जे जति संस्कृति र चाड पर्वहरु छन् तिनीहरुको संरक्षण गर्नु पर्छ, संवद्र्धन गर्नु पर्छ अनि प्रवद्र्धन गर्नुपर्छ । तब मात्र त्यो संस्कृति र परम्परा जीवन्त रहन्छ । अनि देश पनि संमृद्ध बन्छ । संमृद्धि नै हाम्रो सर्वस्व हो ।

कुनै पनि चाड पर्व र संस्कृति कुनै जात विशेषको मात्र हुनै सक्दैन । अझ धर्म निरपेक्ष राष्ट्र घोषणा भइसकेपछि अब संस्कृतिमा पनि भेदभाव हुनुहुँदैन । एकले अर्काको संस्कृति र चाडपर्वलाई सम्मान गर्ने र सम्मानित हुने तरिकाले मनाउने परम्परा बसाल्यौँ भने मात्रै राष्ट्रिय सद्भाव कायम रहन्छ । यही हो राष्ट्रियताको बलियो जग ।

कसैले कसैलाई आरोप लगाउनु वा तेरो मेरो भन्ने छुद्र दोषारोपण गर्नुभन्दा एक समुदायको संस्कृति अर्कोले सद्भावपूर्ण तरिकाले अंगाले शताब्दीऔं देखि रहदैँ आएको यो देशको धार्मिक सद्भाव कायम रहन्छ । पछिल्लो समयमा राजनीतिक प्रभावका कारण सामाजिक सद्भाव खलबलिएजस्तो छ । त्यसलाई यथारुपमा कायम राख्नुपर्छ । पछिल्लो समयमा राजनीतिक प्रभावका कारण हामी बीचको सामाजिक सद्भाव खलबलिने हो कि भन्ने आशंका र त्रास फैलन थालेको छ ।

lochhar-pix

त्यसैले यो सद्भाव खलबलिने हो कि भन्न जुन आशंका र त्रास छ, त्यसलाई दुर गर्ने एउटै उपाय हो, साझा संस्कृति र चाडपर्व एकै थलोमा मनाएर सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाँध्ने । किनकि चाडपर्व र संस्कृति नै यस्तो चिज हो जसले भाँडिन लागेको सद्भावलाई एक सूत्रमा बाँध्न सक्छ र हामी सबै सबैका लागि साझा हुन सक्छौँ । यो देशलाई आज चाहिएको एकता पनि यही हो ।

पोखरा आफैमा सुन्दर नगरी हो । प्राकृतिक सुन्दरताले भरिएको पोखरालाई तालतलैया, संस्कृति, परम्परा, चाडपर्व र लोकलयले झनै सिंगारेको छ । यहाँको लोभलाग्दो पक्ष भनेकै सांस्कृतिक विविधता हो । पर्यटकहरु केवल यहाँका हिमाल र प्राकृतिक सुन्दरता मात्रै हेर्न आउँदैनन बरु उनीहरु त यहाँको रितिरिवाज, संस्कृति र चाडपर्व बुझ्न पनि आउने गर्छन् । यो थलो अलि मियाँ र झलकमान गन्धर्वजस्ता स्रष्टाको घर हो । ती बाहेक धेरै स्रष्टा र सर्जकको मुहान हो पोखरा ।

नेपालगञ्जका स्रष्टा प्रेमप्रकाश मल्लले गाएको ‘पोखरा त साँच्चिकै को पोखरा पो रैछ’ गीतलाई पोखरेली मात्र हैन, सबैले उत्तिकै मन पराएकै छन् । यही हो हृदय खिच्ने मेलो । यसबाहेक चाड र पर्व पनि उत्तिकै साझा छन् । यसको ज्वलन्त उदाहरण हो दसैंमा टीका लगाउने, तिहारमा भाइटीका लगाउने अनि असार पन्ध्रमा हिलो खेलेर रमाउने प्रचलन ।

यस्तै गुरुङको ल्होछार लगायतका सबै जातजातिको संस्कृति र चाडपर्वमा पर्यटकलाई सरिक गराउन सके कति राम्रो हुने थियो । त्यसको लागि सर्वप्रथम त हामी नेपालीले नै एकले अर्काको चाडपर्व मिलेर मनाउने बानीको विकास गर्नुपर्छ । एकले अर्काको संस्कृतिको सम्मान गर्नुपर्छ र सरकारले पनि दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा लैजानुपर्छ । अब देश राजनीतिको क्रुर चक्रबाट कलाको बाटोमा हिँड्नुपर्छ भन्ने मलाइ लाग्छ ।

त्यसरी नै अन्य चाडपर्व र संस्कृतिहरु साझा र चाडपर्वकै रुपमा मनाइनुपर्छ । जस्तै गुरुङ समुदायले मनाउँदै आएको सांस्कृतिक पर्व ल्होछार पनि अब सबै जातजातिको साझा चाड पर्वको रुपमा विकसित गर्नुपर्दछ । हामीले अर्काको संस्कृति र चाडपर्व ग्रहण गर्‍यौं भने मात्रै अरुले पनि हाम्रा संस्कृति र चाडपर्वको सम्मान गर्छन् । सफा हृदय नभइ माया उम्रन्न । त्यसैले आउनुस् आजैदेखि, तेरो, मेरो भन्नुभन्दा हाम्रा भन्ने भावनाको विकास गरौँ अनि सबै संस्कृति र चाडपर्वको सम्मान गर्दै रमाइलोसँग चाडपर्व मनाऔं । मेरो विशेष आग्रह छ ।

ल्हुँ वर्गको बिदाई र प्र वर्गको आगमनमा पुरै पोखरा ल्होछारमय भएको छ । अझै पनि केही समुदायमा यो हाम्रो परम्परा, संस्कृति र चाड होइन कि भन्ने कहीँ कतै मनमा छ भने त्यो आजै हटाउनुपर्छ । किनकि हामी नेपाली हौं अनि यहाँका हरेक जातजाति र समुदायले मनाउने चाडपर्व, संस्कृति र परम्परा साझा हुन् ।

यी संस्कृति, चाडपर्व र परम्परा जोगाउन सके मात्रै हाम्रो पहिचान रहन्छ । त्यसकारण पहिचान जोगाउन, देशलाई संमृद्धितर्फ लैजान र हामी नेपालीमा रहेको एकता कायम गर्न सबै चाडपर्व र संस्कृति मिलेर मनाऔं । तबमात्र हामी नेपाली हुनेछौं । त्यसले मात्र हामीलाई पहिचान दिनेछ र हामी समृद्ध बन्नेछौं । भूगोलको गरा र फाँट मात्र देश हैन ।

देश संस्कृति पनि हो, संस्कार पनि हो र सबै पहिचानको साझा थलो पनि हो । सम्झौं देशै रहेन भने कहाँ मनाउने चाडपर्व ? देशलाई माया गरौं, देशवासी बीच सद्भाव कायम गरौँ र मनमा नेपाली हुनुको गौरव राखेर चाडपर्व मनाऔं । यसैमा हाम्रो भलो छ, देशको हित छ र भोलिको पुस्तालाई संस्कृति सहितको देश हस्तान्तरण गर्न सक्छौं ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad