माछापुच्छ्रे गाउँपालिकामा आन्तरिक चुनावबाट एमालेका उम्मेदवार सिफारिस

एमाले पोखराले भने तय भएको मतदान रोकेर सबै आकांक्षीको माथिल्लो कमिटीमा पठाएको छ

समाधान संवाददाता २०७९ वैशाख २ गते १९:२१

पोखरा ।
नेकपा (एमाले)ले माछापुच्छ्रे गाउँपालिकामा आन्तरिक मतदानबाट अध्यक्ष र उपाध्यक्षको नाम सिफारिस गरेको छ ।
शुक्रबार भएको आन्तरिक मतदान चुनावबाट अध्यक्षमा विक्रम गुरुङ, लालबहादुर परियार र भगवती गुरुङ चुनिएका हुन् । आन्तरिक निर्वाचनमा अध्यक्षकी आकांक्षी बहालवाला माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी पराजित भएको निर्वाचन कमिटी सदस्य आएच शर्माले जानकारी दिए ।


पालिका उपाध्यक्षमा वृतुमाया तामाङ गुरुङ, पार्वती जिसी र सीता तिवारी सिफारिस भएका छन् । अध्यक्षमा १० र उपाध्यक्षमा ७ जनाको उम्मेद्वारी परेको थियो । निर्वाचन कमिटी संयोजकमा महेश्वर पोखरेल र सदस्यमा शैलेन्द्र क्षेत्री थिए ।


एमाले पोखरा महानगर कमिटीले मेयर र उपमेयरका लागि दर्ता भएका सबैको नाम जस्ताको तस्तै माथिल्लो कमिटीमा पठाउने निर्णय गरेको छ । मेयर र उपमेयर सिफारिस गर्न आन्तरिक मतदान नगरी उम्मेद्वारी दर्ता भएका सबैको नाम जिल्ला कमिटी कास्कीमा पठाउने निर्णय भएको अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिए ।

Advertisement

निर्वाचन कमिटीले सार्वजनिक गरेको कार्यतालिका अनुसार मेयरमा एमालेबाट १२ र उपमेयरमा ९ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । आन्तरिक निर्वाचनबाटमेयर र उपमेयरमा १ महिलासहित ३ जनाको नाम सिफारिस गर्ने तयारी भएको थियो ।

Advertisement


अन्तिम चरणमा आएर कमिटीले सबै उम्मेद्वारको नाम सिफारिस गरेको हो ।निर्वाचन कार्यतालिका अनुसार मतदान गर्ने बेलामा कमिटीको ५ औं पूर्ण बैठक बसेर सबै उम्मेद्वारको नाम पठाउने सहमति भएको अध्यक्ष न्यौपानेले बताए ।अब मेयर र उपमेयरको टुंगो एमाले केन्द्रीय कमिटीले लगाउने छ । नगर कमिटीले जिल्ला र प्रदेश कमिटीमा सिफारिस गरेका नामबाट पार्टी केन्द्रले उम्मेदवार छान्ने छ ।


अध्यक्ष न्यौपानेले कमिटीले पार्टीको एकतालाई मजबुद बनाउन आन्तरिक निर्वाचन नगरेको तर्क गरे । ‘आन्तरिक चुनावले पार्टी पंक्तिलाई एकताबद्ध बनाउन नसक्ने, कार्यकर्ताको मनोबल गिराउन सक्ने भएकाले सोंची विचारी सुझबुझका साथ निर्वाचन नगरी सबै उम्मेद्वारलाई माथिल्लो कमिटीमा पठाउने निर्णय गरेका हौं,’अध्यक्ष न्यौपानेले भने, ‘प्रतिष्ठाको लडाई नभएर पार्टीलाई एकताबद्ध बनाउन यो विधि अपनाइएको हो ।’


उनले आन्तरिक निर्वाचनको असर स्थानीय चुनावसम्म कायम रहन सक्ने भएकाले चुनाव नगरेको सुनाए ।मेयर, उपमेयरका आकांक्षीलाई उम्मेदवारी फिर्ता गर्न केन्द्र, जिल्ला र नगरका नेताले व्यक्तिगत तथा सामूहिक प्रयास गरे पनि सफल भएन ।
अध्यक्ष न्यौपानेले कमिटीले १ महिलासहित ३ जनाको नाम सिफारिस गर्न अधिकार पाएपनि अन्तिम निर्णय गर्न नसक्ने उल्लेख गरे । दुई विकल्पमध्ये ३ जनाको नाम सिफारिस गर्न नसकेको र निर्वाचन प्रक्रियामा पनि नगएपछिसबैको नाम पठाएको जानकारी दिँदै उनले महानगर, जिल्ला, गण्डकी प्रदेश, केन्द्रसम्म चरण चरणमा छलफल गर्दा नेताको मन दुख्ने र कार्यकर्तामा हुने ध्रुविकरण रोक्न त्यस्तो विधि अपनाएको न्यौपानेले बताए ।


पार्टीका महानगर कमिटी सचिव जीवनप्रसाद आचार्यले पार्टी एकतालाई मजबुत बनाउन र पोखरा महानगरमा एमालेलाई जिताउन आन्तरिक निर्वाचन नगरेको बताए । उनले पार्टीमा हार्दिकता बढाउन र अन्तर विरोध घटाउन कमिटीले सर्वसम्मत निर्णय गरेको सुनाए ।


निर्वाचन कमिटीमा मेयरका लागि केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीले उम्मेद्वारी दर्ता गरेका थिए ।


उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बिनुकुमारी गुरुङ, बलराम गायक र सुष्मा पौडेलले उम्मेद्वारी दिएका थिए । कमिटीको बैठकमा उपमेयरमा आकांक्षा व्यक्त गरेका सञ्जीवबहादुर कोइराला, बैनबहादुर अधिकारी क्षेत्री र हरिमाया गुरुङले शुक्रबार निर्वाचन कमिटीका उम्मेद्वारी दर्ता गराएनन् ।


कास्कीको मादी गाउँपालिकाबाटअध्यक्ष तथा उपाध्यक्ष सिफारिस गर्नका लागि लागि शुक्रबार औपचारिक छलफल भए पनि निर्णय भएन । पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा सहजीकरण समिति संयोजक पदमप्रसाद पौडेलले अध्यक्षका आकांक्षीसँग अन्तक्र्रिया गर्दा उम्मेद्वारी फिर्ता गर्नुभन्दा सबैको नाम माथिल्लो कमिटीमा पठाउन सहमत भएको बताए ।उपाध्यक्षका आकांक्षी भने सहजीकरण समिति गरेको निर्णय मान्न सहमत भएको उनले जानकारी दिए । पौडेलले भूगोल, जातजातिको सन्तुलन मिलाएर पहिला अध्यक्ष टुंगाएर उपाध्यक्षमा जाने रणनीति बनाएको बताए ।


मादीमा अध्यक्षका लागि विष्णुमाया पौडेल आचार्य, बालकृष्ण गुरुङ, बुद्धिसागर सापकोटा, शिव गुरुङ (महेन्द्र), पसबहादुर बास्तोला (श्याम), जसबहादुर गुरुङ र सुदीप सापकोटाको दाबी छ । उपाध्यक्षको लागि निर्मला सुवेदी, प्रतीक्षा पौडेल, राजु अधिकारी, सिर्जना अर्याल र कल्पना गुरुङले इच्छा जाहेर गरेका छन् ।


एमालेको अन्नपूर्ण गाउँपालिकामा बनेको सहजीकरण समितिले अध्यक्ष र उपाध्यक्षका आकांक्षीले नाम फिर्ता नलिए वैशाख ४ गते सबैको नाम माथिल्लो कमिटीमा पठाउने भएको छ । उम्मेद्वार छान्न आन्तरिक चुनाव नगर्ने जानकारी दिँदैसमितिका सदस्य दामोदर बैरागीले नाम फिर्ता लिनेको नाम हटाएर फिर्ता नलिनेको सबैको नाम सिफारिस गर्ने योजना सुनाए ।


पालिका अध्यक्षमा सुरेन्द्र गुरुङ, सगुन गुरुङ, विष्णु केसी, भरतमान गुरुङ, विवेक देवकोटा, गौरी सुवेदी, रमेश भण्डारी, सोमनाथ पौडेल, हरिकृष्ण भट्टराई, चन्द्रबहादुर गुरुङ र हरि शर्माले दाबी गरेका छन् । उपाध्यक्षमा चन्द्रा अधिकारी, कमला केसी, टंकदेवी सुवेदी र लक्ष्मी अधिकारीले पार्टीमा नाम दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया