• Ad

Samadhan National Daily

  • Ad

…मनमा पीर त पर्ने नै भयो, याे मन त्यसै मर्ने नै भयाे

पाेखरा, २३ पौष:

– विश्वमोहन गौचन
नदी उकालो बग्दैन । समय टक्क अडिएर पर्खेको थाहा छैन । मान्छे जन्मेपछि मर्नैपर्छ, कोही बाँचिरहेको सुनेको, देखेको छैन ।

यी अकाट्य छन् । तर, जान्दाजान्दै पनि कहिलेकाहीँ मनले जिद्दी गर्छ । ऊ मर्न हुन्थेन तर्क गर्छ मनले । अकाट्य हुन् जनेरै पनि रमाइलो लाग्दैन ।

हुन त त्यो दिन पनि भएको अकाट्य शृंखला नै हो । तर, त्यस्तो लागेन । मनमा बादल लाग्यो । आँखामा झरी पर्‍यो । शरीर थिल्थिलियो । भुइँमै थचक्क बसें ।

तर, बसेँ झै लागेन, फनफन्ती घुमेझैँ लाग्यो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भाइलाई बचाउन सकेन । २०७० पुस २० गते भाइले अन्तिमपटक सार फेर्दा हामीलाई उडाएर कहाँकहाँ पुर्‍याएजस्तो लाग्यो । आखिर जहाँ उडे पनि यथार्थको धरातलमा थेचारिनुको विकल्प थिएन । थेचारियौं । सत्यलाई स्विकार्नुको अर्को उपाय पो कहाँ छ र ?

आज ठिक दुई वर्षपछि मेरो हाल उस्तै बन्यो । मनले भनेँ उमेरले दाई त म हुँ नि ! तर कालले भाइ बनाइदियो । फेरि एकपटक मृत्युसँग उजुरी गरेँ, ‘तलाईँ यसरी अकालमै खोसेर लैजान बर्जित थियो ।’ मलाई थाहा थ्यो उजुरी मेरो पक्षमा फैसला हुँदैन ।

फैसला त उसैले गरिसकेको थ्यो । खैर उसका नाममा केही बाचाहरु मनलाई थमौती गराएँ । म उसको सिर्जनाको फ्यान हुँ । आफ्नै भाइ भएरमात्रै होइन, साँच्चिकै मन पर्छन् । उसले लेख्यो ‘पोखरामा फूल फुल्दैन’ तर फुल्नुपर्छ भनिरह्यो । उसले लेख्यो ‘ढुंगेसाँघुको मेलामा’ तर त्यो साल मेला आउन केही दिनअघि नै उसको प्राण पखेरु उड्यो ।

तर, मैले बाचा गरेको छु, ढुंगे साँघुमा मेला लागिरहनेछ, पोखरामा फूल फूलिरहनेछन् । ‘ढुंगेसाँघुको मेलामा’ र तिमीले फूल फुल्नुपर्छ भनेर लेखेको ‘पोखरामा फूल फुल्दैन’ सबैका हातहातमा पुर्‍याउन लागि पर्नेछु । विनोद तिमिले काजगका टुक्रामा लेखेर छाडेका केही तिम्रा फुटकर कवितासहित यी दुई पुस्तक फेरि प्रकाशित गरेर तिम्रो परिचयलाई बचाइराख्न पाउँ भन्ने कामना गरेको छु ।

dsc_4836

सन्दर्भः विनोद स्मृति दिवस
जन्मः २०१२ माघ १० गते
निधनः २०७० पुस २० गते

जब तिमीले लेख्यौ अन्तिम कविता र जीवन यात्राको बिन्दु पनि अन्तिम नै बनाइदियौ । म पटकपटक पढ्छु त्यो कविता र तिमीलाई सम्झिरहन्छु ।

मेरो कविताले कसैको दुःख बुझ्दैन भने
मेरो कविताले कसैको आँसु पुछ्दैन भने
व्यर्थै म किन कविता लेखूँ ?
म आफूमात्र अघाएर किन भोकाको कविता लेखूँ ?
आफूमात्र लगाएर
किन नांगाका कविता लेखूँ ?
जेजति कविता लेखेँ, लाग्छ, अन्जानमै लेखेँ
जे जस्ता कविता लेखेँ, लाग्छ अज्ञानमै लेखेँ
अब उप्रान्त
म कविता लेख्दिनँ, यही नै हुनेछ मेरो अन्तिम कविता

उसलाई अब कविता लेख्दिन भन्ने थाहा रहेछ । उसलाई म अब बाँच्दिन भन्ने पनि पक्कै थाहा थियो । तर, कहिल्यै थाहा दिएन । उ जति बाँच्यो अन्तरमूखी भएरै बाँच्यो । अरुलाई केही नभनेरै, दुख नदिएरै बाँच्यो । उसले अन्तिम सास फेर्नुभन्दा केही सालअघि ऊ काठमाडौं जान्थ्यो–आउँथ्यो ।

उसको स्वास्थ्य ठिक छैन हामीलाई थाहा थियो । तर, कहिल्यै नभन्ने । पटकपटक भन्यौं, ‘विनोद स्वास्थ्यको ख्याल गर ।’ तर, उसले जहिल्यै ह्या मलाई केही भएको छैन भनेरै टार्न खोज्यो । हामीले दिल्ली पठाउन खोज्यौं, उसले मानेन । छोरो सौगात गौचन बेलायतमा दुर्घटनामा परेर बितेपछि ऊ अझ बढी बिछिप्त थियो ।

ऊ दुब्लाउँदै गयो । कर गरेरै काठमाडौं नर्भिक अस्पतालमा उपार गरायौं । केही ठिक भएर फक्र्यो । उसले काठमाडौं छोड्यो तर उसलाई रोगले भने छाडेको रहेनछ । निमोनिया र फोक्सोको समस्याले गलाइरहेको रहेछ । अन्तिम अवस्थामा गण्डकी अस्पतालमा उपचार हुँदै थियो । उसको त्यही प्राणपखेरु उड्यो । उ जन्मदा नाचेको परिवार, शोकमा डुब्यो ।

ऊ घरको कान्छो । बुबाआमाको कान्छो खुसी । ऊ जन्मँदा म १५ बर्से किशोर थिएँ । पारिवारिक माहौल मज्जाको थियो । हामीलाई खासै केही कुराको समस्या थिएन । तर, घरमा हामीलेभन्दा बढी उसैले पाउँथ्यो । हुर्कँदै गयो । उसको बानी चकचके थिएन र कहिल्यै चकचके बनेन । सानैदेखि एकान्त मन पराउने बानी । पढ्नमा तगडा निस्क्यो । तर, कसैसँग धेरै कुरा नगर्ने । पछि म पढ्न काठमाडौं गएँ । उससँग खासै बढी घुलमिल हुन पाइनँ ।

३५ सालतिर मैले थाहा पाएको हुँ उसले कविता कोर्छ, गीत लेख्छ भन्ने कुरा । उसले घरमा खासै अरुसँग यस विषयमा कुरा गर्थेन । जब उसले लेखेको ‘जतिमाया लाए पनि जति कसम खाए पनि’ गीत हिट बन्यो । सबै जना चकित भयौं । ऊ अरुण थापासँग मिल्थ्यो पनि ।

३५ सालतिरै पोखरेली युवा सांस्कृतिक परिवारमा पनि उसको सक्रियता रह्यो । पढाइ पनि राम्रै गर्‍यो । जागिर पनि राम्रै खायो । २०३९ सालमा एकेडेमीको कविता प्रतियोगिताको पुरस्कार जितेको थियो । अर्को पटक पनि सोही पुरस्कार हात पार्‍यो । अर्थशास्त्रमा एमए गर्‍यो । नगर प्रशिक्षण केन्द्रको अधिकृत बन्यो । विवाहका हिसाबले भने उसले तेस्रो विवाह गर्‍यो । आफ्नै समस्या हुनसक्छन् । बाध्यता पनि हुन सक्छन् ।

जतिबेला शोले फिल्म हिट थियो । उनीहरु त्यही फिल्मको गब्बरसिंहको जस्तो जिन्दगी जिउने हो भन्थे । रातै बिताउने गरी घुम्न गएर रमाउने जिन्दगीलाई उनीहरुले गब्बर जिन्दगी भन्दा रहेछन् । कहिले चन्द्रकोट त कहिले सराङकोट, कहिले घम्पुस त कहिले पञ्चासे घुमिरहन्थे उनीहरु ।

घुम्न जाँदा सोच्ने रहेछ र घर फर्केपछि ढोका थुनेर लेख्न बस्थ्यो । उसका रचनामा तिनै ठाउँ आउँथे, जहाँ उ पुगेको छ । उसको सिर्जनामा माछापुच्छ्रेको रङ पोतिएको छ । धम्पुसको सुगन्ध छ । पञ्चासेको मायालुले रुमालले बाटो छेकेको सम्झना छ । चन्द्रकोटकी नानी उसका गीतमा उभिएकी छन् । ढुंगेसाँघुको मेलाको रमाइलो छ ।

ऊ झोलामा कापी कलम बोकेर हिँड्थ्यो । उसलाई सामूहिक घुममिलभन्दा एकान्त मन पर्ने । घरमा कतिसम्म गर्ने भने बिजुली निभाएर टुकीमा बसेर लेख्नुपर्ने, बिजुली निभाएर मैनबत्ती बालेर लेख्थ्यो । हामी अचम्म पथ्र्यौं । पछिले आफैं मालेपाटनमा घर बनायो पछि शिवालयचोकमा ।

पोखरामा फूल फुल्दैन किताब निकालेपछि मैले एक पटक अचम्म मानेर सोधेँ, ‘तिमीले किन पोखरामा फूल फुल्दैन’ भनेको । उसले भन्यो, ‘यहाँयति सम्भावना छ कि, अथाह फुल्नुपर्ने फूलहरु फुलेकै छैनन्, कतिले वातावरण नै पाएका छैनन् । त्यसैले फूल फुल्दैन भनेको हुँ ।’

उसका खासै सपना थिएन । कविता गाउँको सपना देख्यो । कविता गाउँ घोषणा पनि भयो । तर, उसको सपनाले पूर्णता पाएको छैन । कविता गाउँ लुम्लेका घरघर र होटल–होटलमा अंग्रेजी र नेपालीमा कविता टाँस्ने । त्यो पूरा हुन सकेको छैन । त्यसलाई पूरा गर्न पाए हुन्थ्यो लागिरहन्छ । विनोद गौचन स्मृति प्रतिष्ठान गठन त गर्‍यौं तर खासै काम गर्न सकेका छैनौं ।

भव्य रुपमा कविता गाउँ घोषणा गर्‍यौं तर सबैलाई अपनत्व फिल भने किन हुनसकिरहेको छैन, म सोचमग्न हुन्छु । उसका कविताबाट प्रभावित हुने थुप्रै छन् । मनाङकी एकजना माया गुरुङ नाम गरेकी उनकी फ्यानले त गीतै लेख्न पठाएकी थिइन् र उनले लेखेका थिए । यो गीतको अहिले भिडियो बनेको छ ।

अन्नपूर्ण हिमालमुनि गंगापूर्ण ताल
थोरङ्लामा हिउँ पर्‍यो, मस्र्याङ्दीमा जाल

उसको चन्द्रकोटकी नानी कन्दराले गाएको छ । अरुण थापाले जतिबेला लाए पनि गाएर हिए भए दुबै । तगारोमा रुमाल राखीले कन्दरालाई नै चिनायो । कस्तो ठाउँमा फुल्यौ तिमी दिलु गुरुङले गाए । यी चर्चित बने तर उनका अरु पनि थुप्रै गीत रेकर्ड भएका छन् ।

उसँग कहिल्यै नराम्रो भएन । दाजुभाइकाबीच कहिल्यै नमिठो बोलिएन । विनोदजस्तो भाइ पाउँदा म गौरवान्वित छु तर उभन्दा पहिले नै गयो । लागिरहन्छ, उ यत्ति छिट्टै बित्नुहुन्थेन । जे हुन्थेन भन्यो, त्यही भइदिछ पनि तिम्रै गीतले भनेजस्तै आखिर मनमा पीर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad