• Ad

Samadhan National Daily

  • Ad

संशाेधनकाे विषयमा मध्यमार्गी बाटो खोज्न नेता सशांककाे सुझाव

पाेखरा, २४ पौष:

नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले संविधान संशोधनको विषयमा मध्यमार्गी बाटो खोज्नुपर्ने बताएका छन् । ‘ विपक्षी संशोधन प्रस्ताव संसदमा छलफल गर्न दिन्न भन्ने, सत्तापक्ष संसद लैजान्छु भनेर निकास निस्कँदैन,’ उनले भने,‘ राजनीतिक गतिरोध लम्ब्याउनु हुँदैन, बीचको बाटो खोजिनु पर्छ ।’

नेपाली कांग्रेस कास्कीको वेब साइट शुम्भारम्भ कार्यक्रममा आइतबार पोखरामा बोल्दै कोइरालाले संविधान कार्यान्वयन गराउने जिम्मेवारी कांग्रेसमा भएको बताए । ‘ नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको हो,’ उनले भने,‘ कार्यान्यवनमा पनि कांग्रेसले नै नेतृत्व गर्नुपर्छ । ’ २०७४ माघ सम्ममा तीनवटा निर्वाचन गरिसक्नु पर्ने भएकोले चुनावको लागि तयार रहन उनले कार्यकर्तालाई आग्रह गरे ।

कांग्रेसको शक्ति भनेकै विचार र इतिहास हो,’उनले भने,‘ कांग्रेसको विचारलाई गाउँ÷गाउँसम्म लिएर जानुपर्छ ।’ उनले स्थानीय निकायको चुनावमा कांग्रेस हारे प्रदेश र संसदको चुनावमा जित्न गाह्रो हुने भन्दै त्यसप्रति सचेत रहन कार्यकर्तालाई आग्रह गरे । उनले गुटबन्दीले पार्टीलाई कहिल्यै फाइदा नगरेको भन्दै त्यसलाई अन्त्य नै गर्नुपर्ने औल्याए ।

कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले सत्तापक्षलाई राष्ट्र विरोधी भनेर एमालेले भ्रम छर्न खोजेकोले त्यसलाई चिनुपर्ने बताए । उनले संविधान संशोधनमा राष्ट्रहित विरोधी केही पनि नभएको दाबी गरे । अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रमुख राजनीतिक दलहरुले नेपाली समाज र समुदायको भावना र मर्म बुझ्न नसकेको बताए । समाज एकातिर, राजनीति अर्कोतिर छ,’उनले भने,‘राजनीतिलाई समाज र समुदाय मुखी बनाउन आवश्यक, यसबारे कांग्रेसले पनि सोच्ने बेला आएको छ ।’

पूर्व महामन्त्री तारानाथ रानाभाटले संविधान कार्यान्वयन नभए देण्श असफल राष्ट्र हुने चेतावनी दिए । उनले भने,‘ संविधान कार्यान्वयन गराउने चुनौतीलाई कांग्रेसले नै फेस गर्छ, जनताको प्रतिनिधित्व गर्ने पार्टी नै कांग्रेस हो ।’

नेता शुक्रराज शर्माले भगबन्डाले कांग्रेसलाई कमजोर बनाएको बताए । कांग्रेस आफ्नो सिद्धान्त र विचारमा नहिड्दा कम्प्युनिस्ट बढेको भनाइ उनको थियो ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा सांसदहरु यज्ञबहादुर थापा, शारदा पौडेल, बृन्दादेवी राना, नेताहरु महादेव गुरुङ, रामजी कुँवर, पोषनाथ शर्मा, खेमराज पौडेल, कास्की कांग्रेसका उपाध्यक्ष हरि आचार्य लगायतले नेपाली कांग्रेस एक ढिका भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । गत असारमा बसेको नेपाली कांग्रेसको बैठकले सदस्य नवीन सिग्देललाई वेबसाइट निर्माणको जिम्मेवारी दिएको थियो ।

कार्यक्रममा सिग्देलले नेपाली कांग्रेसको इतिहास, कास्की कांग्रेसको सम्पूर्ण जानकारी लगायत विभिन्न विषयलाई वेबसाइटमा समेटिएको जानकारी दिए । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस कास्कीका सचिव रामराज लामिछानेले गरेका थिए । कार्यक्रममा वेब साइट डिजाइन गर्ने कुशल नेपालीलाई डाक्टर शशांक कोइरालाले सम्मान गरेका थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad