• Ad
  • Ad

Samadhan National Daily

  • Ad

दूध तस्करविरुद्ध छानबिन गर्न उपभाेक्ता मञ्चले उजुरी दियाे

पाेखरा, २७ पौष:

ताजा र स्वस्थकर भन्दै पोखरेली उपभोक्तालाई ३ दिनको बासी दूध बिक्री गर्ने दूध तस्करलाई कारवाहीको माग गर्दै उजुरी दर्ता भएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चले दूध तस्कर विरुद्ध आपूर्ति व्यवस्थापन तथा हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पुस २४ गते उजुरी दिएको हो ।

मञ्च अध्यक्ष प्रेमलाल महर्जनले पोखरेली उपभोक्तालाई गुमराहमा पार्दै सयौं किलोमिटरबाट ल्याएको दूध बिक्री गर्नेलाई कडा कारवाहीको माग गर्दै उजुरी दिइएको जानकारी दिए । पोखरा आएका अध्यक्ष महर्जनले भने, ‘पोखरामा दूधको बारेमा समाचार आएपछि हाम्रो ध्यानाकर्षण भएको हो, यहाँका उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड भएको रहेछ ।’

दूध तस्करलाई खाद्य ऐन २०२३ तथा नियमावली २०२७ र अन्य प्रचलित ऐन कानून अनुसार कडा भन्दा कडा कारबाही गर्न मञ्चले आग्रह गरेको छ । अस्वस्थकर दूधको अबैध कारोबार भइरहेको विषयमा उचित छानबिन गर्न र दोषी उपर काराबाही गर्न माग गरिएको अध्यक्ष महर्जनले बताए । उनले भने, ‘कास्की प्रशासनले यसलाई गम्भिरतापूर्वक लिँदै आवश्यक छानबिन गर्न समेत हामीले माग गरेका छौं ।

सम्बन्धित निकायमा दर्ता गरी अनुज्ञा पत्र लिएर उद्योग सञ्चालन गरेपछि मात्र प्रचलित नियम कानुनअनुसार खाद्य पदार्थको बिक्री वितरण गर्न पाइने प्रावधान छ । अखाद्य पदार्थ मिसाइ वा मापदण्ड विपरीत बाहिरबाट दूध ल्याएर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको पाइएमा उपभोक्ता ऐन २०५४ को दफा १० बमोजिम दोषीले ३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।

रामबजार कालिकाचोकका वसन्त सुवेदीले नवलपरासी छाउपट्टीका तस्करसँग मिलेर धन्दा चलाउँदै आएका थिए भने डिहिकोपाटनका निर्मल भण्डारीले कपिलवस्तुबाट दूध ल्याएर पोखरा बेच्दै आएका थिए । जिल्ला अनुगमन समितिले तस्करीको दूध बिक्रीमा रोक लगाएको छ ।

उद्योगले बेच्ने दूधमा उत्पादन र प्रयोग गर्न मिल्ने मिति, गुलियो र चिल्लोको मात्रा उल्लेख गरेर प्याकेजिङ लगायत मापदण्ड पूरा गर्नुपर्छ । तर तस्करीको दूधमा कुनै मापदण्ड पूरा गरिएको छैन । पोखरामा कपिलवस्तुबाट दैनिक ६ हजार लिटर र नवलपरासीबाट दैनिक ८ सय लिटर दूध भित्रयाइँदै आएको थियो ।

स्थानीय किसानसँग ४५ देखि ५० रुपैयाँ लिटरमा किनेर पोखराको बजारमा १ सयदेखि १ सय २० रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो । खरिददर र बिक्रीदर बीच १ लिटरमा ५० देखि ७० रुपैयाँसम्म नाफा खाने गरेको खोजबिनका क्रममा पाइएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चले टाढाबाट ल्याएर बेचिने खुला दूध उपभोग नगर्न सम्पूर्ण उपभोक्तालाई आग्रह गरेको छ । गाई भैंसीबाट दुहिएको दूध बिना प्रशोधन १२ घन्टा पछि पिउन योग्य नहुने भन्दै मञ्चले यस्तो आग्रह गरेको हो । टाढाबाट खुलारुपमा ल्याइएको दूधमा अखाद्य पदार्थ मिसावट हुन सक्ने र त्यसले स्वास्थ्यमा प्रतिकूल असर पर्नेतर्फ सचेत रहन उपभोक्तालाई मञ्चले आग्रह गरेको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष महर्जनले यहाँ विभिन्न जिल्लाबाट बिना प्रशोधन ल्याएर बिक्री गरिएको दूधमा अखाद्य तत्वहरु सोडा मात्र नभएर र हाइड्रो पेरो अक्साइड मिश्रणगरेको हुनसक्ने बताए ।

‘यो मेरो अनुमान हो, ३ सय किलोमिटर परबाट पोखरा दूध ल्याउन त्यत्तिकै सम्भव छैन, अनुसन्धानपछि वास्तविकता थाहा हुनेछ,’ महर्जनले भने । उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइरालाले उभोक्ताको भावनामाथि खेलवाड गर्ने काम सह्य नहुने बताए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad