• Ad

Samadhan National Daily

  • Ad

आफ्नो अभिभावकीय शैलीको पहिचान गरौं

पाेखरा, २४ पौष:
upendra-adhikari

-आमाबाबु यस अर्थमा निश्चिन्त हुनु जरुरी छ कि, असल व्यवहार, पढ्नमा अब्बल तथा हामीले चाहेका जस्ता बालबालिका जन्मजात हुँदैनन् । बालबालिकाहरुसँग अभिभावककातर्फबाट गरिने व्यवहारले नै सम्पूर्ण कुराको मापन गर्दछ ।

-धेरैजसो बाहिरी मुलुकहरुले अभिभावकत्वलाई विशेष प्राथमिकतामा राखेको पाइन्छ भने नेपालमा अभिभावकत्वको शिक्षामा त्यति चासो दिएको भने पाइएको छैन ।

विभिन्न अनुसन्धानहरुले देखाएअनुसार अहिलेको समयमा आफ्ना बालबालिकासँग गरिने प्रत्येक व्यवहार जानेर, बुझेर गर्नुपर्ने हुन्छ । अभिभावकबाट गरिने व्यवहारले नै बालबालिकाको समग्र मानसिक, शैक्षिक तथा सामाजिक विकासमा प्रभावपार्दछ । बालबालिकाको समग्र विकासका लागि बालमैत्री घर तथा समाजको निर्माण हुनु अपरिहार्य रहेको छ । घर, विद्यालय तथा छरछिमेकबाट गरिने सांस्कृतिक मूल्यमान्यता, सन्तुलित तथा विश्वास प्रतिबिम्बित व्यवहारहरुले नै बालबालिकाको भविष्यको एक रुप–रेखा निर्धारण गर्दछ ।

कतिपय अवस्थामा गरिएका सामान्य जस्ता लाग्ने व्यवहारले पनि उनीहरुको कलिलो मष्तिस्क र बालअधिकारलाई समेत नकारात्मक प्रभाव पार्दछ । बालमैत्री र स्वस्थ्य समाज निर्माण गर्नका लागि कुशल अभिभावकत्वको जानकारी आवश्यक कुरा हो । त्यसैले सम्पूर्ण अभिभावकले आफ्नो अभिभावकत्व शैलीको पहिचान गर्नु अति जरुरी छ ।

अभिभावकत्वको शैली नमिल्दा बालबालिका स्कुल जान नमान्ने, असफलताको सामना गर्नुपर्ने, लागुपदार्थको दुव्र्यसनी, किशोरावस्थामा अपराध, बालदुव्र्यवहार, बाल्यकालमा रोगको सिकार हुनुपर्ने र साथै मानसिक रोगी समेत हुनसक्ने खतरा बालबालिकामा रहेको हुन्छ । धेरैजसो बाहिरी मुलुकहरुले अभिभावकत्वलाई विशेष प्राथमिकतामा राखेको पाइन्छ भने नेपालमा अभिभावकत्वको शिक्षामा त्यति चासो दिएको भने पाइएको छैन ।

अभिभावकत्वका तीनचरणहरुः
सबैभन्दा पहिले, बालबालिकालाई खतराबाट जोगाउने, जसमा भावनात्मक साथै शारीरिक स्वास्थ्यको हेरचाह समावेश भएको हुन्छ दोस्रो, नियन्त्रणगर्ने, सीमा तोक्ने र सुरक्षाको स्थापनागर्ने रहेको हुन्छ भने तेस्रोमा, बालबालिकाको क्षमता पहिचान गरी सोही अनुकूल अवसर प्रदान गर्ने । यि चरणहरुलाई बालअधिकार महासन्धी १९८९, नेपालको बालअधिकार ऐन २०४८ र बालअधिकार नियमावली २०५१ मा समेत समावेश गरिएको छ ।

बालबालिकाको समग्र विकासका लागि आवश्यक कुराहरुः
अभिभावकले छोराछोरीसँग गर्ने अन्तरक्रियाको तरिकाले उनीहरुको समग्र विकासमा प्रत्यक्ष प्रभाव पार्दछ । बालबालिकाको आत्मसम्मान, आत्मविश्वास, सुरक्षाको भावना, भावनात्मक सुस्वास्थ्य, अन्यसँग गरिने आफ्नो तुलना, अधिकारको सदुपयोग र पढाइमा देखिने क्षमता प्रदर्शनहरु सम्पूर्णमा अभिभावकले उनीहरुसँग गर्ने व्यवहारलाई देखाउँछ ।

guardianship

अभिभावकत्वका चार प्रकारका शैलीहरुः

१.सकारात्मक अभिभावकत्वः
पोषण, अनुशासन र बराबर मात्रामा आफ्ना छोराछोरीलाई सम्मान दिनु, उनीहरुलाई लगातार नियममा राखिराख्नु साथै स्वतन्त्र प्रोत्साहन गर्नु, उच्च स्तरमा राख्नु र उनीहरुबाट हामीले राखेका अपेक्षाहरुलाई खुलस्त कुराकानीको माध्यमबाट सुन्ने र सुनाउन सक्ने किसिमको अभिभावकत्वलाई सकारात्मक अभिभावकत्व भनिएको छ ।

सकारात्मक वा सन्तुलित व्यवहार भएका घरमा हुर्किएका बालबालिकाहरुमा राम्रो आत्मसम्मान र आत्मविश्वासको विकास भएको हुन्छ । चिन्ता तथा निराशालाई उनीहरुले जिति सकेका हुन्छन् । यस्ता बालबालिकाहरु समाजमा साथै शैक्षिक स्तरमा समेत राम्रो स्थानलिन सक्षम रहन्छन् । उनीहरु एक सम्मानित र जिम्मेवार व्यक्तिका रुपमा समाजमा चिनिन्छन् । यस प्रकारको व्यवहार गरिने घर–समाज, विद्यालयहरुलाई नै बालअधिकार संरक्षित तथा बालमैत्री अवलम्वन गरिएको ठाउँ भन्न सकिन्छ ।

२.दमनात्मक वा हठी अभिभावकत्वः
यस प्रकारको अभिभावकत्वमा एकातर्फ छोराछोरीलाई अनुशासनमा राख्न खोजिन्छ भने त्यहीं उनीहरुको भावनाको आदर गरिदैन । अर्कोतर्फ आज्ञाकारी बनाउन खोजिन्छ भने स्वतन्त्रताबाट निरुत्साहित गरिएको हुन्छ । यस्ता अभिभावकले, कडा नियम, रुखो बोली, शारीरिक बल प्रयोग गर्ने गर्छन् र बालबालिकाले प्रश्न गर्ने अधिकार वा समय दिदैनन् ।

यस प्रकारको शैलीमा हुर्किएका बालबालिका, स्वार्थी हुनुका साथै, आफूमै केन्द्रीत हुने गर्छन्, आफूलाई सर्वगुण सम्पन्न ठान्दछन्, म आफ्नो बाटो आफै बनाउन सक्छु किन कि मलाई सबै थाहा छ भन्ने भावनाबाट ग्रसित हुन्छन् । साथै यस शैलीको अभिभावकत्वमा हुर्केका बालबालीका आफ्नो बानी, जिम्मेवारी र सम्बन्धहरुमा सुधार ल्याउन चाहँदैनन् ।

३. अनुमोदक अभिभावकत्वः
यस शैलीमा छोराछोरीको पालनपोषणमा कुनै कमी हुँदैन तर प्रभावकारी अनुशासन संलग्न हँुदैन, आदर व्यहारको मोडल वा उनीहरुबाट गरिने आशाको बारेमा जानकारी हुँदैन । यस अन्तर्गत पर्ने अभिभावकले प्रेम देखाउन र उनीहरु प्रति ध्यान दिनकुनै कमी राखेका हुँदैनन् तर पारिवारिक सीमा तोक्न वा नियम र संरचना तयार गर्न नसक्ने हुन्छन् ।
यस शैलीमा हुर्किएका बालबालिकाहरुमा पछि गएर हीनताबोध, आत्मविश्वासको कमी, चिन्तित र निराश हुन्छन् र अन्तक्र्रिया गर्न नसक्ने हुन्छन् । यस्ता बालबालिकाको शैक्षिक उपलब्धि समेत सामान्यतया औसत रहनुका साथै पछि गएर व्यवहारिक समस्यामा समेत पर्दछन् ।

४. असंलग्न अभिभावकत्वः
यस अन्तर्गतका अभिभावकले अनुशासन, पोषण, बालबालिकाका कुरा सुन्ने वा आफ्ना कुरा भन्ने, उनीहरुलाई आदर सम्मान दिने हुँदैन । उनीहरुले बालबालिकासँग न्युनतम कुराकानी गर्छन्, सामान्यतया संलग्नता देखाउँदैनन् र हुर्काउने विषयमा समेत उदासीन देखिन्छन् ।

अनुमोदक जस्तै खालको तर अझै ठूलो समस्या असंलग्न पारिवारिक वातावरणमा हुर्किएका बालबालीकाहरुमा देखापर्छ तर यि बालबालिकाहरुले स्कुलमा खराब प्रदर्शन गर्दछन् । यस्ता बालबालिकाहरुमा आदर सम्मान, जिम्मेवारी र व्यवहारको कमी ठूलो समस्याको रुपमा विकसित हुन्छ ।

आमाबाबु निश्चिन्त हुनु जरुरी,
आमाबाबु यस अर्थमा निश्चिन्त हुनु जरुरी छ कि, असल व्यवहार, पढ्नमा अब्बल तथा हामीले चाहेका जस्ता बालबालिका जन्मजात हुँदैनन् । बालबालिकाहरुसँग अभिभावककातर्फबाट गरिने व्यवहारले नै सम्पूर्ण कुराको मापन गर्दछ । तल उल्लेखित तीन पारिवारिक व्यवस्थापनका तरिकाहरुको कारणले बालबालिकाहरुको अभिभावकसँग नजिक ल्याउँछ । तसर्थ कमसेकम निम्नतीन कुराहरुमा मात्र ध्यान पुराउन सकेको खण्डमा हाम्रा बालबालिका हामीले चाहेको स्थानमा पुग्न सक्छन् ।
-स्पष्ट अपेक्षा राख्न वा बुझाउन सक्नु पर्दछ ।
-आफ्ना बालबालिकाको उचित निगरानी गर्नुपर्दछ ।
-गम्भीर वा असंगत सजाय दिनुहुँदैन ।
बालबालिकालाई हुर्काउन, बढाउनका लागि हामीबाट समय परिस्थितीले गर्दा चारै किसिमका अभिभावकत्वको शैलीको प्रयोग गरिएको हुन्छ । तर यदि सोही व्यवहारका बारेमा जानेर गरियो भने कम्तीमा पनि भविष्यमा गएर बालबालिकाको मष्तिस्कमा पर्ने नकारात्मक असरका बारेमा चनाखो भएर समयमै सावधानी अपनाउन सकिन्छ ।

upendraadhikari@gmail.com


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad