• Ad
  • Ad

Samadhan National Daily

  • Ad

कास्की कांग्रेसमा जब महिला नेतृले बाेल्न पाएनन् …

पाेखरा, २५ पौष:

नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालय चिप्लेढुंगामा आइतबार वेबसाइट शुभारम्भ कार्यक्रम थियो । कार्यक्रम १ बजेदेखि साढे ३ बजेसम्म चल्यो । कांग्रेस कास्कीका उपाध्यक्ष हरि आचार्यले स्वागत गरेपछि वेबसाइट निर्माणको जिम्मेवारी पाएका सदस्य नविन सिग्देलले साइट र त्यसमा समेटिएका विषयमा जानकारी गराए ।

त्यसपछि नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले वेब साइटको शुभारम्भ गरे । साइटको शुभारम्भपछि सुरु भयो शुभाकामना मन्तव्य । शुभकामना मन्तव्यका लागि नेपाली कांग्रेस कास्कीका सचिव एवं कार्यक्रमका सञ्चालक रामराज लामिछानेले क्षेत्रीय सभापति पोषनाथ शर्मा, नेता खेमराज पौडेल, ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, पूर्व राज्य मन्त्री महादेव गुरुङ, नेता शुक्रराज शर्मा र नेपाली कांग्रेस कास्कीका पूर्व सभापति एवं सांसद यज्ञबहादुर थापालाई बोलाइसकेका थिए ।

यज्ञबहादुर थापालाई भाषणका लागि बोलाउँदै गर्दा सचिव लामिछानेले यो कार्यक्रम लगत्तै किसान संघको कामर्यक्र रहेको र समय पावन्दीले महिलालाई प्रतिनिधित्व गराउन सकिएन भने । त्यसपछि महिला नेतृ, कार्यकता आक्रोशित भए । उनीहरु कार्यक्रम नै छाडेर हिड्न खोजेपछि बोल्दै गरेका थापाले ‘बस्नोस, बस्नोस राम्रो हुँदैन’ भने । त्यति भन्दा पनि नमानेपछि फेरि यज्ञबहादुर थापाले ,‘ महिलालाई संविधानले कति धेरै अधिकार दिएको छ, बोल्न पाइन भनेर रिसाउनु हुँदैन ।’ त्यसो भन्दा पनि महिला कार्यकर्ताको आक्रोश रोकिएन । केही नेता, कार्यकर्ता उठेर उनीहरुलाई बसाए ।

थापाले बोली सकेपछि महिलाको आक्रोश देखेर सचिव लामिछानेले छोटो मन्तव्यको लागि सांसद शारदा पौडेललाई बोलाउँदा महिलाले खुसी हुँदै हुटिङ गरे । बोल्ने क्रममा सांसद पौडेलले पनि बोल्ने लिस्टबाट हटाइएको प्रति गुनासो गर्दै भनिन्,‘आन्दोलनको मोर्चामा महिला नै अगाडि, अप्ठ्यारो पर्दा महिला नै अगाडि हुन्छन्, तर, महिलालाई किन अपहेलना गरिन्छ ?, तपाईहरुलाई यो प्रश्न छोड्छु । ’

महिलाहरुको आक्रोशलाई साम्य पार्न सचिव लामिछानेले सांसद वृन्दादेवी रानामगरलाई पनि बोल्न बोलाए । उनले पनि महिलाकै कुरा उठाइन् । ‘महिलाका मुद्धामा संसदमा सबै पार्टीका महिलाहरु एक जुट हुन्थ्यौं,’ उनले भनिन्,‘ महिलालाई बोल्न नदिएकोमा तपाईहरुले पनि कार्यक्रम बहिष्कार गर्ने आँट देखाउनु भयो, म सलाम गर्छु ।’ महामन्त्री कोइरालाले पनि बोल्ने क्रममा महिलाको प्रसंग निकालि हाले । ‘महिला कार्यकर्ताको सक्रियताले नै मैले २ पटक चुनाव जितेको हो,’उनले भने,‘ महिलालाई अपमान होइन, सम्मान गर्नुपर्छ ।’

कार्यक्रमको बिट मार्ने बेलामा सचिव लामिछानेले कार्यक्रम सञ्चालन गर्दा कमी कमजोरी भएको भए क्षमा माग्दछु भन्दै कार्यक्रम समापनको लागि सभापति कृष्ण केसीलाई पोडियममा बोलाए । केसीले पनि प्राविधिक कारणले कार्यक्रम सञ्चालनमा कमजोरी भएको स्वीकारे । ‘कास्की कांग्रेस र किसानसँगको कार्यक्रम जुधेर समय व्यवस्थापनले गर्दा केही कमजोरी भएको हो,’ उनले भने,‘यसलाई नियतबस गरेको भनेर नबुझ्न सबैलाई आग्रह गर्दछु ।’

कार्यक्रम सञ्चालन गर्ने सचिवले महिलालाई बोल्न सकिएन, नभनेको भए महिलाहरु आक्रोसत नहुने भन्दै कार्यकर्ताहरु एक आपसमा कानेखुसी गर्दै थिए । ९ जना पुरुष नेता बोलिसक्दा पनि दुई जना महिला सांसद नै कार्यक्रममा हुँदा बोल्ने लिस्टबाट हटाउनु कमजोरी नै भएको एक कार्यकर्ताले बताए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad