• Ad

Samadhan National Daily

  • Ad

सस्ताे लाेकप्रियता कमाउने पृथ्वीकाे १० रुपैयाँ भाडा ४८ घन्टा पनि टिकेन

पाेखरा, १७ पौष:

पुस १३ र १४ गते यात्रुले पोखराका सडकमा १० रुपैयाँ भाडा तिरेर बस चढ्न पाए । १० रुपैयाँमै सेवा दिने घोषणासहित सुरु भएको पृथ्वी राजमार्ग बस सञ्चालक समितिको उक्त सेवा पूरै दुई दिन पनि टिकेन । पोखरा बस व्यवसायी समिति र पृथ्वीको विवादले उक्त सेवा निरन्तर नभएको हो ।

पृथ्वीले १० रुपैयाँ भाडा लिने गरी सवारी चलाउने घोषणा गर्नासाथ पोखरा बसले मिलेर अघि बढ्न आग्रह गर्‍यो । लगत्तै सस्तो सेवा थाँती राख्दै दुवै समिति वार्ता प्रक्रियामै छन् । जसका कारण पोखराका जुनसुकै ठाउँमा पुग्ने गरी पाएको त्यो सेवा ४८ घन्टा पूरै टिक्न नसकेको हो । १० रुपैयाँमा चढ्न पाएर आश्चर्य मान्दै सेवा लिएका यात्रु अन्तत राज्यले तोकेको दरभन्दा बढ्ता भाडा तिर्न अहिले पनि बाध्य नै छन् ।

दुईथरी व्यवसायीका संस्थाको विवादले सस्तो सेवा बन्द भएको पोखरा बस व्यवसायी समितिका सचिव अमृत शर्माले स्वीकारे । ‘हाम्रा बीचमा केही बिमति भयो, त्यसका कारण उहाँहरुले अवेशमा दुई दिन त्यस्तो सेवा दिनुभएको हो, अहिले रोकिएको छ,’ उनले भने ।

पोखरा बस व्यवसायी समिति अन्तर्गत चल्ने सवारीसाधनले अहिले ग्रामीण भेगसम्म सवारी चलाएका छन् । कास्कीका ग्रामीण भेगमा चल्ने बसले ३ सय रुपैयाँसम्म भाडा लिने गरेका छन् । ती लामा सडकमा अहिले पृथ्वीले दाबा गर्न थालेको छ । हेम्जामा सेवा दिएको पृथ्वी त्यहाँबाट विस्थापित हुनुपर्ने भएपछि समस्या आएको हो ।

पोखरा नगरमा वरपरका गाविस गाभिएपछि ती क्षेत्रका जनताले पोखराको सेवा विस्तार गर्न आग्रह गरे । त्यसपछि हेम्जामा पृथ्वीलाई थाहा नदिई पोखराले बस पठाएपछि विवाद बढ्यो । त्यसैका बीच पोखराको विन्ध्यवासिनी बस यातायात समिति आउँदा एकै ठाउँमा उभिएका यी दुई समिति आपसमा अहिले बाझिन पुगे ।

प्रतिस्पर्धी संस्था विन्ध्यवासिनी आउँदा समेत भाडामा मनपरि भइरहेको बेला पृथ्वीले एउटा नयाँ सन्देश भने पोखरेली उपभोक्तालाई दिएको थियो । १२ रुपैयाँमा यात्रा गर्न पाउनुपर्ने यात्रुलाई १५ रुपैयाँ लिएर ठग्दै आएका व्यवसायीलाई १० रुपैयाँको छोटो सेवाले झड्का दिएको थियो ।

‘१० रुपैयाँमा यात्रु बोक्दा फाइदा नै हुँदोरहेछ,’ छोटो समय पोखरामा यस्तो सेवा दिएका पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले सुनाए । उनले आफूहरु अझै पनि पोखरामा यस्ता बस गुडाउने सोचमा रहेको भए पनि अहिले स्थगित गरेकोे बताए । आफूहरुको अनुभवले पोखरा व्यवसायी समितिले भाडाको विषयमा सोच्नुपर्ने देखेको उनी प्रस्टै भन्छन् ।

पोखरा बस व्यवसायी समिति र पृथ्वीराजमार्ग बसबीच लामो दुरीमा पृथ्वी र छोटो दुरीमा पोखरा बसले सवारी चलाउने गरी रुट मिलाइएको थियो । त्यसैमा अहिले खटपट देखिएपछि पृथ्वीले पोखरालाई लामो दुरी चलाउन अवरोध नगर्ने र आफूलाई पनि पोखराभित्र सेवा दिनुपर्ने जवाफ दिएको छ ।

देशकै दोस्रो ठूलो यातायात व्यवसायी संस्था पृथ्वीले पोखरामा सवारी गुडाउने भनेपछि पोखरा बस व्यवसायी समितिलाई अप्ठेरो परेको हो । ‘हिजो मिलेर काम गरेको हो, अहिले केही समस्या देखिएका छन्,’ पोखरा बस व्यवसायी समितिका सचिव तिमिल्सिनाले भने, ‘यो लामो समय रहँदैन हामी वार्ता भइरहेको छ, पृथ्वीको अध्यक्ष फर्केपछि सबै समस्याको समाधान निस्कने गरी वार्ता मै छौं ।’

आजकल पोखराका सडकमा नगर बस धेरैजसो खाली नै गुड्छन् । पहिलेभन्दा लामा र धेरै यात्रु बोक्न सक्ने ती बस पोखरा बस व्यवसायी समिति अन्तर्गत नै चल्ने बसहरु हुन् । त्यसबाहेक विन्ध्यबासिनी बस समितिका २९ बस गुड्छन् । पोखरा बसले २५१ बाट बढाएर ३ सय ८१ बस पुर्‍याएको छ । यी सवारी गुडाउँदा नै घाटा खान थालेको बताउने व्यवसायीलाई पृथ्वीको प्रवेश भए झनै झड्का लाग्ने स्वाभाविक हो ।

गण्डकी यातायात व्यवस्था कार्यालयका प्रमुख तीलक पौडेलले दुई थरी व्यवसायीबीच सहजीकरणको प्रयास गरेको बताए । दुबै समितिका अध्यक्षलाई फोन गरेर कम्तीमा सडक महोत्सव अवधिभर नराम्रो सन्देश जान नदिन आग्रह गरेको सुनाए ।

पोखराभित्रका रुट स्पष्ट व्याख्या नभएकाले पोखरा भन्नाले लामाचौर, छोरेपाटन, रामबजार बिरौटा जुनसुकै स्थानमा पनि आफ्ना सवारी लैजान छुट्टै परमिट लिन नपर्ने पृथ्वी बसका महासचिव केसीले दाबी गरे । तर पोखरा बसका सचिव तिमिल्सिनाले यसरी सञ्चालन गर्न भने नमिल्ने दाबी गरे ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका ट्राफिक प्रमुख प्रहरी निरिक्षक विश्वराज अधिकारीले पोखराभित्रको रुट परिभाषामा समस्या रहेको स्वीकारे । त्यसो भन्नुको अर्थ जसलाई जे मनलाग्यो त्यो भन्ने अर्थ लगाउन नमिल्ने उनको पनि भनाइ छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad