• Ad

Samadhan National Daily

  • Ad

साफमा उदाएकी स्टार ‘ब्वाइज लुक्स’ सावित्रा

सिलिगुडी, भारत, २३ पौष:
sabitra-bhandari-during-training-session-8

खेलमा हारजीत स्वभाविक नै मानिन्छ । र, लिनु पनि पर्छ । खेल जीवनले कतिबेला कस्तो ‘ट्रर्निङ ’ लिन्छ सायद खेलाडीलाई नै थाहा हुँदैन होला । खेलमा जीत र हारको नतिजा मात्र हुँदैन ।

खेलाडीको भविश्य पनि जोडिएको हुन्छ । एउटै प्रतियोगिताको प्रदर्शनले पनि खेलाडीको जीवनमा कायापलट ल्याउन सक्छ । उत्कृष्ट प्रदर्शनले रातारात चर्चाको शिखरमा पुर्‍याउँछ । नेपालको खेलकुद इतिहासमा त्यस्ता धेरै उदाहारण छन् ।

२०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्ध गोल गरेसँगै विमल घर्तीमगर एकाएक चर्चामा आए । एन्फाका उत्पादन उनी अहिले रोजाइमा छन् । गत वर्ष बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नेपाल विजयी हुँदा सेनाका नवयुग श्रेष्ठ स्टार बनेर स्वदेश फर्किए । उनी अहिले पहिलो रोजाइका स्ट्राइकर हुन् ।

भारतको सिलगडीमा पुस २० गते सम्पन्न भएको साफको चौंथौ संस्करणले दक्षिण एसियाकै महिला फुटबलमा स्टारको उदय गरायो । सावित्रा भण्डारी जो स्टार भइन् । चौथो साफमा उनी सबैका केन्द्रमा रहिन् । नेपालको समूह चरणको खेलका पहिलो र दोस्रो खेलमा सावित्राले गरेको प्रदर्शनले उनलाई स्टार बनायो ।

२ खेल हरेपछि पोस्ट म्याच कन्फ्रेन्समा एक विदेशी पत्रकारले उनलाई सोधेका थिए, ‘तिमी दक्षिण एसियाकै महिला फुटबलको बेस्ट स्ट्राइरकर हो ?’ उनले जवाफ दिइन्, ‘म बेस्ट स्ट्राइकर हुँ त भन्दिनँ, तर बन्ने प्रयास गर्छु ।’ उनले बेस्ट स्ट्राइकर हो नभने पनि उत्कृष्ट प्रदर्शनले त्यो सावित गरिसकेको थियो ।

एपिएफमार्फत घरेलु फुटबलमा सामान्य परिचय बनाएकी सावित्राले भुटानसँगको खेलमा गरेको प्रदर्शनले चर्चामा शिखरमा पुर्‍यायो । चौंथो साफको उद्घाटन खेलमा नेपालले भुटानलाई ८—० ले पराजित गर्दा सावित्राले एक्लै ६ गोल गरिन् । उनको प्रदर्शन यतिमा मात्र सीमित रहेन ।

sabitra-01

दोस्रो खेलमा माल्दिभ्सलाई नेपालले ९–० को जीत निकाल्दा पनि सावित्राले ५ गोल गरिन् । २ खेलको प्रदर्शनपछि सबैका नजर उनमा पर्‍याे । २ खेलमा ११ गोल चानेचुने कुरा थिए । अन्तर्राष्ट्रिय फुटबल त परको कुरा, घरेलु फुटबलमा पनि सजिलो पक्कै हुँदैन ।

साफमा भारतसँगको खेलमा पनि उनले एक गोल गरिन् । उनले चौंथो साफमा मात्र १२ गोल गरेकी छन् । उनको अन्तर्राष्ट्रिय खेलमा गरेको गोल संख्या १६ पुगेको छ । २० वर्षीया सावित्रा नेपाली फुटबलमा एउटै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी मात्र होइन, एउटै खेलमा दोहोरो ह्याट्रिक गर्ने महिला खेलाडी बनेकी छन् । उनी राष्ट्रिय टिममा सहभागी भएको दुई वर्षमै स्टार बन्न सफल भएकी छन् ।

shabitra-copy

लमजुङको सिमपानीमा जन्मिएकी सावित्राको खेल जीवन भने भलिबलबाट सुरु भएको हो । सावित्रा सानैदेखि छोटो कपाल बनाएर हिँड्थिन् । जुन अहिले पनि उस्तै छ । ४ वर्षअघि छोटो हेयर कट बनाएर गन्जी र हाफपेन्ट लगाएर भलिबल खेल्दा सावित्रा भण्डारीको गाउँका केहीले कुरा काटेका थिए ।

सावित्राको बुवालाई गाउँका केहीले ‘छोरीलाई छाडा छोड्नु भएन भनेका थिए । थमबहादुर र मुनामायाकी माइली सन्तान सावित्राको कुरा काट्नेको मुखका अहिले भने उनको सफलताले बुझो लगाइसकेको छ । भलिबलमा पनि उनी स्पाइकरको रुपमा खेल्थिन् ।

भलिबलका कारण सानैमा टिममा बसेर खेल्नुपर्छ भन्ने चेतनाको विकास भएको उनको अनुभव छ । बुवाको हौसलाका कारण आफूलाई अगाडि बढ्न सजिलो भएको उनले सुनाइन् । सावित्राका १ दिदी, २ भाइ र २ बहिनी छन् । र, उनीहरु केही पनि खेलकुद क्षेत्रमा छैनन् ।

स्थानीय भलिबल प्रतियोगितामा खेल्ने क्रममा रेफ्री शुक्र तामाङसँग भेट उनका लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो । सावित्राको खेल हेरेपछि तामाङले खेलकुदमा तिम्रो भविश्य छ भन्दै राजधानी जान सुझाए । २०७० सालमा तामाङकै सहयोगमा राजधानी आएर एपिएफमा ट्राइल दिइन र छनोट भइन् । फुटबलमा उनीको यात्रा बल्ल सुरु भयो । राष्ट्रिय टिमा जमुना गुरुङ र एपिएफमा कार्यरत अनु लामाको दबदबा थियो ।

सावित्राले मौका पाउने सम्भावना थिएन । अनु शान्ति सेनामा गएपछि सावित्रा बल्ल रोजाइमा परिन् । एपिएफमा उनले गरेको उत्कृष्ट प्रदर्शनले राष्ट्रिय टिम प्रवेशमा सहज भयो । सन् २०१४ को साफ च्याम्पियनसिपमा भुटानसँगको डेब्यु खेलमै उनले गोल गरिन् । सावित्रा टिमवर्कले नै सफल भएको मान्छिन् । उनले भनिन् ‘फुटबल टिम वर्क हो, सबै खेलाडीको उत्तिकै महत्व हुन्छ ।’

खेलमा उनको ‘स्टामिना’ र गोल गर्ने क्षमता देखेर अन्य देशका प्रशिक्षक पनि लोभिएका थिए । भारतीय टोलीका प्रशिक्षक सजितयुसुफ धरले पनि सावित्राको प्रशंसा गरे । उनले सावित्रालाई खतरनाक खेलाडी भनेका थिए ।

१० महिनाअघि आसामको सिलोङमा आयोजना भएको १२ औं सागमा श्रीलंकाविरुद्ध २ गोल उनले गरेकी थिइन् । गत पुस २ गते राजधानीमा भएको मलेसियासँगको मैत्रीपूर्ण खेलमा पनि आफूभन्दा २६ स्थान माथिको बलियो राष्ट्र मलेसियालाई हराउने क्रममा सावित्राले नै निर्णायक गोल गरेकी थिइन् । लमजुङको अमर उच्च माविमा व्यवस्थापन विषयमा १२ कक्षामा अध्ययनरत सावित्राको भविश्यमा महिला फुटबल प्रशिक्षक बन्ने योजना छ ।

सन् २०१० देखि सुरु साउथ एसिएन फुटबल फेडेरेसन(साफ) महिला च्याम्पियनसिपको चौंथौ संस्करणले तीन दिनअघि बिट मार्‍यो । तीन पटकसम्म फाइनल खेलको नेपाल यो पटक सेमिफाइनलमाबाट बाहिरियो । भारतको सिलिगडीमा डिसेम्बर २६ देखि जनवरी ४ तारिखसम्म भएको महिला फुटबलमा भारत चौंथौ पटक पनि लगातार च्याम्पियन बन्यो ।

भारतले बंगालादेशलाई ३—१ पराजित गरी च्याम्पियन बनेको हो । तीन पटकसम्म भारतसँग फाइनल खेलको नेपाल सेमिफाइनलमा भारतसँग नेपाल ३—१ नै पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad