बलात्कारकाे झुठो जाहेरी दिने पाेखराकी महिला जेल चलान

समाधान संवाददाता २०७८ साउन २ गते ११:४०

फरार सूचीमा रहेकी महिला २ वर्षपछि पक्राउ परेकी थिइन्
समाधान संवाददाता
पोखरा – कास्की प्रहरीले पोखरा ३२ मा डेरा गरी बस्ने एक महिलालाई २७ असारमा पक्राउ ग¥यो । अदालत पेस गरेपछि अहिले उनी कास्की कारागार चलान भएकी छन् । नाम सार्वजनिक नगरिएकी ती महिला २ वर्षदेखि फरारको सूचीमा थिइन् ।

अदालतले उनलाई १ महिनाको जेल सजाय तोकेको थियो । त्यो पनि २ वर्षअघि ।
भएको के थियो भने ती महिलाले आफ्ना श्रीमान्का चिनेजानेकै एक पुरुषविरुद्ध जबरजस्ती करणी उद्योग सम्बन्धी जाहेरी दिएकी थिइन् । तर अदालतले जाहेरी झुठोमात्रै ठह¥याएन उनलाई जेल सजाय पनि तोक्यो । जबरजस्ती करणीसम्बन्धी गम्भीर विषयमा झुठो जाहेरी दिनेलाई सवक सिकाउन अदालतले १ महिना जेलको सजाय दियो ।

कास्की जिल्ला अदालतका तत्कालीन न्यायाधीश काजीबहादुर राईको इजालासले गरेको फैसलामा भनिएको छ, ‘यस किसिमको कार्यलाई निरुत्साहित गरी सचेत गराउन एवं सवक सिकाउनका लागि भए पनि त्यस्ता व्यक्तिलाई न्यून हदसम्म भए पनि प्रचलित कानुनमा व्यवस्था भए वमोजिम सजाय गर्नु सर्वांगीण दृष्टिकोणले मनासिब देखिन्छ ।’ २०७६ कात्तिक ४ गते राईको इजालासले त्यस्तो फैसला गरेको थियो । त्यसपछि आरोपित ५१ वर्षे पुरुष छुटेका थिए । त्यसअघि ४७ वर्षीया ती महिलाको जाहेरीकै आधारमा उनी पुर्पक्षका लागि थुनामा थिए ।

Advertisement

घटना पोखरा महानगरपालिका ३२ को हो । जबरजस्ती करणी लगायतका मुद्दामा महिलाको नाम सार्वजनिक गरिन्न, त्यसैले अदालतको फैसलामा पनि ती महिलालाई परिवर्तित नाम ‘पोखरा११२’ उल्लेख गरिएको छ । त्यसो त विशेष प्रकृतिका मुद्दाहरुको कारबाही गोपनियता कायम राख्ने सम्बन्धी कार्यविधि निर्देशिका २०६४ सर्वाेच्च अदालतबाट जारी भएको छ । त्यस अनुसार ती जाहेरवाला महिलाको वास्तविक नामको सट्टा परिवर्तित नाम उल्लेख गरिएको पनि फैसलामा छ ।

२०७६ साल असार २४ गते ती महिलाले पोखरा ३२ को आफ्नो डेरामा पुलिस बोलाएरै ती पुरुषलाई पक्राउ गराएकी थिइन् । त्यसपछि उनले प्रहरीमा दिएको जाहेरीमा डेरामा निदाइरहेको बेला कोठामा छिरेका ती पुरुषले हात समाई लछारपछार गरी आफूलाई जबरजस्ती तान्न खोज्दा फुत्किएर भागेको र बुट्टे कुर्थाको बायाँसाइडसमेत च्यातिएको उल्लेख गरेकी थिइन् । पछि अदालतमा भने उनले बयान बदलिन् । अर्थात प्रतिकुल (होस्टाइल) बकपत्र दिइन् ।

Advertisement

अदालती बकपत्रमा उनले भनेकी थिइन्, ‘म कोठाभित्र खाटमा सुतिरहेको अवस्थामा प्रतिवादीले अत्यधिक रक्सी सेवन गरी आई दाइदाइ भनी बोलाएकाले मैले दाइ छैन तपाईं जानुहोस् भन्दा निज नमानी दाइलाई निकाल भनी ढोकामा नै बसिरहकाले आवेशमा आई प्रहरीलाई खबर गरेको एवं काम गर्दा च्यातिएको कुर्था समेत दिई पठाएको हुँ, निजले मलाई करणी गर्ने आसयले जबरजस्ती मलाई हातमा समाती लछारपछार गरी खाटमा लगेका होइनन् ।’ आवेशमा आएर आफ्नै श्रीमान्का चिनजानका ती पुरुषलाई झुठा आरोप लगाएको महिलाले अदालती बकपत्रमा स्वीकारेकी छन् ।

ती महिलाले गरेको चरित्र हत्या गर्ने, दोष लगाउने कार्य औचित्यपूर्ण नदेखिएको ठहर अदालतले गरेको छ । फौजदारी संहिता २०७४ ले गम्भीर कतिपय विषयमा झुठा मुद्दा लगाए मुद्दा लगाउनेलाई नै सजाय हुने प्रबन्ध गरेको छ । त्यही प्रबन्ध अनुसार महिलालाई १ महिना कारागार सजाय भएको हो । फैसला कार्यान्वयनका क्रममा ती महिलालाई २७ असारमा पक्राउ गरी २८ गते अदालतमा पेस गरिएको र जेल चलान गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ

तपाईको प्रतिक्रिया