• Ad

Samadhan National Daily

  • Ad

प्रदेश ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउन ३ कम्पनीको प्रस्ताव

पाेखरा, २७ पौष:
optical-fiber-660x330

प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउन ३ वटा कम्पनी इच्छुक देखिएका छन् ।

ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी गोर्खाको आरुघाटदेखि रुकुमको बुर्तिवाङसम्म अप्टिकल फाइबर बिछ्याउन एनसेल, युटिएल र वल्र्डलिंक इच्छुक देखिएका हुन् । कोषको रकम परिचालन गरी मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउन दूरसञ्चार प्राधिकरणले १३ असोजमा दूरसञ्चार कम्पनीबाट आशय माग गरेको थियो ।

आशय बुझाइसक्नुपर्ने अन्तिम मिति २६ पुससम्म तीनवटा कम्पनीले प्रस्ताव बुझाएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्यालले बताए । पहिलो फेजअन्तर्गत टेलिकमले ताप्लेजुङको चिवाभञ्ज्याङदेखि काभ्रेको पाँचखालसम्म अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाइसकेको छ ।

‘दोस्रो फेजअन्तर्गत गोरखाको आरुघाटदेखि रुकुमको बुर्तिवाङसम्म अप्टिकल फाइबर बिछ्याउने योजना छ,’ उनले भने, ‘अब इच्छुकमध्येबाट एक योग्य कम्पनीले यसको जिम्मा पाउनेछ ।’

२ अर्ब १ करोडदेखि २ अर्ब ७१ करोडसम्मको प्रस्ताव मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको दोस्रो फेजअन्तर्गत गोर्खाको आरुघाटदेखि रुकुमको बुर्तिवाङसम्म अप्टिकल फाइबर बिछ्याउन सबैभन्दा बढी २ अर्ब ७१ करोड रुपैयाँसम्मको प्रस्ताव परेको छ । एनसेलले सो प्रस्ताव गरेको प्राधिकरण उच्च स्रोतले जानकारी दियो ।

त्यस्तै, वल्र्डलिंकले २ अर्ब ५० करोड र युटिएलले २ अर्ब १ करोड रुपैयाँ लागतमा अप्टिकल फाइबर बिछ्याउने प्रस्ताव गरेका छन् ।

प्राधिकरणले प्राविधिक रूपमा योग्य र कम रकम प्रस्ताव गर्नेलाई छनोट गर्नेछ । ‘प्रस्ताव बढी वा कम गरेर मात्रै हुँदैन,’ स्रोतले भन्यो, ‘प्राविधिक रूपमा जो योग्य छ उसैले जिम्मा पाउनेछ ।’ यसअघि नेपाल टेलिकमले ग्रामीण दूरसञ्चार विकास कोषको पौने ५ अर्ब रुपैयाँ खर्चिएर मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाइसकेको छ ।

कहाँ–कहाँ जोडिन्छ ? फेज २ अन्तर्गत प्रदेश ४ र ५ लाई समेट्ने गरी मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याइनेछ । यी प्रदेशका कुल २१ जिल्लाका सदरमुकाम र नगरपालिकासम्म अप्टिकल फाइबर बिछ्याइनेछ ।

त्यस्तै, मध्यपहाडी लोकमार्गलाई मुख्य आधार मानेर बिछ्याइने अप्टिकल फाइबरलाई पूर्वपश्चिम राजमार्गमा समेत जोड्नुपर्नेछ । २ वर्षसम्म सम्पन्न गर्ने लक्ष्य अब प्रस्ताव गर्ने कम्पनीको मूल्यांकन एक महिनाभित्रै योग्य कम्पनी छनोट गरिने प्रवक्ता अर्यालले बताए ।

योग्य कम्पनीले सम्झौता गरेको २ वर्षभित्र तोकिएको क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउनेछ । तेस्रो चरणको ठेक्का यसै साता तेस्रो फेजअन्तर्गत प्रदेश ६ र ७ लाई समेट्ने गरी अप्टिकल फाइबर बिछ्याउन यसै साता टेन्डर गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ ।

दूरसञ्चार ऐन २०५३ को व्यवस्थाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले २०५५ सालदेखि उक्त कोष सञ्चालनमा ल्याएको हो । प्रत्येक वर्ष कम्पनीले आफ्नो आम्दानीको २ प्रतिशत रकम बुझाउ“दै आएका छन् । हालसम्म कोषमा करिब १२ अर्ब रुपैयाँ संकलन भइसकेको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad