• Ad

Samadhan National Daily

  • Ad

यसरी जन्मिएकाे थियाे सुमधुर गीत ‘तगारोमा रुमाल राखी’

पाेखरा, २३ पौष:

कन्दरा ब्यान्ड चौथो एल्बमको तयारीमा थियो । गीतकार विनोद गौचनसँग पहिल्यैदेखि गीत मागिरहेका थिएँ । उहाँको गीतका शब्दमा म पहिल्यैदेखि लोभिएको थिएँ ।

उहाँको गीतमा माटोको सुगन्ध मिल्छ । सरल शब्दमा गीतलाई सुवास भर्न सक्ने क्षमता अरु कमै गीतकारमा देखेको थिएँ । मैले यसअघि पनि उहाँसँग काम गरेको थिएँ । त्यसैले पनि नजिकैबाट खुबी देखेका कारण गीत दिन आग्रह गरेको थिएँ ।

थोरै लेख्ने तर उत्कृष्ट लेख्ने हाम्रो लागि अर्थात लोकपपलाई आत्मसाथ गर्दै पाइला बढाइरहेको ब्यान्डलाई चाहिने गीत दिनसक्ने विनोद गौचन हुन् हाम्रो ठम्याइ थियो ।

एक दिन फोनको घन्टी बज्यो । उठाएँ । दाइले तिमीहरुका लागि गीत लेखेको छु हेर्न आऊ भन्नुभयो । म गएँ । साथमा अरु एक पनि कोही थियो ।

sunil-thapa

सुनिल थापा

ठ्याक्कै बिर्सें । गीत हेरेँ । मन पर्‍यो र खुसी पनि लाग्यो । दाइलाई भनें, ‘दाइ भनेजस्तै, खोजेजस्तै भयो ।’ फर्केर कम्पोज गरें । विवेकसँग सल्लाह भयो ।

विवेकलाई पनि मन पर्‍यो । यो गीत एकै पटकको कम्पोज हो । पटकपटक कम्पोज गर्नु परेन । पोखरा डिजिटलमा रेकर्ड हुँदै गर्दा मैले दाइलाई फोन गरें । भने, ‘दाइ गीत रेकडिङ हुँदैछ सुन्न आउनुस् ।’ उहाँ खुसी भएर आउनु भयो ।

गीत सुनेपछि उहाँले एउटै वाक्य भन्नु भो, ‘भाइ गीतले निकास पाएको छ ।’ उहाँ थोरै बोल्ने । मधुरो बोल्ने तर पुग्ने गरी बोल्नुहुन्थ्यो । उहाँ घुम्न मन पराउने । त्यही ठाउँको शब्द गीतमा मिठोसँग उतार्ने उहाँको खुबी थियो । उहाँ पञ्चासेबाट फर्केपछि यो गीत लेख्नुभएको रहेछ ।

कन्दराको चौथो एल्बम ‘वषौंपछि’ बजारमा आयो । विवेकले गज्जबले गाएको छ । गीत चल्योमात्रै होइन हिट नै बन्यो । यो गीतपछि उहाँसँगको सम्बन्ध अरु प्रगाड भयो । पाँचौ एल्बममा पनि उहाँले नै लेखेको ‘चन्द्रकोटकी नानी’ समावेश गरेका छौं ।

तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले
त्यही रुमालमा पञ्चासेको फूल राखे मैले

भीर थियो पाखा थियो गीतको मिठो भाका थियो
लुकीलुकी चियाउने गाजलु त्यो आँखा थियो
अगेनामा गुन्द्रुक मकै राखी दियौ तिमीले
त्यही मकैमा पोखराको दिल राखे मैले

हिंड्नु थियो टाढा थियो मन कस्तो आधा थियो
संगै बस्ने रहर थियो, घरगाउको बाधा थियो
पर पुगी फर्कीफर्की यसो हेरे मैले
यस्तो लाग्यो जिन्दगीमा भेट हुन्छ कहिले ?

शब्दः विनोद गौचन
स्वरः विवेक श्रेष्ठ
संगीतः सुनील थापा
कन्दरा ब्यान्ड


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad