• Ad

Samadhan National Daily

  • Ad

जारा र मार्चुसकाे ‘हिउँले छोपिएको दुखान्त’

पोखरा, ९ पौष:

बेलायती नागरिकद्वय जारा बालफोर र मार्चुस स्टेफेनसन सन् २०१३ तिर नेपाल आउँदा काठमाडौंको स्नोल्यान्ड रानाग स्कुल होस्टेल पुगे ।

होस्टलमा नेपालीका विभिन्न हिमाली जिल्लाका बालबालिका अध्ययनका लागि बस्थे । तिनै बालबालिकाले आफ्नो घर जाँदा खिचेका भिडियोहरु हेरेपछि उनीहरुलाई नयाँ सोच पलायो– हिमाली क्षेत्रका बालबालिकाबारे ।

बेलायती नागरिकद्वय जब बेलायत फर्किए, त्यसपछि उनीहरु पुन २०१४ मा नेपाल आए । काठमाडौं उत्रिएपछि होस्टलमा अध्ययन गरिरहेका डोल्पाका निमा गुरुङ, जीवन महतारा र हुम्लाका छिरिङ डिकी लामालाई पछ्याउन थाले । त्यतिबेला उनीहरु एसएलसी परीक्षा दिँदै थिए । जब परीक्षा सकियो, उनीहरु गाउँ फर्किए ।

उनीहरुको गाउँ यात्रा कुनै यसअघि कहिल्यै नपुगेको साहासिक पदयात्रा जस्तो देखिन्थ्यो । किनभने, सात वर्षको उमेरमा पढ्नकाठमाडौं पुगेका निमा दश वर्षपछि पहिलोपटक गाउँ जाँदै थिए । योबीचमा उनलाई कहिले काहीं भेट्न दाइ जान्थे भने बुबा, परिवारका अन्य सदस्य लगायत आफन्तलाई नभेटेको १० वर्ष बितेको थियो ।

सानैमा आमा गुमाएका निमा जब गाउँ पुगे उनले आफ्ना बाबुलाई भेट्न पाएनन् । गाउँमा पुगेपछि मात्र उनले थाहा पाए, बुबा मुस्ताङ बस्न थालिसकेका रहेछन् ।

यता, छिरिङ र जीवनको कथा पनि उस्तै थियो । काठमाडौंमा होस्टल बसेर कक्षा १ भर्ना भएपछि कक्षा १० अर्थात एसएलसी सकिएपछि मात्र उनीहरु गाउँ पुगेका थिए ।

एसएलसी पछि गाउँ जान डोल्पाको जुफाल एयरपोर्टमा ओर्लिएका जीवन १५ दिन लामो पदयात्रा पश्चात गाउँ पुगेका थिए । हिउँले गोरेटोका चिन्ह ढाकिसकेको अवस्थामा कष्टप्रद याात्रा गरेर सिमेन गाउँ (४००० मी.) पुग्नु सहज पक्कै भएन ।

गाउँबाट यी बालबालिका अध्ययनका लागि जब काठमाडौं जान बाध्य पारिएको थियो, यसमा उनीहरु आफ्ना अभिभावकसँग निकै रिसाएका रहेछन् । ४ वर्षको उमेरदेखि काठमाडौंमा होस्टल बसेकी छिरिङ डिकी लामा भन्छिन्, ‘मैले ममीलाई मात्र माया गरेको दिन मलाई काठमाडौं पठाइदिनुभयो,’ उनले थपिन्, ‘मेरो ममी मसँग रिसाउनुभएको छ, मलाई माया गर्नुहुन्न ।’

जब एसएलसी पछि उनी गाउँ फर्केर यस्तो कुरा आमालाई भनिन्, त्यसपछि आमाले छिरिङलाई भनेकी रहिछन्, ‘जुन दिन तिमीलाई पढ्न काठमाडौं पठाएँ, त्यतिबेला जन्माएर त्यसै फालिदिएको अनुभूति भएको थियो ।’

शहरमा बच्चालाई होस्टल राख्दा परिवार र समाजबाट टाढा हुन्छ भन्ने मान्यता छ । तर हुम्ला, डोल्पा लगायत हिमाली क्षेत्र र उच्च पहाडी क्षेत्रका आम बालबालिकाको बाध्यता हो यो । अध्ययनका लागि घरबाहिर शहर जानुपर्ने वा अध्ययन नै नगरी बस्नु दुई विकल्प मात्र छन् त्यहाँ ।

हिमाली क्षेत्रका यिनै बालबालिकालाई केन्द्रित गरेर बेलायती नागरिकद्वयले त्यस क्षेत्रको भुगोल, जीवनशैली र दुखकष्टलाई पर्दामा उतारेका थिए । ‘चिल्ड्रेन अफ दी स्नोल्यान्ड’ शीर्षकको यो डकुमेन्ट्री फिल्मले पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवको तेस्रो संस्करणमा दर्शकको प्रशंसा कमायो ।

डकुमेन्ट्री हेरेपछि दर्शकले सोधेको प्रश्नमा मुख्य पात्र निमाले अभिभावकले आफूहरुलाई टाढा बनाएको आफ्नै लागि रहेछ भन्ने बुझेको बताए । एसएलसी पछिको झण्डै दुई महिना गाउँ बसाइपछि अध्ययनका लागि काठमाडौं फर्कनेबेला आमा बेस्सरी रोएको छिरिङले बताइन् । उनले डकुमेन्ट्रमै भनेकी छिन्, ‘मलाई ममीले यति धेरै माया गर्नुहुन्छ भन्ने थाहै थिएन ।’

हिमाली क्षेत्रको भूगोल, प्राकृतिक सुन्दरता जति अवर्णनीय छ, त्यहाँका जीवनशैली पनि उत्तिकै कष्टकर भएको डकुमेन्ट्रीले देखाउँछ । प्राकृतिक सौन्दर्यले मुग्ध भएर पनि दैनिक जीविकोपार्जनका लािग गर्नुपर्ने कडा परिश्रम र आधारभूत आवश्यकताबाट निकै टाढा हुनुको पीडा फिल्म हेर्दा प्रष्ट अनुभूति गर्न सकिन्छ ।

पोखरा फिल्म सोसाइटीको आयोजनामा ३ दिनसम्म चलेको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव पिम्फमा स्वदेशी तथा विदेशी गरी ४३ वटा चलचित्र प्रदर्शन भएको थियो ।

महोत्सवको उद्घाटन राजेशप्रसाद खत्रीले निर्देशन गरेको जलगेडी र देवकी विष्टद्वारा निर्देशित ‘इन सर्च अफ देवकी’ चलचित्रबाट गरिएको थियो । पिम्फमा गायक रामेशको जीवन संघर्षमा आधारित ‘डढेलो भित्रको सतिसाल’, एजुकेट माई डटर, लक्ष्मनिया लगायत डकुमेन्ट्रीले दर्शकको मन जितेको थियो । सोही अवसरमा उत्सव थपलियाले निर्देशन गरेको नेपाली चलचित्र ‘तुइन’को नेपाल प्रिमियर शो समेत गरिएको थियो ।

फिम्पकै अवसरमा केही चलचित्र पोखराकै रामबजार र लेकसाइडमा साँझपख सडकमा प्रदर्शन गरिएको आयोजक पोखरा फिल्म सोसाइटीका उपाध्यक्ष जितेश प्रधानले जानकारी दिए ।

महोत्सवमा वृतचित्र, लघु चलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र, एनिमेसन चलचित्र प्रदर्शन गरिएका थिए । समाजमा सकारात्मक सन्देश दिने चलचित्रलाई महोत्सवमा प्राथमिकता दिएको सोसाइटीका महासचिव विष्णु गौतमले बताए ।

पिम्फमा प्रदर्शन गरिएका धेरै चलचित्रहरु काठमाडौंमा हालै सकिएको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फमा प्रदर्शित थिए । ६–८ पुसमा सम्पन्न पिम्फले पोखराको चलचित्र संस्कृतिलाई माथिउठाउन मद्दत गरेको आयोजक पोखरा फिल्म साोसाइटीका अध्यक्ष घनश्याम लामिछानेले बताए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad