• Ad

Samadhan National Daily

  • Ad

विरही बयान – ‘देब्रे आँखाः गोडमेल नभएको बगैंचा’

पाेखरा, २३ पौष:

‘बिरुवा रोपेर त्यसको संरक्षणका लागि गोडमेल हुन सकेन भने त्यसले राम्रो फल दिँदैन । मेरो कृति पनि त्यस्तै भयो । यसमा गोडमेलको अभाव छ, यो सत्य हो । कस्तो माली परेछ कुन्नि गोडमेल नै गरेन ?’ लेखक रेशम विरहीले निबन्ध संग्रह ‘देब्रे आँखा’ मा विचार र शिल्प दुवै तहमा गोडमेल हुन नसकेको आरोप स्वीकार्दै भने ।

चर्चित लेखक खगेन्द्र संग्रौलाले निबन्धको अगाडि र पछाडि गरी पुस्तकमाथि नौजना विद्वानका मन्तव्य राखिँदा भूकम्पले हल्लाएको घरलाई केही समय धान्न टेका लगाएजस्तो भएको टिप्पणि गरे । रेशमको कृति गोडमेल नभएको बगैंचाजस्तो भएको आरोप पनि संग्रौलाले लगाएका थिए । उनले भने, ‘बगैंचामा रस र सुवासको वासना हुन्छ, तर यो बगैंचा गोडमेलविहीन बगैंचा हो ।’

विरहीले वरिष्ठ व्यक्तिहरुको मन्तव्य राखेर प्रकाशकले पुस्तक बिकाउने फर्मुला अपनाएको पनि सुनाए । ‘यस्तो प्रक्रिया पहिलेदेखि नै चलनमा चलिआएको स्वार्थ हो,’ उनले भने । र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालको ७० औं शृखंलामा विरहीको निबन्ध संग्रह ‘देब्रे आँखा’ माथि शनिबार परिचर्चा गरिएको थियो ।

विरहीलाई संग्रौलाले अभागी कम्युनिस्ट भनिदिए । त्यसको बचाउमा विरहीले भने, ‘म कम्युनिस्ट होइन, माक्र्सवादी हुँ, तर माक्र्सवाद पनि त्रुटिरहित देख्दिनँ ।’ निबन्धमा प्रयोग हुने शैलीको एकरुपता र लयात्मकको कमी संग्रौलाले औंल्याए । एउटै निबन्ध कतै कोरा र सपाट अभिव्यक्तिमा प्रकट हुँदा कतै माधुर्य लय र सजीव भएर आइरहेको उनले औंल्याए ।

‘निबन्धमा निहित यो शैलीगत क्वाँटीपनाले निबन्धको लय भंग गर्छ, पाठकले पढ्न बाधा हुन्छ,’ उनले भने, ‘निबन्धमा समावेश केही व्यक्ति–बिम्बको चित्रण जीवन्त र शानदार छन् ।’

पुस्तक लेख्ने के को लागि ? सहभागीहरुले सोधेका थिए । संग्रौलाले भने, ‘पाठकलाई जीवन जगत बुझ्नमा सघाउन र समाजको आलोचना गर्न ।’ राज्य, पार्टी, परम्पराको सत्ताका लागि जीवनलाई नियन्त्रित गर्न त्यसको विरुद्धमा लेखक उभिनुपर्ने उनको धारणा थियो ।

‘सत्ताको लागि लेखक पुरस्कारको लायक हुँदैन । सत्ताको सेवकले नै पुरस्कार पाउँछ,’ उनले भने, ‘तर, विभेदको आदेश अनुसार जीवनलाई व्यक्त गर्ने र लेखकले जोखिम उठाई सत्यलाई उजागर गर्ने लेखकले हो ।’ देशमा बेरोजगारले गर्दा आजकल लेखकको संख्यामा बृद्धि भएको उनको ठम्याई छ । ‘धेरै पुस्तक व्यर्थ लेखिन्छ । साहित्यलाई सस्तो र झुर बनायो,’ उनले भने, ‘भात खाँदा, चिया खाँदा बनाएँ-लेखें भन्नेहरु धेरै भेटिन्छन् ।’


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad