• Ad
  • Ad

Samadhan National Daily

  • Ad

सिक्लेसैको मेलैमा, सिधै नजर जुधाउने को होला ?

पाेखरा, २७ पौष:

‘सिक्लेसैको मेलैमा
सिधै नजर जुधाउने को होला ?
भेट भाको बेलैमा …’ 

प्रजापति पराजुलीले लेखेर धनबहादुर गुरुङ र शान्ति गुरुङले गाएको यो गीतले धेरैको मन जित्यो । गुरुङ फिल्म रिमै मयुमैं सैँ अर्थात युवायुवतीको मनमा समेटिएको गीत संगीत पारखीको मनमा डेरा जमाइरहेको छ ।

सिक्लेस नचिन्ने र नसुन्नेले पनि यो गीतबाट गाउँको नाम र मेलाबारे थाहा पाए । खासमा यो सिक्लेस मेला कुन समयमा लाग्छ र कहिलेदेखि सुरु भयो त ? ‘सिक्लेस मेलाको इतिहास सय वर्षभन्दा पुरानो छ,’ स्थानीय गुमानध्वज गुरुङले इतिहास जोडे, ‘माघे संक्रान्तिमा छेलो हान्ने मेलै लाग्थ्यो । छेलो जित्नेको वाहवाहीमात्रै हुन्थेन, उसले पुण्य कमाउने र शुभ हुने विश्वाससमेत थियो ।’

छेलो हान्नेको ठूलो भीड लाग्ने र छेलो जित्नेलाई बोकेर गाउँ घुमाउने चलन अझै पनि छ । छेलो हान्ने सिक्लेसी मेला अहिले फराकिलो बन्दै निरन्तर चलिरहेको छ । ‘छेलो हान्ने मेलासँगै म्हउदु र फैमक्युमा तीर्थालुको भीड लाग्थ्यो,’ गुमानध्वजले सम्झे, ‘फैमक्युका ७ वटा धारामा को पहिले नुहाउने भन्ने हुन्थ्यो । पहिलो हुनलाई जागराम बसेर २ बजेदेखि नै नुहाउनेको लाम लाथ्यो ।’

सिक्लेसमा लगभग सबैजसो परिवार गुरुङ जातिका छन् । सिक्लेसका तीर्थस्थलदेखि धेरै ठाउँको नाम गुरुङ भाषाबाटै राखिएको छ । ‘सिक्लेसी गुरुङको संस्कृतिसँग जोडिएका थुप्रै मठमन्दिर, ठाउँका नाम छन् । तिनको नाम लिनासाथ सिक्लेसीलाई आफ्नोपन महसुस हुन्छ,’ स्थानीय भीमराज गुरुङले भने, ‘सिक्लेसको जेठो संस्कृतिसँगै जोडिएर आउने मेला हो माघे संक्रान्ति मेला ।’ आफूले थाहा पाउँदादेखि नै माघे संक्रान्ति मेलाको छुट्टै महत्व र पर्वको रुपमा सिक्लेसीले मनाउने गरेको क्याप्टेन गुमानध्वजको भनाइ थियो ।

sikes

‘सिक्लेसका गुरुङ देशका विभिन्न ठाउँमा पुगेका छन् । यहाँको संस्कृति पुग्न सकेको छैन । सिक्लेसको प्रचार हुन सकेको छैन,’ उनले भने । पछिल्लो दुई दशकदेखि भने यो माघे संक्रान्ति मेलालाई निरन्तरता दिने काम सिक्लेसका युवाले गरेका छन् । ‘सिक्लेसको इतिहास, संस्कृति र गौरवसँग जोडिएको माघे संक्रान्ति मेलालाई संरक्षण गर्ने काम युवाले नेतृत्व गर्दै आएका छन्,’ स्थानीय युवा तथा पत्रकार देवीजंग गुरुङले भने, ‘सिक्लेस युवा क्लबले २२ औं वार्षिकोत्सव र माघे संक्रान्ति मेला एकसाथ मनाउन लागेको हो ।’

अहिले माघे संक्रान्ति मेलालाई पर्यटन र आर्थिक उपार्जनको दृष्टिकोणबाट पनि हेर्न थालिएको छ । सिक्लेसका सबै घरलाई होमस्टेको रुपमा विकास गरिएको छ । ‘लाहुरे संस्कृतिसँग जोडिएको सिक्लेसमा अहिले थुप्रै घर गाउँबाट विस्तापित भइसके, तर गाउँप्रतिको लगाव र सम्मान छाडेका छैनन्,’ देवीजंगले भने, ‘सिक्लेसमा जति घर छन्, सबैमा होमस्टे सञ्चालन गरेका छौं ।’ गाउँमा ठूला होटल पनि खुलेपछि सिक्लेस पुग्नेलाई गास, बासको कुनै समस्या नपर्ने क्लबका अध्यक्ष मीलन गुरुङले बताए ।

अहिले ऐतिहासिक माघे मेलालाई नै लक्ष्य गरेर क्लबले पर्यटक भिœयाउन विभिन्न कार्यक्रम गर्दैछ । ऐतिहासिक छेलो हान्ने प्रतियोगिता, स्थानीय तीर्थस्थल म्हउदु र फैमक्युमा जात्रा, लोपोन्मुख घुर्रा, गाउँस्तरीय सामूहिक नृत्य प्रतियोगिता, आमा समूहको ह्याकुचे खेल प्रतियोगिता, तातोपानी तथा रिसिधुँडाँडा हाइकिङ, खुला महिला तथा पुरुष भलिबल लगायत प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ ।

सिक्लेसका थुप्रै सामाजिक तथा सांस्कृतिक काम धेरैजसो सहयोगबाटै भएका छन् । यसपटकको मेलालाई पनि घरदेश र परदेशमा रहेका सिक्लेसीले सहयोग गरेका छन् ।

पोखरा काहुँखोलादेखि ४२ किलोमिटर पार गरेपछि सिक्लेस पुगिन्छ । कच्ची सडक हुँदै गाडीलाई ४ सय रुपैयाँ तिरेपछि सिक्लेस पुग्न सकिन्छ । सिक्लेसको पारिपट्टि ताङतिङ गाउँ छ । स्थानीय परिकारको स्वाद लिन, गुरुङ कला, संस्कृतिमा रमाउन र सूर्योदय, हिमशृंखलाको दृश्यावलोकका लागि पनि सिक्लेस पुग्नैपर्ने ठाउँ हो ।

माघे संक्रान्तिको मेला गर्न पुग्ने आन्तरिक तथा वाह्य पर्यटको स्वागत गर्न सिक्लेसी आतुर छन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad