Samadhan National Daily

      काजीसा’बकाे ‘फेसबुके चरित्र !’ 

      पाेखरा, ३१ जेठ:

      धेरै नेपालीको दुख बिसाउने, खुसी साटने, रोष प्रकट गर्ने, सूचना, समाचार पाउनेदेखि समय कटाउने माध्यम बनेको छ फेसबुक । फेसबुकमा कस्ता साथी बनाउने, कस्तालाई बेवस्ता गर्ने ?

      मेरो होटल यति छुट छ, मेरो कन्सल्टेन्सीमा आउनु, मेरो ट्रेनिङ सेन्टरमा निमन्त्रणा आदि । हुन त सामाजिक सञ्जालबाट व्यावसायिक फाइदा लिनु राम्रो हो तर सधैं त अरुलाई पनि वाक्क लाग्न सक्छ ।

      सामाजिक सञ्जालमध्ये फेसबुक अहिलेको समाजमा हेरेक व्यक्तिको एक अभिन्न अंग बन्दै गइरहेको छ । यसैको मद्दतले कतिपयले आफ्नो महत्वपूर्ण काम गरिरहेका छन् । जीवन जिउनको लागि बहानामात्रै होइन, आर्थिक उपार्जनका साथै सामाजिक व्यक्तित्वलाई समेत उचाइमा पुराउने काम फेसबुकले गरेको छ ।

      हुन त यसैको माध्यमबाट जघन्य अपराध देखि साना–ठूला ठगीका घटना पनि भइरहेको पाइन्छ । तर पनि यसको प्रयोग सहि तबरले गर्‍यो भने यसबाट फाइदा नै हुन्छ । यद्यपि यसको प्रयोगबाट हुने गरेका फाइदा र बेफाइदाहरुको जानकारी यहाँहरुलाई पहिलेदेखि नै छ । आज म कस्ता कस्ता व्यक्तित्वले फेसबुकमा के कस्ता सामाग्रीहरु पोस्ट गर्ने गर्दछन् र तिनीहरुलाई हामीले कसरी लिने भन्ने बारे सानो जानकारी गराउन गराउँदै छु ।

      विभिन्न फेसबुक प्रयोगर्ताहरुले गर्ने गरेको पोस्ट, कमेन्ट र लाइकको आधारमा विभिन्न समयमा अनुसन्धान गरी फेसबुक प्रयोगकर्तालाई निम्नानुसार वर्गीकरण गरिएको छः

      स्टाटस बाबा र बज्यै
      यस्ता व्यक्ति जो मिनेट मिनेटमा स्टाटस अपडेट गर्ने गर्छन् । जे कुरामा पनि बीचमा बोली हाल्नुपर्ने, आफ्नो विचार व्यक्त गरी हाल्नु पर्ने यिनीहरुको बानी हुन्छ । यिनीहरुलाई हटाउनु पर्दैन । यिनीहरुबाट देश–विदेशमा के घटना घट्यो भन्ने कुरा थाहा पाउन सकिन्छ ।

      अवस्थाकारी
      यो वर्गमा पर्नेहरुले जे काम गरे पनि फेसबुकमा हाजिर गरी हाल्छन् । खाँदै गरेको अवस्था, पिउँदै गरेको अवस्था, सुत्न लागेको अवस्था, निदाएको अवस्था, कुन दिन सपना देख्दै गरेको अवस्था लेख्न बेर छैनन् । यस्ता मान्छेलाई नहटाउँदा पनि हुन्छ । कहिलेकाही हाँस्ने मौका मिल्छ ।

      चियोचर्चोकार
      यस्ता मान्छेहरू आफूले फेसबुकमा कुनै अपडेट गर्दैनन् तर अरुका प्रोफाइल र फोटा खोजीखोजी हेर्छन् । अरुकै बारेमा चियो गर्न उनीहरुले फेसबुक खोलेका हुन्छन् भन्दा फरक नपर्ला । चाहे जतिसुकै राम्रो स्टाटस र फोटो राख्नु होस्, उनीहरुले लाइक, कमेन्ट र सेयर गर्लान भनेर आशा नगरे हुन्छ ।

      स्टाटस चोर
      यिनीहरुले अरुको राम्रा राम्रा स्टाटसहरु चोरेर आफ्नो टाइम लाइनमा कपी पेस्ट गर्ने गर्दछन् । यस्तालाई हटाउने मात्रै होइन ब्लक नै गरिदिए पनि हुन्छ । यिनीहरुलाई बौद्धिक चोर पनि भन्ने गरिन्छ ।

      बिजनेसखोरी
      यो कोटीमा पर्ने मान्छेहरुले सधैं फेसबुकमा आफ्नो बिजनेसको प्रचार मात्र गरिरहेका हुन्छन् । मेरो होटल यति छुट छ, मेरो कन्सल्टेन्सीमा आउनु, मेरो ट्रेनिङ सेन्टरमा निमन्त्रणा आदि । हुन त सामाजिक सञ्जालबाट व्यावसायिक फाइदा लिनु राम्रो हो तर सधैं त अरुलाई पनि वाक्क लाग्न सक्छ ।

      हनुमानगिरी
      यि यस्ता व्यक्तिहरु हुन् जो आफ्नो आङमा भैंसी हिँडेको देख्दैनन् अरुको जुम्रा पनि देख्छन् । कुनै पार्टी र कुनै नेता या कुनै व्यक्ति–विशेषलाई भगवान् ठान्छन् । उनीहरुको बोली नै यिनीहरुलाई महान वाणी हुन्छ । यिनीहरुलाई राख्न या हटाउन जे मन पर्छ त्यही गर्नू ।

      क्यान्डीक्रस क्रेजी
      कहिलेकाँही तपाईंलाई नोटिफिकेसन आउँछ अनि खोलेर हेर्दा फलानो ‘इन्भाइटेड यु टु प्ले क्यान्डि क्रस’ भन्छ । यदि यस्तो आयो भने त्यो व्यक्तिलाई सिधैं ब्लक नगर्नु होला किनकी त्यो भाइरसले गर्दा पनि हुन सक्छ । कहिलेकाँही क्यान्डी क्रस तथा अन्य मोबाइल गेम खेल्ने खेल्नेहरुले पनि आफ्नो लेवल बढाउनका लागि निमन्त्रणा पनि पठाउने गर्छन् । बरु नोटिफिकेसन अफ गरिदिनू, त्यति गरे पुग्छ ।

      शेयरवाला
      यस्ता व्यक्ति सिर्फ अरुको स्टाटस र पोस्टहरु सेयर गर्ने गर्छन् । यिनीहरुलाई जस्ले जे लेख्यो, पोस्ट गर्‍यो मतलब हुँदैन सिर्फ राम्रो राम्रो पोस्टहरु सेयर गर्न पाए पुग्छ । यस्तालाई हटाउनु हुँदैन, तपाईंको फेसबुके कृति फैलाउने यिनीहरु नै हुन् ।

      लाइकवाला, वाली
      यस्ता व्यक्तिहरुले जस्ले जे लेखोस्, जे पोस्ट गरोस् तुरुन्त लाइक दिइहाल्छन् । यिनीहरुलाई राख्नुपर्छ । तपाईको पोस्टमा लाइक बढाउने यिनीहरुले नै हुन् ।

      नेगेटिभ माइन्ड
      यो वर्गमा पर्ने मान्छे सधैं अरुको आलोचना र गालीमात्र गरेर स्टाटस लेख्छन् । साथै अरुको पोस्ट्मा पनि सधैं नकारात्मक कमेन्ट गर्छन्, गोली हान्दे, फाँसी दे, काटी दे आदि । यस्ता मान्छेलाई फेसबुकबाट हटाइदिनु होला । किनकी फेसबुक पनि एउटा समाज हो । त्यसैले खराब व्यक्तिको संगतले हामीलाई पनि प्रभाव पार्ने गर्छ ।

      सनसनी प्रसाद
      यस्ता मान्छेलाई सनसनीपूर्ण हल्ला फैलाउन खुब मन पर्छ । कुनै ठाउँमा गाडी पल्टेर २ जना घाइते भएका छन् भने ‘दुई दर्जनको मृत्यु’ भनेर लेख्छन् । कुनै सडक दुर्घटनामा विभत्स रगत र मृतकको शवहरुको फोटो खोजीखोजी सेयर गर्छन् । एउटा घर आगोले जलेको छ भने पूरै गाउँ आगोले सखाप भन्दै लेख्छन् । समयसापेक्ष ठीकै हो तर सधैं यस्ता सामाग्री सेयर गर्ने मान्छेहरुलाई फेसबुकबाट हटाएको राम्रो किन कि नराम्रो समाचारले तपाईको पनि दिन खराब बनाउँछ ।

      गुनासोगिरी
      यो खालका मान्छेले सधैं गुनासो गर्छन् । बिजुली गयो उफ्, मोबाइलमा चार्ज सकियो उफ्, गर्मी भयो उफ्, पेट दुख्यो उफ्, झरी पर्‍यो उफ्, हावा चल्यो उफ् । यस्ता कुराले तपाईंको पनि मनस्थितिमा प्रभाव पार्ने भएकाले यस्ता मान्छेलाई फेसबुकबाट हटाउँदा नै बेस हुन्छ ।

      सेल्फीक्राेनिक
      फेसबुकमा सेल्फी खिच्दै आफ्नो अनुहार संसारलाई देखाउने जमात पनि ठूलै छ । फेसबुकका पन्ना पल्टाउँदै जाँदा कस्ले कहाँ पुगेर कोसँग कस्तो सेल्फी लियो भन्ने कुराको ज्ञान सहित नयाँ घुम्ने ठाउँहरुको समेत थाहा पाइने हुनाले यिनीहरुलाई हटाउनु हुँदैन ।

      फेसबुके बौद्धिक
      यिनीहरुले पोस्ट गरेका सत्य–तथ्य र ज्ञान गुणका कुराहरुले हाम्रो जीवनमा सकारात्मक प्रभाव पार्ने गर्छ । प्रायजसो यिनीहरुको फेसबुक फ्रेन्डस् ५ हजार पुगिसकेको हुने गर्छ । त्यसैले यिनीहरुलाई अवश्य फलो गर्नू ।

      धर्मभिरु
      यो खालका व्यक्ति भगवान् या नाग यस्तै कुनै मन्दिरको फोटोहरु सेयर गरी हेर्ने बित्तिकै लाइक, कमेन्ट र सेयर गर्नु होला । फलिफाल हुनेछ, अन्यथा यो हुनेछ, त्यो हुनेछ भन्ने पोस्टहरु गर्छन् ।

      त्यतिमात्रै होइन, म्यासेज समेतत पठाएर २ जनालाई फरवार्ड भनी इनबक्स गर्छन् । यिनीहरुलाई पनि सिधै ब्लकमा राखिदिए हुन्छ । यिनीहरु तपाईको पैसा र समय दुबै वर्वाद पार्ने मध्येका हुन् ।

       

       

       

       

       

       

      लेखक खिम स्वतन्त्र लेखक हुन् ।


      प्रतिकृया दिनुहोस्