• Ad

Samadhan National Daily

  • Ad

मेट्राेसिटीसँगै पाेखरामा अाकासे सडककाे याेजना, पहिलाे चरणमा ४० लाख छुट्याइदै

पूर्वाधार विकासका १५ योजना

पाेखरा, २२ पौष:

पोखरालाई व्यवस्थित र ट्राफिक जाम घटाउन फ्लाई ओभरको योजना अगाडि सारिँदैछ । साँघुरा र पुरानै संरचनाका सडकले यातायात व्यवस्थान चुनौती बन्दै गएपछि पोखरा उपमहानगरपालिकाले फ्लाई ओभरको योजना ल्याउन लागेको हो ।

यसै महिनाको अन्त्यतिर हुने पोखरा नगर परिषदबाट अमरसिंहचोकदेखि सिर्जनाचोकसम्म फ्लाई ओभर निर्माणको सम्भाव्यता अध्ययन गर्न झन्डै ४० लाख रुपैयाँ बजेट छुट्याउने तयारी भइरहेको योजना महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले जानकारी दिए ।

‘अहिलेसम्मको विभिन्न छलफलबाट पोखरामा फ्लाई ओभर निर्माण गर्न परिषदमा प्रस्ताव गरी पास गर्ने तयारीमा नगरपालिका छ,’ काफ्लेले समाधानसँग भने, ‘यसले पोखराको विकास र ट्राफिक व्यवस्थापनमा ठूलो अर्थ राख्नेछ ।’

वडास्तरीय हुँदै कास्कीका सांसदसम्मको छलफलले फ्लाई ओभर निर्माणमा जोड दिएको छ । फ्लाई ओभर निर्माणको योजनालाई पूर्वाधार तथा संरचना विकास समितिले पास गरिसकेको छ भने बोर्ड बैठकले पारित गरेपछि सम्भाव्यता अध्ययनका लागि परिषदबाट कजेट विनियोजन हुनेछ ।

पहिलो चरणमा विज्ञ टोलीले यसको सम्भाव्यता अध्ययन गरी कस्तो, कसरी र कतिसम्मको बनाउन सकिन्छ भन्ने प्रतिवेदन पेस गर्ने र दोस्रो चरणमा फ्लाई ओभर निर्माणको प्रक्रिया सुरु हुने कार्यकारी अधिकृत नवराज ढुंगानाले जानकारी दिए । पोखराका लागि यो पहिलो र नौलो योजना हो ।

पोखरा नगर परिषद्का लागि प्रस्ताव गरिएका अन्य योजना खासै नौला छैनन् । पहिलेका जस्तै योजना यो नगर परिषद्बाट पारित हुने देखिएको छ । नगरस्तरीय योजना, सडक निर्माण तथा मर्मत, वैकल्पिक ऊर्जा, सोलार, सिसिटिभी, ट्राफिक व्यवस्थापन, फेवाताल संरक्षण, हाम्रो पोखरा राम्रो पोखरा, साझेदारी कार्यक्रम, ट्राफिक लाइट व्यवस्थापन लगायत वर्षैपिच्छेका योजनाले यो वर्ष पनि निरन्तरता पाउनेछन् ।

metro-pokhara

पूर्वाधार तथा संरचना विकास समितिले आर्थिक वर्ष २०७४-७५ का लागि पूर्वाधार विकासतर्फ ५४ करोड २० लाख रुपैयाँ विनियोजन गर्न प्रस्ताव गरेको छ । महानगरपालिकामा थप भएका वडामा ८० लाख र साविकमा वडामा ७० लाखका दरले नगरस्तरीय कार्यक्रम सञ्चालन गर्नेछ ।

जनसहभागितामा साविकका वडामा ६०-४० र थपिएका वडामा ८०-२० को योजना आउँदैछ । वडा नम्बर १ देखि १८ सम्मका नगरस्तरीय योजनाका लागि सबैभन्दा बढी १२ करोड साठी लाख बजेट प्रस्ताव गरिएको छ भने थपिएका ११ वडाका नगरस्तरीय योजनाका ८ करोड ८० लाख रुपैयाँ विनियोजन गर्ने पूर्वाधार तथा संरचना विकास समितिले निर्णय गरेको छ ।

पूर्वाधार विकासका १५ योजना
क्र.सं. योजना विनियोजित रकम (रुपैयाँ)
१ साविकका वडाका नगरस्तरीय योजना (१–१८) १२ करोड ६० लाख
२ थपिएका ११ वडाका नगरस्तरीय योजना ८ करोड ८० लाख
३ वैकल्पिक ऊर्जा प्रवद्र्धन तथा सौर्य बत्ती व्यवस्थापन तथा क्यामरा व्यवस्थापन ४ करोड ५० लाख
४ वडास्तरीय योजनाहरु ३ करोड ४६ लाख
५ जगेडा कोष तर्फका योजना ५ करोड
६ सडक मर्मत संभार २ करोड
७ आकस्मिक पूर्वाधार निर्माण २ करोड
८ दैवीप्रकोप व्यवस्थापन १ करोड
९ क्रमागत योजना तथा वडाका भवन निर्माण, संभार २ करोड ७० लाख
१० सडक बोर्ड तर्फका योजना २ करोड
११ पोखरा–लेखनाथ साझेदारी लागत साझेदारी १ करोड
१२ विभिन्न योजना, सडक बोर्ड, अन्य म्याचिङ फन्ड १ करोढ ८० लाख
१३ अमरसिंहचोकदेखि सिर्जनाचोकसम्मको फ्लाई ओभर निर्माण सम्भाव्यता अध्ययन ४० लाख
१४ सिर्जनाचोक, पृथ्वीचोक, सभागृहचोक, महेन्द्रपुलमा ट्राफिक लाइट व्यवस्थापन ५० लाख
१५ कार्यालय प्रयोजनका लागि गाडी खरिद ५० लाख


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad