• Ad

Samadhan National Daily

  • Ad

१८ वर्षसम्म अटेर गरी कर नतिरेकाे सांग्रिला भिलेजले चेतावनीपछि तिर्‍यो ५७ लाख – अझै १० करोड कर उठ्न बाँकी

कर नतिर्नेसँग कडा बन्दै नगरपालिका

पाेखरा, २० पौष:
shangrila-village-resort-pokhara

पोखराको सांग्रिला भिलेज रिसोर्टले पोखरा उपमहानगरपालिकालाई ५७ लाख रुपैयाँ बुझाएको छ । रिसोर्टले १८ वर्षदेखि तिर्न बाँकी सम्पति कर बुझाएको हो । रिसोर्टले अझै झन्डै ३ लाख रुपैयाँ एकीकृत सम्पति कर बुझाउन बाँकी छ ।

‘हामीले पटकपटक ताकेता गरेका थियौं,’ पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले समाधानसँग भने, ‘धेरैचोटि ताकेता गर्दा पनि अटेर गरेपछि कारबाहीकै चेतावनी दिनुपर्‍यो ।’ बक्यौता कर नतिरे सरकारी सेवा सुविधा कटौती गर्ने, बैंकिङ कारोबार रोक्नलाई राष्ट्र बैंकलाई आग्रह गर्ने र कानुन बमोजिम कारबाही गर्ने नगरपालिकाले चेतावनी दिएपछि बुधबार रिसोर्टले कार्यालयमा रकम दाखिला गरेको हो ।

रिसोर्टले जग्गा पास गरेको भए पनि सम्पति कर बुझाउन आलेटाले गर्ने र शक्तिको आडमा बचाउ गर्ने कामसमेत गर्दै आएको नगरपालिकाले जानकारी दियो । तर, नगरपालिकाले कानुनी कारबाहीकै प्रक्रिया थाल्ने बताएपछि एकीकृत करबाहेकको रकम बुझाएको हो । केही दिनमै एकीकृत कर पनि दाखिला हुने कर अधिकृत शिवहरि शर्माले बताए ।

रिसोर्टले नगरपालिकामा कागजात पेस गर्दा नक्सापासबाहेक अरुको कागजातसमेत पेस गरेको छैन । उपमहानगरपालिकाको भवन नक्सा पास निर्देशिका अनुसार नक्सा पास गरेको २ वर्षभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने नियम छ । नियमानुसार जोकोहीले पनि निर्माण सम्पन्नताको प्रमाणपत्र लिनैपर्छ ।

घरजग्गाको मूल्यांकनबाट सम्पति कर निर्धारण गरिन्छ । सरकारी नियम पालना नगरेका कारण पोखराको भाटभटेनी डिपार्टमेन्ट स्टोरले स्थानीय निकायबाट पुर्‍याउनुपर्ने प्रक्रिया नपुर्‍याएकाले मंसिर ५ गते ७४ लाख रुपैयाँ बुझाएको थियो ।

प्रक्रिया नपुर्‍याई बनाएको भन्दै पोखरा उपमहानगरपालिकाले पटकपटक ताकेता गरेपछि भाटभटेनीले झन्डै ७४ लाख रुपैयाँ बुझाएको हो । भाटभटेनीले नक्सापास तथा घरजग्गा करबापत ५८ लाख, समयमै निर्माण सम्पन्नताको प्रमाणपत्र नलिएका कारण १४ लाख ३० हजार र २ वर्षको एकीकृत करबापत १ लाख ६० हजार रुपैयाँ बुझाएको थियो ।

कर उठाउन नगरपालिकाले कडाइ गरेसँगै लेखसाइडको टेम्पल ट्रीले १७ लाख रुपैयाँ बुझाएको छ । यस्तै अतिथी रिसाेर्टले ४ लाख र होटल ड्रागनले पनि ७ लाख रुपैयाँ तिरेको छ । ‘कडाइ गरेसँगै कर तिर्ने क्रम बढेको छ,’ कार्यकारी अधिकृत ढुंगानाले भने, ‘राज्यलाई तिर्नै पर्ने कर पनि तिर्न नपरे हुन्थ्यो भन्ने मानसिकता त्याग्न जरुरी छ । सबै करको दायरामा आउनैपर्छ ।’

फूलबारी रिसोर्ट, मनिपाल मेडिकल कलेज लगायतले लामो समयदेखि कर तिरेका छैनन् । मनिपालको जग्गा लिजमा लिइएका कारण कसरी कर उठाउने भन्ने विषयमा मतभेद भए पनि कर छुट नपाउने र कर तिर्न ताकेता भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पाँचतारे फूलबारी रिसोर्टलाई तत्काल कागजात पेस गर्न भनिरहेको छ । पोखराको अर्को एक होटलले आजभोलिमै झन्डै ७० लाख रुपैयाँ बुझाउँदै छ ।

लामो समय कर नतिर्ने र करको दायरामै नआउनेलाई अहिले पोखरा उपमहानगरपालिकाले कडा ताकेता गरेको छ । कार्यकारी अधिकृत भएर आए लगत्तै ढुंगानाले कर असुलीलाई तीब्र बनाएका छन् । आए कर नतिर्ने करदाताको सूची तयार पारेर ताकेता गर्ने र नतिरे कानुनी कारबाहीमै लाग्ने कार्यकारी अधिकृत ढुंगानाले बताए ।

नगरपालिकाले सम्पति कर शीर्षकमामात्रै झन्डै १० करोड रुपैयाँ उठाउन बाँकी छ । ‘हामी कर नतिर्नेलाई छाड्नेवाला छैनौं,’ ढुंगानाले भने, ‘करदाताको करको दायित्व यकिन गरेर कर तिर्न आग्रह गर्दा पनि नतिरे सेवा सुविधा कटौती गर्छौं र अन्य कारबाही अगाडि बढाउँछाैं ।’

प्याराग्लाइडिङलाई पनि ताकेता
नगरपालिकाले प्याराग्लाइडिङ व्यवसायीलाई पनि करको दायरामा ल्याउन लागेको छ । साबिक सराङकोट गाविसमा सञ्चालित प्याराग्लाइडिङ व्यवसायीले वार्षिक १ लाख रुपैयाँ तिर्दै आएका थिए ।

सराङकोट पनि उपमहानगरपालिकामा गाभिएसँगै प्याराग्लाडिङ प्यवसायीले नगरपालिकालाई कर तिरेका छैनन् । ‘उनीहरुलाई पाँच प्रकारका कर लाग्छ तर हामीले वार्षिक एक लाख रुपैयाँ बुझाऊ भनेका छौं,’ कर अधिकृत शर्माले भने, ‘स्थानीय स्वायत्त शासन ऐनमै भएको नियम मान्दिनँ भन्न मिल्दैन ।’

प्याराग्लाइडिङ व्यवसायीले नगरपालिकामै पुगेर कर तिर्ने सहमति गरे पनि अहिले फेरि बखेडा झिक्न खोजेको कार्यकारी अधिकृत नवराज ढुंगानाले बताए । ‘पर्यटन व्यवसाय संवेदनशील हुन्छ भनेर केही लचिलो बनेका छौं,’ उनले भने, ‘अटेरी गरे अप्रिय बन्न पछि पर्दैनौं ।’


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad