• Ad

Samadhan National Daily

  • Ad

लाहुरेका श्रीमतीसँग घनिष्ठता बढाउँदै ठग्दै गर्ने गिरी  पुलिस फन्दामा

पाेखरा, २४ पौष:
thagi

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पोखरा लगायत ठाउँबाट दर्जनौंलाई ठगेको आरोपमा झापाका नेत्रप्रसाद गिरीलाई काठमाडौंबाट पक्रेको छ।

नेत्रप्रसादले काठमाडौं, चितवन, पोखरा लगायत ठाउँबाट दर्जनौं महिलालाई प्रभावमा पारेर आर्थिक तथा शारीरिक शोषण गरेको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् । ‘पहिला सामान्य लागेको थियो,’ उनले फोनमा समाधानसँग भनिन्, ‘पक्राउ परेपछि एकपछि अर्को गर्दै धेरै पीडित हामीकहाँ आइपुगे ।’

केही महिलाले त उजुरीनै दिन नमानेको एसपी चौधरीले बताइन् । ‘पोखराबाट २-३ जना आएका थिए,’ उनले भनिन्, ‘तर जाहेरी दिन अन्कनाएका थिए ।’ मीराका अनुसार पोखरामा धेरैनै महिला ठगिएको हुनुपर्छ ।‘नेत्रप्रसादविरुद्ध अझै जाहेरी आउने क्रम जारी छ,’ उनले भनिन् ‘पोखराबाट कोही ठगिएको छ भने सिआइबीमा उजुरी दिन अनुरोध गर्छु ।’

पोखरामा नेत्रप्रसादले विशेष गरी लाहुरेका श्रीमतीलाई लक्ष्य गरेको एक प्रहरी अधिकृतले बताए । ‘विवाहित भएका हुनाले उनीहरुलाई समस्या परेको हो,’ उनले भने, ‘उनीहरुबाट आर्थिक र शारीरिक दुबै फाइदा उठाएर वेपत्ता हुँदो रहेछ ।’ रामबजार कि एक महिला पनि त्यसैगरी ठगिएको ती अधिकृतले बताए । तर उनले घर परिवारले थाहा पाउँछ भनेर प्रहरीकहाँ जाहेरी समेत नदिएको बताए ।

पोखरामा एक घटना
रामबजारकी मीना (नामपरिवर्तन)को केही महिनाअघि नेत्रप्रसादसँग भेट भयो । त्यस बेला उनी नेत्रप्रसाद थिएनन्, राजु थिए । उनीहरुको भेट भारतीय पेन्सन क्याम्पअघि भएको थियो ।

मीना मोबाइल बनाउन आएकी थिइन् । त्यतिबेला राजुसँग भेट भयो । मीनासँग सामान्य कुराकानी भयो । मीनाले श्रीमान भारतीय सेना रहेको बताइन् । राजुले आफ्नो बुबा पनि पूर्व भारतीय सेना रहेको भनेपछि मीनालाई बोल्न अझै सहज भयोे ।

राजुले आफू पोखरामा व्यवसाय गर्ने सोचले आएको बताए । राजुले काठमाडौंको ठूलो व्यवसायी भनेर चिनाएका थिए ।तर उनी के को व्यवसाय गर्छन् भनेर मीनाले नै सोधिनन् राजुले पनि भनेनन् । अति सरल र मिठो बोली भएका राजुसँग पहिलो भेटमा मीना आकर्षित भइन् ।

केही समयको कुराकानीपछि उनीहरु खाजा खान गए । राजुको लवाइखवाइ देख्दा उनी साँच्चिकै धनाढ्य जस्तो देखिन्थे । उनीहरुबीच खाने क्रममा फोन नम्बर साटासाट भयो । मीना विवाहित भएकै कारण दिउँसो बोल्न नमिल्ने भन्दै राजुसँग राति अबेरसम्म फोन हुने गथ्र्यो ।

तीन–चार दिनकै बोलचालमा उनीहरु घनिष्ठ सम्बन्ध कायम भयो । डेढ हप्ताको भेटघाटमा मीनाले आफ्नी दिदीसँग पनि राजुलाई परिचय गराइन् । मीनामात्र होइन उनका दिदी पनि राजुको बोलीचालीबाट प्रभावित भइन् । एक दिन राजुले मीनासँग ४ लाख मागे । काठमाडाैंमा एक व्यवसायीलाई दिनुपर्ने भन्दै ३ दिनमा फिर्ता दिने गरी राजुले मागे। मीना सजिलै दिन राजी भइन् ।

मीनाको बैंकमा त्यस बेला १ लाख ४५ हजार मात्र थियो । दिदीलाई पनि फोन गरिन् । उनको दिदीसँग पनि जम्मा ४० हजार भन्दा थिएन। तीन दिनअघिनै दिदीले २ लाख रुपैयाँ घरको किस्ता बुझाएकी रहिछन् । मीनासँग भएको रकम र दिदीसँग भएको रकम गरेर १ लाख ८५ हजार रुपैयाँ मात्र भयो । त्यति भएपनि थपिथपाउ हुने भन्दै राजुले लिए ।

रकम लिएको तीन दिनसम्म फोनमा कुरा भयो । त्यसपछि न राजुको फोननै आयो न त फोननै लाग्यो । राजुको मोबाइल अफ थियो । मीनाले त्यो व्यथादिदीलाई भन्नु अरु कुनै विकल्प थिएन । दिदीलाई भनिन् पनि ।दिदीले एक प्रहरी अधिकृत चिनेकी थिइन् । ऊसँग सल्लाह गरिन् । मान्छेको हुलिया पनि बताइन् ।

प्रहरी अधिकृतको सल्लाह अनुसार मीनाले उजुरी भने दिन मानिनन् । केही दिनपछि काठमाडौंमा यस्तै व्यक्ति पक्राउ परेको भनेर प्रहरी अधिकृतले खबर गरे । नभन्दै त्यही व्यक्ति रहेछन् । तर मीनाले घरमा थाहा पाउँछन् भन्ने डरले उजुरी दिन मानिन् । ‘न हुने थियो भयो,’ मीनाको बोली उद्धृत गर्दै अधिकृतले भने, ‘घरमा थाहा भयो भने बर्बाद हुन्छ ।’

सिआइबीले पक्रेका नेत्रप्रसाद गत असोजमा जेलबाट छुटेका हुन् । उनले वैदेशिक रोजगार ठगी मुद्दामा म्यादी कारागारबाट सजाय भुक्तान गरेर छुटेका थिए । नेत्रप्रसादले छुट्ने बित्तिकै आपराधिक गतिविधि कायम राखे । पटक–पटक उनी विरुद्ध उजुरी परेपनि प्रहरी पक्राउ गर्न सकेको थिएन।

कुनै एक ठाउँमा बस्दा उनले आफ्नो नामबाट सिम कार्ड चलाएनन् त्यही भएरपनि प्रहरीले उनलाई पक्रन गाह्रो भएको थियो । नेत्रप्रसादको विरुद्ध उजुरी आएको ६ महिना पछि बल्ल उनलाई सिआइबी टोलीले पक्राउ गर्न सफल भएको हो ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad