Samadhan National Daily

      भेडीखर्के र ठाडोभाका

      पाेखरा, ४ आश्विन:

      –‘भेडीखर्के दाइसँगै गायकीको एक युग अन्त्य भए पनि ठाडो भाका भने खत्तम भएको छैन भाइ !’ फेरि उनले पुरानै भनाइ दोहोर्‍याए, ‘मैले गाएको ठेट ठाडो भाका चाहिँ होइन नि है ।’

      _कवि-कलाकारको जीवनको भित्री पाटो पनि लयात्मक हुन्छ । भेडीखर्के कति रसिक थिए होलान्, सिर्जनाको मस्र्याङ्दीमा कसरी जीवन भर्थे होलान् ? प्रश्नहरु ओइरिन थाले ।

      २०४२-०४५ सालतिरको कुरो हो यो । सानैंथिए,म । लमजुङको उदिपुरस्थित जनकल्याण निम्नमाध्यमिक विद्यालयमा सानै कक्षामा पढ्थें । एउटा हिउँदमा स्कुल छेउको बट्टै कान्छा (सायद दुराडाँडातिरैबाट बसाइँ सरेको हुनुपर्छ) कहाँ अनौठो चहलपहल सुरु भयो ।

      ‘गीत गाउने मान्छे आ’छन् रे, गीतमा जस्ले जित्छ, उसैले हार्नेलाई लैजाने रे’, हामीले त्यस्तै सुन्थ्यौं । रातीबाट गीत सुरु रे ! गीतसँग के चासो ! हार्नेलाई लैजाने कुराले भने साँच्चै कुत्कुत्यायो । कस्तो होला गीत ? भोलीपट्ट हतारहतार स्कुलजाँदा बट्टै कान्छाकहाँ मादल बजिरहेको थियो, कहिल्यै नसुनेको भाका गुञ्जिरहेको थियो । गीतको लामो भट्टयाई बुझ्ने कुरै भएन ।
      हा…हा….हा.. बाट सुरु भइ पहिला भट्टयाइएको गीतको अन्तिम लाइन ‘होला रे यसै माया जाला ……… मा जोडिन्छ भन्ने चाहिँ थाहा पाइयो र अहिलेसम्म मुखमै झुण्डिएको छ ।गीत गाउने उपक्रम सम्भवतः ४-५ दिन चल्यो होला । हामीलाई भने कसले हार्ला भन्ने मात्र चासो । केटाले हारे केटीको पछि र केटीले हारे केटाको पछि लागेर जानुपर्र्नेे रे ! भन्ने चर्चाकै बीच एकदिन सुनियो,’ बराबरी भयो ।

      पछि थाहा भयो, गीत गाउने मान्छे रहेछन् दीर्घराज अधिकारी उर्फ भेडीखर्के साइँला । नारी स्वरबारे भने थाहा भएन, हारजीत नभएकोले ती उनकी कान्छी श्रीमती हुने कुरै भएन !चर्चा गरिरहनु परेन, ठाडोभाका लमजुङको दुराडाँडातिर गाइन्छ । देउबहादुर दुराबाट सुरु भएको यो परम्परालाई भेडीखर्के साइँलाले धानेका थिए । भेडीखर्केप्रति मनमा श्रद्धा थियो नै तर कुरा बुझ्ने भएपछि न त उहाँसँग कुनै भेट भयो न त प्रयत्न नै गरियो ।पढ्दै गर्दा कर्मक्षेत्र पोखरा बन्यो । एमएम रेडियो खुले । संयोगले रेडियोकर्मी नै भइयो । त्यही बेला पोखरा एफएमले रेसम फिरिरीका सर्जक बुद्धिबहादुर परियारलाई ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्डले सम्मान गर्‍यो । सम्मान गर्ने सम्भावित व्यक्तित्वमा मैले नै भेडीखर्केको नाम लिएको थिएँ, उहाँ त्योबेला पनि सायद बिरामी नै हुनुहुन्थ्यो । सम्मानपछि साँझको रमझममा मैले नेपथ्यका दाइ अमृत गुरुङसँग विद्धत बन्दै भनें,‘दाइ ठाडोभाका त मर्‍यो नि !’ उनले त्यो बेला प्रतिप्रश्न गर्दै मसँग भनेका थिए,‘भाइ ठाडोभाका कहाँ मरेको छ र ?’ अनि उनको उत्तर थियो, ‘जनताको भाका मर्दैन भाइ !’

      रेडियोमा भर्खरै छिरेको अनि अरु मान्छे आफूभन्दा पुड्का ठान्ने पत्रकारिताको अह्म (?) बोकेको मैले अमृत दाइको कुरालाई हावामै उडाएको थिएँ । हालैको एक दिन समाचार आयो,‘भेडीखर्के साइँला’ रहेनन् ! स्मृतिको गर्भगृहभित्रका दृष्यचित्र र स्वरहरु मनमा खेल्न थाले ।
      ‘हा…. हा….हा… होला रे यसै माया जाला…… !’

      मैले एकैपटक बट्टाई कान्छाको आँगनमाथिको भकारीको छानो, पिँडी र आँगनमा ओच्छ्याइएका गुन्द्री अनि अमृत दाइसँग छाँटेको विद्धत्ता सम्झें । समाचारमा उल्लेखित ‘३ वटा श्रीमती’ भन्ने वाक्याशं भने मैले दोहोर्‍याएर पढें अनि बाल्यकालको जित्नेले हार्नेलाई स्वास्नी बनाएर लैजाने रे भन्ने हल्ला सम्झें । बूढाले धन्न उदिपुरमा बराबरी गरेछन् ! भेडीखर्के गएपछि ज्या ! किन भेटिन भन्ने थक्थकीले चिमोट्दै गर्दा नेपथ्यका अमृत गुरुङ र पछिल्लो समय पोखरा बस्दै ठाडो भाकामा रमाएका लमजुङे बुद्धिमान दुरा (उनी आफ्नो थर गुरुङ लेख्छन् र धम्पु भनेर चिनिन्छन् ) सम्झें । त्यस्तैमा भेटिए, कवि तीर्थ श्रेष्ठ । भेडीखर्केबारे सोधखोजमा उनले भने,‘उनी ठाडोभाकाका पर्याय हुन् भन्ने बुझेको हो, अन्तरंग भेट भने हुन पाएन ।’ कवि-कलाकारको जीवनको भित्री पाटो पनि लयात्मक हुन्छ । भेडीखर्के कति रसिक थिए होलान्, सिर्जनाको मस्र्याङ्दीमा कसरी जीवन भर्थे होलान् ? प्रश्नहरु ओइरिन थाले ।

      अतृप्त बन, अज्ञानी होऊ भन्थे स्टिभ जब्स । लमजुङले जनजिब्रोमा झुण्डिएको ठाडो भाका २०२९ सालतिर फिल्मी गीत बनेको थाहा भयो । यु–ट्युवको जमाना न पर्‍यो ! तत्कालीन शाही नेपाली चलचित्र संस्थानले निर्माण गरेको ‘मनको बाँध’को लागि जनकवि केशरी धर्मराज थापाले लेखेछन्–
      हा.. हा.. हा.. हा… …..
      ए.. कति राम्रो देउराली त हो, हेरी राम्रो हिउँ
      हे के मुखैले ज्या माया लाउने, पर्‍यो कस्तो जिउ
      हे.. माया मान्दा पनि छ कि छैन भनी मै सोधुँ कसरी ….
      हे.. मै सोधुँ कसरी हो….
      मै सोधुँ कसरी …?

      नारायण गोपाल र तारादेवीको स्वर रहेको यो गीतले स्मृतिलाई ताजा बनायो तर ठेट ठाडोभाकाको बाल्यकालीन स्वाद भने दिएन ।‘यो ठेट ठाडोभाका होइन तर सम्भवत् ठाडो भाकालाई झ्याउेर संगीतमा पहिलो पटक रेकर्ड गरिएको गीत भने हो,’कवि तीर्थ श्रेष्ठले सम्झाउने भावमा भने,‘जनकविको गाउँमोह नै मान्दा नि हुन्छ यो गीतलाई ।’

      २०३२ सालतिर रिलिज भएको त्यो सिनेमा सबै नेपालीले कसरी हेरुन् र गीतको प्रचार होस् । नारायण गोपालका अन्य गीतजस्तो यो गीत चर्चामा पनि आएन । धन्य, ठाडो भाकाले सिनेमासम्ममा प्रवेश भने पाएकै रहेछ ।अमृत दाइलाई फोन घुमाएँ । पोखरा आउँदै गरेका दाइले एयरपोर्टबाट कलब्याक गरे । जीवनको उर्वरकाल पोखरामै बिताएकोले मात्र हैन, गायकीले पनि म अमृत दाइको फ्यान । उनको मै नाचें छमछमी भन्ने गीत एक्लै गुन्गुनाएँ । हा..हा.. हा… पहिरनमा राम्रो छोरीलाई मजेत्रो र गुन्योचोली…..
      दैव संयोग भेट भयो, नाच्ने गाउने हो कि….

      मैले अतित् कोट्याएँ ठाडोभाकाको झल्को दिने उनकै गीतको कुरा गरें । हतारकै बीच पनि उनी भावुक भए । ‘हो भाइ, मैले सन् १९९६ तिर पहिलो पटक भेडीखर्के दाइलाई काठमाडौंमा सुन्ने मौका पाएको थिएँ, लमजुङ पोखरा सम्पर्क समाजले गरेको कार्यक्रममा उहाँको गायकी सुनेर म तीनछक परें’, उनले भने,‘वाचन, उहाँको गायनको धारमो मुग्ध मैले कार्यक्रमपछि उहाँलाई नमस्ते गरें ।’

      अनि रेसम एल्बममा समेटिएको गीत नि ?
      आफू गाउन नजान्ने अनि त्यस्तै गीत गाउने लालसाले गर्दा पोखरामै रहेका बुद्धिमान गुरुङसँग सम्पर्क बढाएछन् । घुमन्ते गायकले भाका मन परेपछि लमजुङ इलमपोखरीको मेलामा एकजना घले दाइको सहयोगमा यो गीत मज्जाले सुनेछन् ।अनि ठाडो भाकालाई नेपथ्यको ‘ब्राण्ड’ लोकलयमा फ्युजन गरेछन् । १९९८ सालमा निस्केको रेसम एल्बमको गीत अहिले पनि डान्सिङ नम्बरको रुपमा कन्सर्टहरुमा रोजाइमै पर्ने गरेको छ । सन् २००० तिर इलमपोखरी जानेक्रममा भेडीखर्के दाइललाई भेट्न खोज्दा पनि नसकिएको दुखेसो पनि अमृत दाइले फोनबाटै पोख्न भ्याए ।

      ‘भेडीखर्के दाइसँगै गायकीको एक युग अन्त्य भए पनि ठाडो भाका भने खत्तम भएको छैन भाइ !’ फेरि उनले पुरानै भनाइ दोहोर्‍याए,‘मैले गाएको ठेट ठाडो भाका चाहिँ होइन नि है ।’रहे, बुद्धिमान दाइ, उनी काठमाडौंबाट फर्कदैं रहेछन् । भेडीखर्केसँग लामो संगत गरेका र आफैले पनि ठाडो भाकामा गीत गाएका ६६ वर्षीय उनले भने,‘गाउँघरमा दाइ(भेडीखर्के) र मेरो उमेरका थुप्रै हुनुहुन्छ, उहाँहरुलाई भेला गराएर चाडवाडमा यो गीत गाउन पाए ठाडो भाकालाई जोगाउन सकिन्थ्यो कि !’

      a2zoasis@gmail.com / Twitter/mishrabashu

      लेखकः वासुदेव मिश्र


      प्रतिकृया दिनुहोस्