• Ad

Samadhan National Daily

  • Ad

एकसाथ गुञ्जिए गोधुलीमा १५ कवि

पाेखरा, २३ पौष:
kabita

कविताले के गर्छ ? कविता के हो ? यो कसका लागि लेख्ने ? कविता लेख्नेलाई आउने प्रश्न यी पनि हुन् । कवि तुलसी दिवसले पोखरामा यसको उत्तर दिए । ‘कविता स्याउ, सुन्तला जस्तो हो र ओखरजस्तो पनि हो,’ दिवसले भने, ‘यो स्याउ, सुन्तलाजस्तो सजिलै खान पनि सकिन्छ, हाडे ओखरजस्तो ढुंगाले फोरेर स्वाद लिनुपर्ने पनि हुन्छ ।’

पोखरेली युवा साँस्कृतिक परिवारले शनिबार गरेको गोधुलीमा कविता कार्यक्रममा कवि दिवसले कवितामाथि लामै जवाफ दिए ।

‘कविता अर्कालाई खुसी पार्न लेखिँदैन,’ दिवसले अघि बढे, ‘कविता आफ्नै खुसी र वैयक्तिक विचार हो । प्रकाशित भए पछि अर्कासँग पनि मिल्न सक्छ ।’ कवितामा आयुको अर्थ देख्दैनन् दिवस । जुनसुकै उमेरको होस् कवि भनेर स्वीकार गरेपछि सबै समान हुने उनको ठम्याई छ ।

‘कविता समयको पछाडि हिँड्दैन्, कविताले समयलाई पछाडी लगाएर हिँड्छ,’ कवि तुलसी दिवसले भने, ‘म आयुमाभन्दा सिर्जनशीलतामा विश्वास गर्छु । त्यसैले कविता सधैँ ताजा हुनुपर्छ ।’ कविताका विषयमा बढी कविले नै बोल्नुपर्ने उनको भनाइ थियो । ‘आफ्नो कविताको बढी जानकार आफैं हो, समालोचक होइन,’ दिवसले भने, ‘हामी समालोकले भनेको धारणालाई आफ्नो मानेर बस्छौं ।’

गोधुलीमा कविता कार्यक्रमको अन्तिममा कविता वाचनसहित वक्ता बने मञ्चमा उभिएका दिवसले जतिबोले कविताकै पक्षमा वकालत गरे । अशेष मल्लबाट सुरु भएको कविता वाचनको शृंखला दिवसमै पुगेर टुंगिएको थियो । दिवसको बाघचाल कवितासँगै सञ्चालकले कार्यक्रमको समापन भएको घोषणा गरे ।

‘गोधुलीमा कविता’ नाम दिएर तीसको दसकभन्दा अघिनै नेपाली कवितामा छाप छाड्ने र ३० कै दसकको आसपासमा कविता लेख्न थालेका १५ कविलाई परिवारले मञ्चमा उभ्याएको थियो । अधिकांश कविले २ वटा कविता सुनाए भने केही कविताले मुक्तकको झटारोसमेत फाले ।

कवि अशेष मल्लले अहिलेको काठमाडौं सम्झिएर कार्यक्रको मेलो सुरु गरेर ‘बुधनको पसिनाको गन्ध’ सुनाए । इन्द्रकुमार विकल्पले उत्साहले गगन चुम्न खोजे । उषा शेरचनले केही मुक्तक र एक कविता सुनाएर किशोर पाहाडीलाई पालो दिइन् । तीर्थ श्रेष्ठले ‘लय’ शीर्षकको कविता वाचन गरी कार्यक्रमको लय मिलाउँदै ‘धर्मग्रन्थ’ वाचन गरे ।

प्रकट पगेनी ‘शिव’ले भोक कविता सुनाउँदै माहौल भावुक बन्यो । विजय बजिमयले ह्विल चियरबाट कविता सुनाएपछि मञ्चमा उक्लेका उपकुलपति विष्णुविभू घिमिरेले ‘हराएको छ’ शीर्षकको कविता वाचन गर्दा धेरैको अल्छिपन हरायो । कवि मञ्जुलले आमालाई आमालाई सम्झँदै आमा–३ र ताल शीर्षकको कविता सुनाएपछि राजेन्द्र शलभ मञ्चमा उक्लेर छोरी र पढेर के हुन्छ सुनाउँदा कविताको माहौल अरु जम्यो ।

लक्ष्मी मालीले ‘छोरी तिम्रो नाम के हो’ कविताले धेरैको ध्यान खिच्यो । त्यसलगत्तै विश्वविमोहन श्रेष्ठ र स्नेश सायमीले कविता पाठ गरेका थिए ।

उमेरले ५० नाघेका र नेपाली साहितयलाई जनतासम्म पुुर्‍याउन सहयोग गरेका केही कविलाई परिवारले मञ्चमा उभ्याएको अध्यक्ष दीपक समीपले बताए । ‘तीसको दशकअघि नै स्थापित र त्यसपछिका हालसम्म नेपाली कविता क्षेत्रमा आफ्नो कलम चलाइरहनुभएका थुप्रै कविमध्येबाट केही कविलाई मञ्चमा उभ्याएका हौं,’ परिवारका अध्यक्ष दीपक समीपले भने ।

कार्यक्रमको सञ्चालन सचिव अर्जुन अधिकारीले गरेका थिए । विभिन्न गतिविधि गर्दै आएको परिवारको यो कार्यक्रमले साहित्यको क्रियाशीलतामा अर्थपूर्ण हुने सचिव अर्जुन अधिकारीले बताए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad