• Ad
  • Ad

Samadhan National Daily

  • Ad

पोखरा–लेखनाथ जोडेर ३ बाइपास रोड बनाउन बजेटसहित नयाँ याेजना

पार्किङ भवन बनाउनेलाई राजस्व छुट

पाेखरा, २६ पौष:

तीनवटा मुख्य राजमार्ग जोडिएको पोखरा भित्रन त्यो भन्दा अर्को वैकल्पिक सडक छैन ।

पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र भूपी शेरचन राजमार्ग जोडिएका जिल्ला आउजाउ गर्न पोखराको मुख्य बजार नै प्रवेश नगरी धरै छैन ।

त्यसो हुँदा एक त बाटो लामो पर्छ, अर्को सवारी चापले ट्राफिक व्यवस्थापन चुनौती र दुर्घटना पनि निम्त्याएको छ । त्यसको विकल्पको रुपमा पोखराको मुख्य बजार प्रवेश गर्नै नपर्ने गरी ३ बाइपास रोड निर्माण गर्ने योजना अगाडि सारिएको हो ।

पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाको लागत साझेदारीमा लेखनाथ र पोखरा जोडेर ३ वैकल्पिक सडक निर्माण थालिने भएको छ । यी वैकल्पिक सडक बनाउन पहिलो चरणमा पोखराले साँढे १ करोड छुट्याउन लागेको र लेखनाथले ३० लाख रुपैयाँ छुट्याएको बजेट पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाका दुवैका कार्यकारी अधिकृत नवराज ढुंगानाले जानकारी दिए ।

‘पहिलो चरणमा काम थाल्न यो रकम छुट्याइएको हो,’ कार्यकारी ढुंगानाले भने, ‘पछि सहकार्य बढ्दै जान्छ, दाता खोजिँदै गइन्छ र बजेट थपिँदै जान्छ ।’ ग्रेटर पोखराको अवधारणा अनुरुप वैकल्पिक सडक निर्माण योजना अगाडि सारिएको हो ।

पृथ्वी राजमार्ग लेखनाथको काेत्रे खोलादेखि बागमारा, दोबिल्ला, महतगौंडा, तारोपैह्रा हुँदै बिरौटा जोडेर सडक निर्माण गरिनेछ । बिरौटा आसपास र स्याङ्जा, पाल्पा आउजाउ गर्न पृथ्वीचोक नै पुग्न नपर्ने भएपछि यसले सवारी चाप घट्नुका साथै समयसमेत बचत हुनेछ ।

यस्तै विजयपुरदेखि बिपीमार्ग, गौडाको मुख, गुम्बाफेदी, महाकालेश्वर मार्ग, धराहरा फूलबारीमार्ग, नारायणथान, नदीपुर हुँदै बागलुङ राजमार्ग जोडिने अर्को वैकल्पिक सडक निर्माण हुनेछ । यसले पृथ्वीराजमार्ग हुँदै पुग्ने जिल्ला र सिद्धार्थ राजमार्ग हुँदै पुग्ने जिल्ला ओहोरदोहोर गर्न यो सडक उत्तम विकल्प हुने विश्वास लिइएको छ ।

तालचोकदेखि रिठ्ठेपानी हुँदै विजयपुर पुल, सहिद विद्यालय, भोटेचौतारा, मनकामना टोल, भेडीफार्म, वन क्याम्पस, हरियोखर्क अस्पताल, सेती नदी पुल, तीनकुने चोक हुँदै विरौटासम्म अर्को वैकल्पिक सडक निर्माणको योजना अगाडि बढाइने छ ।

प्रस्तावित बाइपास रोड

–लेखनाथको कात्रे खोलादेखि बागमारा, दोबिल्ला, महतगौंडा, तारोपैह्रा हुँदै बिरौटासम्म
– विजयपुरदेखि बिपीमार्ग, गौडाको मुख, गुम्बाफेदी, महाकालेश्वर मार्ग, धराहरा फूलबारीमार्ग, नारायणथान, नदीपुर हुँदै         बागलुङ राजमार्ग जोड्ने
–तालचोकदेखि रिठ्ठेपानी हुँदै विजयपुर पुल, सहिद विद्यालय, भोटेचौतारा, मनकामना टोल, भेडीफार्म, वन क्याम्पस,          हरियोखर्क अस्पताल, सेती नदी पुल, तीन कुने चोक हुँदै बिरौटासम्म

‘यी ३ वैकल्पिक सडकले पोखरा मुख्य बजारको ट्राफिक व्यवस्थापन सहज त बन्छ नै सडक सञ्जालले अन्य ठाउँमा पनि विकास लैजान्छ,’ पोखरा उपमहानगरपालिकाका सामाजिक महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले भने ।

पोखरा र लेखनाथ जोडेर बन्ने महानगरपालिकाको समग्र विकासमा पनि यसले ठूलो अर्थ राख्ने काफ्लेको विश्वास छ । पुस अन्तिमतिर हुने पोखरा परिषद्ले वैकल्पिक सडक निर्माणका लागि बजेट पारित गर्नेछ भने सोमबार भएको लेखनाथ परिषद्ले बजेट पास गरिसकेको छ ।

महानगरपालिका घोषणा भएपछि पनि यसलाई फलो गर्दै लैजाने र सडक विभाग तथा नेपाल सरकारलाई गुहारेरै भए पनि वैकल्पिक सडक निर्माण गर्नुपर्ने वरिष्ठ इन्जिनियर काफ्लेको भनाइ छ ।

सवारी साधनको चाप र ट्राफिक व्यवस्थापन समस्याले पोखरा अस्तव्यस्त बन्दै गएपछि त्यसको विकल्पको खोजी हुनेपर्ने जनआवाजसमेत उठ्दै आएको थियो । यातायात व्यवस्था कार्यालय पोखरामा मात्र अहिलेसम्म १ लाख ५२ हजारभन्दा बढी सवारी साधन दर्ता भएका छन् । त्यसमा दैनिक ६० प्रतिशत पोखरा आउजाउ गर्छन् भने बाहिर दर्ता भएर पोखरा ओहोरदोहोर गर्ने सवारी साधनको चाप पनि उत्तिकै बढी छ ।

पुरानै संरचनाका साँघुरा सडक र बढ्दो सवारी साधन चापले अहिले पोखराको पृथ्वीचोक, समागृह चोक, पालिखेचोक, चिप्लेढुंगा लगायत क्षेत्रमा ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको छ । ट्राफिक व्यवस्थापनकै लागि भनेर मुख्य चोकका ठूला आइल्यान्ड व्यवस्थापन गर्ने यसअघिनै सर्वपक्षीय सहमति भइसकेको छ ।

दुर्घटना न्यूनीकरण गर्न ग्रिन डिभाइडर निर्माण, ट्रासिक आइल्यान्ड निर्माण तथा मर्मत गर्न १० लाख रुपैयाँ वजेट विनियोजन गरिएको छ ।

पार्किङ भवन बनाउनेलाई राजस्व छुट
पोखरा उपमहानगरपालिका क्षेत्रभित्र बढ्दो सवारी चाप घटाउन सरोकारवाला संस्थाको सहयोगमा साझा संयन्त्र बनाई पार्किङ प्रभावकारी बनाइने भएको छ । त्यसका लागि ३० लाख रुपैयाँ विनियोजन हुनेछ ।

निजी क्षेत्रबाट पार्किङ प्रयोजनका लागि तोकेर पार्किङ क्षेत्र निर्माण गरे राजस्व दस्तुर तथा पार्किङ प्रयोजनका लागि भवन निर्माण गर्ने स्वीकृति लिन आए सबै नक्सा पास दस्तुर छुट दिने नीति नगरपालिकाले अगाडि सारेको छ ।

घरजग्गा कर नियममा तोकिएबाहेक अन्य छुट दिने नगरपालिकाले जानकारी दिएको छ । पार्किङ क्षेत्र निर्माण गरिए सो क्षेत्रमा १ किलोमिटर आसपास पार्किङ निषेधित क्षेत्र तोकी प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad