• Ad

Samadhan National Daily

  • Ad

स्मार्ट पोखराको सम्भाव्यता खोज्न जापानीसँग सम्झौता

पाेखरा, ४ आश्विन:

पोखरा महानगरपालिकालाई स्मार्ट शहरको रुपमा विकास गर्न जापानी संस्थासँग सम्भाव्यता अध्ययनका लागि सम्झौता भएको छ ।

सम्झौतापत्रमा जापानको राजधानी टोकियोस्थित न्यु आइटी भेन्चरका कार्यकारी निर्देशक तदासी मोरी र महानगरका प्रमुख कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले बुधबार हस्ताक्षर गरेका छन् ।

दुई वर्षका लागि गरिएको सम्झौतापत्रमा सूचना प्रविधिमा आधारित सेवा विस्तार गर्ने, स्मार्ट सिटी हब बनाउने, सूचनाप्रविधिमा आधारित परियोजना चलाउन लगानीको वातावरण बनाउने लगायत उल्लेख छन् । महानगरबासीलाई वातावरणमैत्री, शान्त र सुरक्षित बनाउन केन्द्रित हुने न्यु आइटी भेन्चरका निर्देशक मोरीले बताए ।

जापानी संस्था भेन्चरले निशुल्क रुपमा अध्ययन प्रतिवेदन तयार पारेर महानगरलाई बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ । अध्ययनका लागि आवश्यक तथ्यांक तथा अभिलेखहरु महानगरले उपलब्ध गराउनुपर्ने र अन्य निकायसँग सहकार्य गर्नुपर्ने उल्लेख छ । अध्ययनका लागि उक्त संस्थाले जापानी तथा स्वदेशी अनुसन्धानकर्ता एवं विज्ञहरुलाई स्थलगत भ्रमणका साथै सुझाव लिने जनाएको छ ।

सम्झौताको पृष्ठभूमिमा नेपालकै ठूलो क्षेत्रफल ओगट्ने महानगरमा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, बढ्दो पर्यटकीय गतिविधि, बढ्दो बसाइसराइ लगायत कारण सुरक्षा, गुणस्तरीय सेवा र शान्त वातावरणमा ध्यान दिनुपरेको उल्लेख छ ।

महानगरसामु गरिबी, मानव अधिकारको संरक्षणका साथै संविधानले गरेको व्यवस्था अनुसार स्थानीय कानुन बनाउन चुनौती रहेको भन्दै स्मार्ट सिटीको अवधारणामा जानुको विकल्प नभएकाले मेगा आइसिटी परियोजनामा ध्यान दिनुपर्ने उल्लेख छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि बोल्दै महानगरका मेयर मानबहादुर जिसीले चुस्त, दुरुस्त र छिटो छरितो सेवा दिन स्मार्ट सिटीको अवधारणामा गएको बताए । सक्दो छिटो अध्ययन प्रतिवेदन बुझाउन आग्रह गर्दै उनले भने, ‘अन्य संस्थाले पनि सम्भाव्यता अध्ययन गरे महानगर सघाउन तयार छ ।’

उपमेयर मञ्जुदेवी गुरुङले धेरै छलफल गरेर स्मार्ट सिटीको सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको बताए । नेपालको पहिलो स्मार्ट सिटी बनाउन खोजेको भन्दै उनले थपिन्, ‘नेपालकै ठूलो महानगरलाई पहिलो स्मार्ट सिटी बनाउन चाहन्छौं ।’

त्यस अवसरमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सूचना प्रविधिमा दिनहुँ परिवर्तन आइरहेका भन्दै सोही अनुसार अपडेट हुनुपर्ने बताए । ‘स्मार्ट सिटी एउटा अभियान हो,’ उनले भने, ‘सूचना प्रविधिको विकास र परिवर्तनसँगै अघि बढ्नुपर्ने भएकाले यो टुंगिने यात्रा होइन ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले नागरिकको जीवनस्तर उकास्न र सजिलो बनाउन स्मार्ट सिटीको अवधारणा आएको बताए । यसका लागि निर्वाचित जनप्रतिनिधि र आम नागरिकसमेत जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।

स्मार्ट सिटीको अवधारणाका बारेमा जानकारी दिँदै न्यु आइटी भेन्चर जापानका प्रमुख कार्यकारी अधिकृत कमल अधिकारीले ई–गभर्नेन्स, शिक्षा, पारवाहन व्यवस्था लगायतका विषयमा नागरिकलाई सजिलो र छिटो सुविधा दिनुपर्ने बताए ।

कार्यक्रममा पोखरा उद्योग जाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे लगायत महानगरका वडाध्यक्ष, कार्यपालिकाका सदस्यहरु लगायतको सहभागिता थियो । कार्यक्रम सञ्चालन महानगरका सूचना प्रविधि शाखाकी शर्मिला गौतमले गरेकी थिइन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad