Samadhan National Daily

      अस्ताए कृषि वैज्ञानिक स्थापित, शाेकमा लीबर्ड र पाेखरा

      पाेखरा, १४ भाद्र:

      वरिष्ठ कृषि वैज्ञानिक भुवनरत्न स्थापितको उपचारका क्रममा अमेरिकामा निधन भएको छ ।

      अमेरिका स्थित ब्राउन क्यान्सर अस्पतालमा जिब्रोको उपचार गर्दा गर्दै आइतरबार दिउँसो ६३ वर्षको उमेरमा निधन भएको उनका आफन्तले जानकारी दिए ।

      पोखरा ३ नदीपुर निवासी डा. स्थापितलाई विगत २ वर्षदेखि जिब्रोको क्यान्सर भएको थियो । थाइल्यान्डमा उपचार पश्चात निको भएको भनिए पनि पुन बल्झिएपछि डेढ महिनाअघि थप उपचारका लागि अमेरिका गएका थिए ।

      सन् १९७७ मा कृषि विशेषज्ञका रुपमा कृषि अनुसन्धान केन्द्र लुम्लेमा प्रवेश गरेका स्थापितले १९९७ सम्म नेपाल कृषि अनुसन्धान परिषदमा अनुसन्धानका काम गरेका थिए । सोही समयमा उनले चिसो क्षेत्रमा उत्पादन गर्न सकिने छोमरोङ धानको विकास गरेका थिए । उनले विकास गरेको छोमरोङ धान १ हजार ८ सय मिटरदेखि २ हजार ६ सय मिटरसम्म फलाउन सकिने पुष्टि भएपछि पहिलोपटक राष्ट्रिय बिउ बैंकमा दर्ता भएको थियो ।

      छोमरोङ धानको चामल रातो भएकाले किसानले मन नपराएपछि उनले नै र छोमरोङ र जापानी प्रजातिको धान क्रस गराएर अहिले चलेको माछापुच्छ्रे ३ र ९ निकालेका थिए । वैज्ञानिकहरु धान र बाली बिरुवाको प्रजनकका रुपमा परिचित स्थापितले नेपालमा पहिलोपटक सहभागितामूलक बाली प्रजनन्मा जोड दिएका थिए ।

      उनकै पहलमा पोखराको प्रसिद्ध रैथाने धान जेठोबुढो, तराईको लालका बास्मती र कचरवा धानका विकसित जात विकास गरी बिउ बैंकमा दर्ता गरिएको थियो । कृषि अनुसन्धान केन्द्र लुम्लेबाट विकास भएका अधिकांश बालीमा उनले नेतृत्वदायी भूमिका निभाएका थिए ।

      सन् १९९४ मा बेलायतको वाल्स् ब्याङ्गोर विश्वविद्यालयबाट वनस्पति जीवविज्ञानमा विद्यावारिधि गरेका वैज्ञानिक स्थापितले आफ्ना पिएचडी गुरु जोन विट्कोमसँगको सहकार्यमा कृषिको अनुसन्धानमा किसानलाई सहभागी गराउने अभियान चलाएका थिए ।

      कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोग गर्नुपर्ने तर्क राख्ने वैज्ञानिक स्थापितले परम्परागत बिउको संरक्षण र विकासमा जोड दिने गरेको उनीसँगै काम गरेका कृषि विज्ञ डा. प्रताप श्रेष्ठले बताए । ‘डा. स्थापितका धारणा सुनेर अरु वैज्ञानिकले कतिपय अवस्था उडाउने गर्थे,’ उनी सम्झन्छन्, ‘बाली विज्ञानमा नयाँ जातको विकास गर्न पनि पुरानो रैथाने बिउ चाहिने भएकाले उहाँको दृष्टिकोण दीर्घकालीन थियो, जुन अरुले त्यतिबेला बुझ्न सकेनन् ।’

      विश्वमै धेरै उत्पादन गर्न हरित क्रान्ति भइरहेको अवस्थामा परम्परागत बिउले खाद्यान्न संकट समाधान नहुने अन्य वैज्ञानिकहरुको तर्क रहेको भन्दै डा. श्रेष्ठले थपे, ‘उहाँ पुरानो बिउले पनि धेरै उत्पादन दिन सक्छ भन्नुहुन्थ्यो, हामीले अनुसन्धान गरेर पत्ता लगाउन नसकेका हौँ ।’ उनले सुरु गरेको स्थानीयबाली संरक्षणको अभियान पश्चात नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले अहिले सामुदायिक बिउ बैंकका कार्यक्रम चलाएको छ ।

      कृषि अनुसन्धान केन्द्र लुम्लेमा १९ वर्ष काम गरेका डा. स्थापितले त्यसपछि पोखरामा जैविक विविवधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) को स्थापना गरेका थिए । लिबर्डले अहिले पनि कृषि अनुसन्धान र संरक्षणको क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएको छ ।

      डा. स्थापितको सम्झनामा लिबर्डले मंगलबार आफ्नै कार्यालयमा शोक मनाएको छ । ‘उहाँको तस्बिरमा माल्यार्पण गरेर शोक मनाएका छौं,’ लिबर्डका निर्देशक डा. बलराम थापाले भने, ‘उहाँको निधनले नेपालको कृषि अनुसन्धानमा अपुरणाीय क्षति पुगेको छ ।’ लीबर्डका अध्यक्ष कृष्णप्रसाद बराल र सिन्धु श्रेष्ठले पनि डा. स्थापितको योगदान स्मरण गरे । डा. स्थापित अन्तिम समयसम्म अनुसन्धानका काम गरिरहेको उनले बताए । डा. स्थापित पछिल्लो समय बायोभर्सिटीका नेपाल प्रमुख तथा वरिष्ठ वैज्ञानिक रहेर काम गरेका थिए ।

      नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक बालकृष्ण जोशीले स्थापितको निधनले नेपालले एउटा महान् वैज्ञानिक गुमाएको बताए । डा. स्थापितको बढी कृषिमा आधारित ४५ भन्दा अनुसन्धानमूलक आलेख विज्ञान सम्वन्धी अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । पोखरा उपममहानगर पालिकाले उनलाई पोखरेली नवरत्न सम्मान प्रदान गरेको थियो ।

      परिवार सबै अमेरिका भएकाले उनको अन्तिम संस्कार उतै गरिने भएको छ । स्वर्गीय स्थापितकी श्रीमती, १ छोरा र २ छोरी छन् ।


      प्रतिकृया दिनुहोस्