• Ad

Samadhan National Daily

  • Ad

यसरी जन्मेथ्यो – जति माया लाए पनि…गीत

पाेखरा, २३ पौष:

रचनाः विनोद गौचन
संगीत र स्वरः अरुण थापा
२०३३-३४ सालतिर पोखराको बागबजारमा लोकनृत्य, लोकगीत प्रस्तुत गर्ने साँस्कृतिक थलो थियो– ‘डाँफे कलामन्दिर’ । अहिलेजस्तो टेलिभिजन, पत्रपत्रिका, इमेल, इन्टरनेट र एफएमजस्ता मनोरञ्जनका साधन थिएनन् त्यतिबेला । त्यसैले पोखरा आसपासमा रहेका गाउँबाट ‘डाँफे कलामन्दिर’ मा मान्छेको ओइरो लाग्थ्यो ।

बेलायती सेनाका भूपू क्याप्टेन मीनबहादुर गुरुङले चलाएको यो कला मन्दिरले पोखरेलीलाई भरपुर मनोरञ्जन दिएको थियो । त्यसैले त उनको नाम नै ‘डाँफे बूढा’ रहन गयो । ‘डाँफे बुढा’ खोलेको यहि कला मन्दिरमा विनोद गौचन पनि खुब जान्थे सांस्कृतिक कार्यक्रम हेर्न । पातलो जीउडाल, गीतसंगीत भनेपछि हुरुक्कै हुने विनोदको डाँफे धाउने क्रम बढ्दै गयो ।

यसैक्रममा एकदिन सांस्कृतिक कार्यक्रम हेरिहरको थिए – आखा चिम्सो, होचो कद, मंगोलियन वर्णको एउटा ठिटो स्टेजमा उत्रियो । गीतार आफै बजाएर त्यसकै धुनमा उसले हिन्दी चलचित्र कोरा कागजको ‘मेरा जीवन कोरा कागज कोरा ही रहेका’ बोलको गीत गायो । उसले गाएको गीत सुनेर सबै दर्शक–श्रोता मन्त्रमुग्ध भए ।

सबैभन्दा बढी ध्यान विनोदको खिचियो । गीतसंगीतप्रति रुचि राख्ने विनोदलाई त्यो ठिटोको गायकीले यति प्रभाव पार्‍यो कि उसकै गीत सुन्नका लागि उनी बारम्बार डाँफे कला मन्दिर धाउन थाले । अर्को एकदिन अरुणले डाँफे कला मन्दिरमा अजनबी फिल्मको ‘हम दोनो दो प्रेमी दुनिया“ छोड चले’ बोलको गीत गाए ।

यो गीत सुनेपछि विनोद त्यो ठिटोप्रतिको यति आकर्षित भए किन हरेक पल आँखा वरिपरि त्यो केटो छाईरहयो । त्यो केटासँग चिनजान गर्ने उत्सुकताले विनोद हैरान भए । चिनाजान गर्ने मन भए पनि मौका मिलेन । उनले सिधै त्यो ठिटोसँग चिनजान गर्न पनि असमर्थ भए ।

‘२०३४ को सुरुतिरै पोखरेली युवा सांस्कृतिक परिवार गठन हुने कार्यक्रम थियो, त्यसमा त्यो केटालाई पनि बोलाइएको रहेछ, त्यतिबेला परिचय थियो ऊ रहेछ अरुण थापा,’ गीतकार विनोद गौचनले यो पंक्तिकारसँग भनेका थिए, ‘आफूले चिनजान गर्न खोजेको मान्छेसँग अनायासै चिनजान बढेपछि हाम्रो संगतले झांगिने मौका पायो ।’

arun

अरुण थापा

उमेर पनि दुवै जनाको उस्तै । दुवै जनाको संगीतमा झुकाव । अरुणले गीत गाउँथे । साहित्यमा रुचि राख्ने विनोदले गीत लेख्थे । दुवै जनाको संगत यति बाक्लियो की उनीहरु २४ सै घण्टा सँगै हुन थाले । सँगसँगै उनीहरु डाँफे कला मन्दिर जान थाले । अरुणको घर तलितपुरको झम्सिखेल भए पनि बुबा गन्जु थापा नेपाल बैंक पोखराको क्षेत्रीय प्रबन्धक भएर पोखरा आएपछि उनी बुवासँगै यतै आएका रहेछन् ।

अरुण बैंकले दिएको बुवाको क्वाटरमा बसे पनि प्राय विनोदसँगै हुन्थे । दुवै जना पोखराका विभिन्न ठाउँमा खुब घुम्थे । त्यो बेलामा कहिले फेवातालको किनारैकिनार कहिले सेतीखोलाको बगरैबगर बारालिन्थे । महेन्द्रपुल, बागबजार, भीमकालीपाटनमा घुम्दाघुम्दै बित्थे दिन । पृथ्वीनारायण क्याम्पस गेट अघिल्तीर एक जना गुरुङसेनी आमाको चिया पसल थियो । यी दुई युवा यो चिया पसलमा पनि खुब जान्थे । सबैभन्दा बढी उनीहरु फेवाताल र लेकसाइड बढी घुम्थे । टहटह जून लागेको पूर्णिमाको राती अबेलासम्म फेवातालमा डुंगा चलाउँथे ।

‘त्यतिबेला लेकसाइडमा हिप्पीहरुको आगमन बढिरहेको थियो । हिप्पीहरुको जीवनशैलीसँग आकर्षित हामी फेवाताल नपुगेको कुनै दिन हुन्नथ्यो,’ विनोद अरुणसँग बिताएका दिन सम्झेका थिए । एक दिन यो जोडी हामी फेवातमाल घुमेर विनोदको घर बागबजार फर्कियो । विनोदको कोठामा सँधै गीतार जगेडा हुन्थ्यो । थाकेर हैरान भएका उनीहरु आआफ्नो तालमा बसे ।

विनोदलाई लेख्ने मुड आयो । अरुणले गीतार बजाउन थाले । केही मिनेटमै विनोदले सिंगो गीत लेखी भ्याए । त्यो पढेर सुनाए अरुणलाई । उनले मन पराए र गीतमा लय भर्न थाले । गीतले गीतकारको तालमा एकैछिनमा लय पायो र जन्मियो– ‘जति माया लाए पनि, जति कसम खाए पनि ।’

अरुण विशेष गरेर दीप श्रेष्ठ र भक्तराज आचार्यका गीत गाउँथे । हिन्दीमा किशोर कुमारका गीत गाउँथे । पोखरामा हुने हरेक सा“स्कृतिक कार्यक्रममा अरुणले यो गीत गाउन थाले । पोखरेलीले गीत असाध्यै मन पराए । त्यसपछि २०३६ सालमा अरुणले यो गीतलाई रेडियो नेपालमा रेकर्ड गराए ।

जब रेडियोमा ‘जति माया लाए पनि’ बज्न थाल्यो । सबैले यो गीत मन पराउन थाले । त्यतिबेला रेडियो नेपालमा ट्रेडिसनल गीत बढी बज्थे । तर, यो गीतमा शब्द पनि राम्रो, संगीत र स्वरमा फरकपन आएकोले स्रोताले आफ्नोपनको महसुस गरेर होला अत्यधिक मन पराए । अरुण दिन दुईगुना रात चौगुना चचिर्त भए ।

देशभरका संगीतप्रेमीको मन यो गीतले छोयो । अरुण रातारात चचिर्त भए । ‘यो गीत यति धेरै चर्चितहोला । रेडियो नेपालमा रेकर्ड हुन्छ भन्ने हामीले कहिल्यै सोचेका थिएनौं,’ रचनाकार विनोदले भनेका थिए, ‘योे गीत यति हिट भयो की हामी कहिल्यै पछाडि फर्कनु परेन ।’

विनाेद गाैचन

विनाेद गाैचन

गीत यति हिट भयो की पोखरामा जना गए पनि यी दुई लोर्के ठिटाहरुको चर्चा हुन थाल्यो । प्रायःस्रोता के अड्कल काट्थे भने यो गीतले गायक वा गीतकारको वास्तविक जीवनसँग कुनै न कुनै सम्बन्ध राख्छ । गायकको नाताले अरुण र गीतकारको नाताले विनोदलाई खुब सोध्थे स्रोताले । स्वतःस्फूर्त गीत हो, कुनै व्यक्तिविशेषको वास्तविक घटनालाई आधार मानेर लेखिएको होइन भनेर उनीहरुले उत्तर दिए पनि कसैले विश्वास गर्दैनथे उनीहरुको कुरा । ‘यो गीत स्वस्फूर्त रुपमा आएको हो ।

धेरैले अनुमान गरे जस्तो हामी दुवै जनाको जीवनसँग यो गीतको कुनै साइनो छैन,’ विनोदले प्रष्ट पारेका थिए, ‘यो आमा मान्छेको जीवनसम्म मेल खाने गीत हो । सबैको पिर, वेदना अटाएका छन् यो गीतमा । त्यसैले पनि यो गीत चर्चित र कालजयी भयो ।’

गीतले सफलताको खुड्किलो चढ्दै गयो । त्यही गीतले अरुणलाई नेपाली संगीताकाशका कहिल्यै नअस्ताउने तारा बनायो । त्यसपछि अरुणले अन्य गीत गाए । उनले गाएका सबै गीत उत्तिकै लोकप्रिय बने । विनोदले पनि धेरै गीत लेखे । तर ‘जति माया लाए पनि’ यही एउटै गीतमा दुवैले विश्राम लिए ।

त्यो गीत बज्दै गयो । गीतले दुवैजनालाई सबै सामु चिनायो । यो गीत यति लोकप्रिय भयो की दिनकै रेडियोमा उनीहरुको नाम बज्न थाल्यो । ‘यो गीतले गायक र गीतकार दुवैलाई चुचुरोमा पुर्‍यो, त्यहाँभन्दा माथी जाने त कुनै ठाउँ थिएन,’ विनोदले भनेका थिए, ‘जाने ठाउँ नै नभएपछि मैले पनि उसका लागि गीत लेखेन उसले पनि गाएन ।’

बिडम्बना ०५६ साउन ५ गते काठमाडौंको एउटा गेस्टहाउसमा अरुण थापामगरको निधन भयो । विनोदको पनि २०७० पुस २० गते देहावसान भयो । भौतिक रुपमा अरुण र विनोद नरहे पनि सम्पूर्ण नेपालीका मनमुटुमा छाएका छन्– ‘जति माया लाए पनि… ।

 


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • स्थानीय तह थप कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले हालै सरकारले गरेको स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडा र सपना मल्ल प्रधानको इजलासले यस्तो आदेश दिएको हो । संघीय...

  • राजपा चुनावमा नआउने

    राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय चुनाव वहिष्कार गर्ने आन्दोलन गर्ने भएको छ । राजपाको शुक्रबार भएको बैठकले स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने निर्णयसमेत गरेको छ । सरकारले संविधान...

  • पाेखरा महानगरमा एमालेकाे जीत ठ्याक्कै डबल, २२ भर्सेज ११

    पोखरा लेखनाथ महानगरपालिकाकाे अन्तिम नतिजा अाएकाे छ । कूल ३३ वडासहित देसकै ठूलाे महानगर पाेखरामा अन्ततः नेकपा एमालेले बाजी मारेकाे छ । ३३ वडामध्ये २२ वटाकाे अध्यक्षमा नेकपा एमालेले जीत...

  • मानबहादुरकाे मेयर यात्रा

    क्याम्पस पढ्न एक ठिटो झोला भिरेर सहर आइपुग्यो । उच्च शिक्षा लिन गाउँबाट सहर आइपुगेको तन्नेरीले मनको चर्खा पढाइमा भन्दा अन्तै घुमाइरहेको थियो । उसलाई पढ्ने होइन लाहुरे हुने भूत...

Ad
Ad
Ad