• Ad

Samadhan National Daily

  • Ad

विश्वकप फुटबलमा ४८ देश, ८० खेल हुने

ज्युरिच, २६ पौष:

अबको १० वर्षपछि विश्वको सर्वाधिक लोकप्रिय खेल फुटबलको विश्वकपमा ४८ देश सहभागी हुन पाउने छन् ।

मंगलबार ज्युरिचमा बसेको विश्व फुटबल महासंघ (फिफा) कार्यसमितिको बैठकले सन् २०२६ को विश्वकपदेखि ४८ देश सहभागी हुन पाउने नयाँ नियमलाई अनुमोदन गरेको हो ।

गत वर्ष फिफा अध्यक्षमा इटालीका जियानी इन्फान्टिनो विजयी भएपछि उनले विश्वकपमा ४८ देश समावेश गर्ने वकालत गर्दै आइरहेका थिए । इन्फान्टिनोले गत डिसेम्बरमा आयोजना भएको फिफा कंग्रेसमा पनि आफ्नो प्रस्ताव अगाडि सारेका थिए ।
जसलाई मंगलबार कार्यसमितिले अनुमोदन गर्‍यो । नयाँ नियमअनुसार अब समूह चरणको खेलमा तीन टिमको सहभागिता हुनेछ भने सबै टोली १६ समूहमा विभाजन हुनेछन् । यसबाट छानेर आएका ३२ टोलीले नकआउट चरणको खेल खेल्ने छन् ।

देशको संख्या बढ्ने बित्तिकै विश्वकपमा खेलको संख्या पनि बढ्ने छ । हाल ३२ टिम हुँदा ६४ वटा खेल हुने गथ्र्यो । अब ८० वटा खेल हुनेछ । खेलको संख्या बढे पनि विजेता टिमले अहिले जति नै ७ वटा खेल खेल्ने छ । विश्वकप समापन हुन ३२ दिन लाग्नेछ । आफ्नो व्यस्त तालिकाका कारण युरोपेली क्लबले फिफाको नयाँ प्रयोगको विरोध गर्दै आइरहेका थिए ।

सन् १९९८ को विश्वकपमा ३२ टिम खेलाउने निर्णयको पनि त्यतिबेला विरोध भएको थियो । नयाँ प्रयोगले विश्वभरी फुटबल विकास र विस्तारमा नयाँ आयाम थप्ने इन्फान्टिनोले विश्वास लिएका छन् । विश्वकपको विस्तारले आयआर्जनमा पनि ठूलो लाभ हुने विश्वास गरिएको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad