• Ad

Samadhan National Daily

  • Ad

सेलेब्रेसन @ लेकसिटी

पाेखरा, १६ पौष:

ककटेल, मक्टेल, म्युजिक र मस्तीसँगै पुरै पोखरालाई वैंशालु मात चढेको छ । यतिबेला पोखरा स्वागत गर्न र आगन्तुक पोखरा भित्रिन आतुर छन् । ०१७ को अंग्रेजी क्यालेण्डर सकिनै लाग्दा पोखराको लेकसाइड रंगिसकेको छ । सडक सजिएको छ । मेनुमा थुप्रै स्पेसल आइटम थपिएका छन् । लाग्छ सबै हतारमा छन्, न्यू इअर २०१८ लाई स्वागत गर्न । न्यू इअर सेलेब्रेसनका हिसाबले पोखरा नेपालमै पहिलो स्थानमा पर्छ । जसलाई पछ्याएको छ नगरकोट र ठमेल र चितवनले ।

सेलेब्रेसनलाई भव्य बनाउन पर्यटन व्यवसायीमात्र हैन, स्थानीय युवा, आमा क्लबदेखि प्रशासनका सबै निकाय जुटेका छन् । सँगै आयोजना गरिएको स्ट्रिट फेस्टिभलले आफ्नो ब्रान्ड कमाइसकेको छ । पोखरेलीहरुको आतीथ्यता महशुस गर्न देस–विदेसका आगन्तुक धमाधम भित्रिदै छन् । साँच्चै भन्ने हो भने पोखरा ‘फेस्टिभ मुड’मा छ । पर्खाई छ त केवल डिसेम्बर ३१ को साँझ ।

अधिकांश मुलुकजस्तै नेपालमा पनि न्यू इअरलाई सेलेब्रेसन गर्ने प्रचलन बढ्दै गएको देखिन्छ । विशेषतः मूख्य पर्यटकीय क्षेत्रहरुमा उल्लासपुर्णरुपमा यस उत्सव मनाउने गरिन्छ । काठमाडौं, पोखरा, धरान चितवनका सबैजसो पर्यटकीय क्षेत्रहरु झकिझकाउ भइसक । रेष्टुरेण्ट तथा गेष्टहाउसहरुमा लगभग बुकिङ सकिएको छ ।

पछिल्लो समय नेपालीहरुमाझ अंग्रेजी पात्रोको नयाँ बर्ष मनाउने क्रेज चुलिँदै गएको छ । विभिन्न शहरमा नयाँ बर्षको अघिल्लो रात अर्थात न्यू इअर इभका अवसरमा मेला लाग्ने गरेको भएपनि पोखरामा आयोजना गरिने महोत्सवले अन्य क्षेत्रलाई डोमिनेट गरेको छ । कारण, अधिकांश नेपालीको सेलेब्रेसन स्पट बनेको छ पोखरा ।

पोखराका अधिकांश तारे होटलहरु बुक भइसकेका छन् । प्राकृतिक सुन्दरता यहाँको ‘वाउ फ्याक्टर’ हो । न्यू इअर नजिकिँदै गर्दा जति तयारी पोखरामा हुन्छ त्यति नै तयारी पोखरा आउनेहरुको हुने गरेको छ । नेपालीहरुकालागि पोखरा बेस्ट गन्तव्य हो । जीवनकालमा पोखरा घुम्ने चाहना सबैको हुन्छ । तर, न्यू इअरकै मेसोमा यहाँ भित्रिने योजना प्रायःले बुन्ने गरेका छन् । पछिल्लो समय बढ्दैको गएको होटल, रेष्टुरेन्ट, बार, पबको संख्याले पनि पोखरालाई नेपालको म्यानहटन भन्न सुहाउँछ । विदेशमा गरिने फायरवर्क पोखराको आकर्षण हो । नेपालको मुख्य पर्यटकीय गन्तव्य पोखरा, काठमाडौंपछि दोश्रो ठुलो बाह्य पर्यटक भित्र्याउने शहर हो । बाह्रै महिना आन्तरीक र बाह्य पर्यटकको चहलपहल सामान्य हुँदै गएको छ ।

युरोप, अमेरिका लगायत विश्वभर रहेका पर्यटकीय क्षेत्रहरुमा अवस्थित रेष्टुरेण्टका मेनुहरु सर्भ गर्छ पोखराले । फेस्टिभललाई लक्षित गरी व्यवसायीहरुले ‘अकेज्नल अफर प्याकेज’ सुरु गरेका छन् । आफ्नो पकेटअनुसार खर्च गरी पोखरामा झुम्न सकिन्छ ।

लेकसाइडका होटल, रेष्टुरेन्टले तयार पारेको प्याकेजमा नेपाल आइडलका कलाकार, अभिनेता–अभिनेत्री, स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरका डिजे, सेलेब्रिटी, मोडललगायतलाई आकर्षणकारुपमा प्रस्तुत गर्ने भएका छन् । पब, बारमा नियमित ब्याण्डकासाथ अन्य कलाकारलाई आमन्त्रण गरिएको छ । विभिन्न ट्राभलले यही मेसोमा पर्यटकहरुलाई बञ्जी जम्प, सनराइज, प्याराग्लाइडिङजस्ता साहसिक अनुभव बाँड्न प्याकेज र छूटको व्यवस्था गरेको छ ।

सडक महोत्सव

नयाँ बर्षको अवसरमा लेकसाइडमा सडक महोत्सवको आयोजना हुन्छ । सन् २०१८को स्वागतार्थ सबै तयारीहरु पुरा भइसकेका छन् । १९ औं संस्करणसम्म आइसकेको महोत्सवले आफुलाई ब्राण्ड बनाइसक्यो । रेवान पोखराको आयोजनामा लेकसाइडको करिब ३ किमी क्षेत्र ‘नो भेइकल जोन’ लागु गरी सडकमै खाने, सडकमै रमाउने व्यवस्था गरिएको छ ।

महोत्सव अवधिभर सडकमा आपतकालीन अवस्थामा प्रयोग हुने बाहेकका सवारीसाधनहरु सञ्चालन हुने छैनन् । ‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने थिममा आयोजित महोत्सवको अघिल्ला संस्करणहरुमा आन्तरीक तथा बाह्य पर्यटकको उल्लेख्य उपस्थिती थियो । अघिल्लो बर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या बढ्ने व्यवसायीको अपेक्षा छ । व्यवसायीले महोत्सवको अवसरमा विभिन्न खानाका परिकार सडकबाटै पस्कने छन् ।

नेपालका ७ वटै प्रदेशका सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण हो । ३ किमी क्षेत्रमा देसको विविधता झल्काइनेछ । प्रदेश नम्बर १ बाट सतार जातिको सांस्कृतिक कार्यक्रम, प्रदेश २ बाट मैथली, प्रदेश ३ बाट नेवार, ४ बाट गुरुङ, ५ बाट बर्दियाको थारु, ६ बाट हुम्लाको हुम्लेली र ७ बाट डँडेलधुराको देउडा जातिको सांस्कृतिक कार्यक्रम एकै स्थानमा हेर्न पाइनेछ ।

सोही अवसरमा छिमेकी ६ जिल्लाबाट उत्पादित सुन्तला तथा कृषिजन्य पदार्थको प्रदर्शनी, सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्ट लगायत कार्यक्रम हुनेछन् ।

कति पर्यटक भित्रिदैं छन् ?

पोखराका ६ सय बढी होटलमा दैनिक २२ हजार पर्यटक अटाउछन् । तर यो समयमा पर्यटकको संख्या झण्डै दोब्बर हुने अनुमान छ । यसका लागी लेकसाइड बाहेक सराङकोट, महेन्द्रपुल, पृथ्वीचोकदेखि बेगनाससम्मका होटललाई स्ट्यान्डबाई राखिएको रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले बताए । ‘महोत्सव अवधिभर आन्तरीक बाह्य गरी ४ लाख बढी पर्यटक पोखरा आउने अनुमान हाम्रो छ । यसका लागी रेष्टुरेण्टहरुले फेस्टिभल अफर तयार पारिसकेका छन्’, उनले प्रष्ट्याए । जसमध्ये पोखरेलीको संख्या नै लाख बढी छ । फेस्टिभलको समस्या भनेकै पार्किङ हो । यसअघिको तथ्यांक हेर्दा राजधानीबाटमात्रै १० हजार सवारीसाधन पोखरा भित्रिने अनुमान गरिएको छ ।

सुरक्षा व्यवस्था

पर्यटकहरुको चाप अधिक हुने भएकाले सुरक्षा चुनौती पनि उत्तिकै छ । पाकेटमारदेखि मदिराको नसामा हो–हल्ला गर्ने लगायतका अवाञ्छित क्रियाकलापहरु यसअघि पनि देखिंदै आएका हुन् । यसपटक सुरक्षा रणनीति मजबुत बनाइएको बताउँछन् प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी । ‘न्यू इअर इभको समय पर्यटकहरुको संख्या अत्यधिक हुन्छ । यस्तो बेला अवाञ्छित गतिविधि गर्नेहरु बढी सक्रिय हुन्छन् । सुरक्षाका लागी पोशाकमा प्रहरीहरु त तैनाथ हुन्छन् नै । सादा पोशाकका प्रहरीहरु पनि खटिने छन्’ उनले भने ।

पोखराको पर्यटनमा निजी क्षेत्रको मात्रै १ खर्ब रुपैयाँ भन्दा बढी लगानी पुगेको छ । न्यू इअरको अवसरमा पोखराका होटल तथा महोत्सवस्थलमा गरी झण्डै ५० करोड रुपैयाँ कारोबार हुने अनुमान व्यवसायीको छ ।

क्रेज

लमजुङका किशोर रिमाल न्यू इअर इभ सेलेब्रेट गर्न पोखरा आउदैछन् । त्यसो त उनको पोखरा घुमाई पहिलो पटक हैन । यहाँका सबै पर्यटकीय स्पट नियालीसकेका उनलार्ई न्यू इअर इभको माहौल हेर्न मन छ । ‘पोखराका सबैजसो स्थान घुमिसकें । तर न्यू इअर इभमा हुने कार्यक्रमबारे सुनेको छु । भिडियो, फोटो देखेको छु । सुन्दा, हेर्दा मात्रै पनि लोभलाग्दो । त्यसैले साथीसँग पोखरा पुग्ने प्लान बनाएका छौं’ उनले सुनाए ।

बुटवलका नवीन पौडेल पनि इभको रौनक हेर्न पोखरा आउदैछन् । भन्छन् ‘बुटवलमै पनि विभिन्न कन्सर्टहरु आयोजना गरिएका छन् । तर पोखराको रौनक नियाल्ने योजनामा छु । हामी ७ जना साथी न्यू इअर इभमा सँगै झुम्ने तयारीमा छौं ।’ नेपालगञ्जका सुनिल थापा बिहीबार अबेर पोखरा आइपुगे । उनको गन्तव्य थियो लेकसाइड । साढे २ घण्टापछि मुस्किलले कोठा बुक गरे । उनले सुनाए, ‘सबै होटल प्याक रै’छन्, धन्न रुम पाइयो ।’ तर पहिलेको भन्द बढी पैसा तिर्नुपरेको उनको गुनासो छ ।

उता, पूर्वी सहर काँकडभिट्टाबाट पोखरा आउँदै गरेको निरज श्रेष्ठको समूह भने स्लिपिङ ब्याग र टेन्टसहित यात्रा गर्दैछ । अघिल्लो वर्ष होटल नपाउँदा ७ जनाको समूह स्कोर्पियोमै गुडुकिल्नु परेको तीतो यादले बन्दोबस्तीसहित हिडेको उनी बताउँछन् । ‘३० तारिखमामात्रै पोखरा आइपुगिन्छ, होटल त ज्यान जाला पाइन्न, पाएपनि सामान्य कोठाको पोहोरै ४ हजार भने, तैपनि पोखरा नआई मनै मानेन’, उनले अनुभव सुनाए ।

 


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad