Samadhan National Daily

      रनवन चहार्नु, किलोदाम्लो नछोड्नु

      पाेखरा, ११ माघ:

      प्रिय संगीनी,
      रातो सलाम !

      सरुभक्तको पुरानो कविता नयाँ मानेर पढेपछि त्यही अभिवादन रुचाएँ । यो लालसलामभन्दा तल्लो, नमस्तेभन्दा अलि माथिल्लो आयामको अभिवादन होला भन्ठान्छु ।

      नमस्तेलाई नेपालमा बालकृष्ण समले बढी फिँजाएछन् ।

      ‘सम र समका कृतिहरू’ पृष्ठ ६ मा ताना सर्मा लेख्छन्, ‘प्राचीन काठमाडौंली मूर्तिहरूमा गरुडले २ हात जोडेर नमस्ते गरेको हुन्छ, यही राष्ट्रिय परम्परालाई बालकृष्ण समले बढावा दिएका हुन् ।’

      ०७ साले क्रान्तिपछि ढोग र कुर्णेस जस्ता सामन्ती अभिवादनका तरिकालाई हटाएर समले समातामूलक ‘नमस्ते’लाई स्थापित गर्न चाहेछन् । नेपाली कांग्रेसले चाहिँ ‘जय नेपाल’भन्न रुचाएछ । भूपति कमल ढकालको ‘जय नेपालमा सिंगो नेपाल बोल्छ’ पुस्तक पढें । कांग्रेसको ‘जय नेपाल’लाई कम्युनिस्टहरूले खिस्याए ।

      म ६÷७ वर्षकी थिएँ । हामी ६÷७ जना भुराभुरीहरू पर्वत, तलातुमको हाम्रै घरको आँगनमा खेलिरहेका थियौं । एमालेले चर्को नारा लगाउँदै जुलुस निकाल्यो । सुरुमा त हामी बेस्सरी डरायौं ।

      पछि, जुलुस सेतीवेणीतिर गयो । हामीले पनि उनीहरूकै एउटा नारा भट्टयायौं, ‘जय नेपालको नाराले दुख पाए साराले …!’

      पूर्व स्मृति

      अहिले पैसा बढी चल्यो । त्यतिखेर नारा र भाषण बढी चल्थ्यो । २०५४ को स्थानीय निकायको चुनावमा हाम्रै बा एमालेको तर्फबाट वडा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो । म धमिलो सम्झिन्छु ।

      ०५६ को चुनाव चाहिँ राम्रै याद छ । सोमनाथ प्यासीले पर्वत आएर भाषण गर्नुभएको थियो । ०५७ देखि माओवाद मनमस्तिष्कमा घुस्न थाल्यो । ९ कक्षा सम्मको टप विद्यार्थी म, १० कक्षा पढ्दा–पढ्दै जनयुद्ध लड्न हिडें । बन्दना दिदीसँग नजिकिएँ । कन्चन दिदीको बोलीले लट्ठिन्थें, अहिले पनि लट्ठिन्छु ।

      कुविजा, वेदप्रकाश, सुदीपआदिको क्रान्तिकारितामा पत्यार बढ्दै गयो । मनको कुराले मन ह¥यो । किन ढाटूँ, उसलाईमैले आफ्नै दाइको रुपमा हेरें । विद्वान ठानें । कुराले प्रभावित भएँ ।

      शारीरिक सुसंगठनपटक्कै मन परेन । कालो–कालो वर्णको, हावाले उडाउँला जस्तो मान्छे । त्यो किशोरी वयमा मेरो काल्पनिकीमा म हिरो चाहन्थें ।

      तर, आकाशको तारा झार्दिने उसको कुरालाई पूरै अपत्यार गर्न सकिनँ । पार्टीले सोध्दा उसले ढाँटेछ । र, पनि पार्टीकै निर्देशनमा जनवादी विहे भयो । ऊ छोरो खोज्थ्यो, मैले छोरी पाइदिएँ ।

      प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी कार्यक्रममा ताप्लेजुङ पुगेका मनोज गजुरेलले विविध भाषामा अभिवादन गरे । ‘जय नेपाल–जय नेपाल’ भने । जय नेपाल शब्दको महत्वबोध गराए ।

      ‘जसले भन्दैन नेपालको जय हो, त्यसले त देशै छाडेर गए भो !’ युट्युबमा मनोज गजुरेल बोलेको सुन्दा–देख्दा कुरा ठीकै लाग्यो । तर, जय नेपालको बानी छैन । ‘लाल सलाम’को बानी थियो । अहिले त्यो शब्दलाई पनि सरकारी कम्युनिस्टहरूले लाजमर्दो पारेका छन् ।

      वर्तमान परिवेश

      पुसको अन्तिम शनिबार केशव दाइको निम्तो मान्न ¥यान्डम रिडर्सको कार्यक्रममा जाँदा बाटोमा वकिल भेटिए । मैले मुद्दामा कत्तिको दम छ भनेर सोधें । ‘उहाँले मुद्दा जित्नुहुन्छ’ भने । तिमी पनि म हार्न जन्मिएकी होइन भन्छ्यौ ।

      जीत, संसार जित्नेहरूकै हो । घोर निराशाका दिनहरूमा मैले ‘वीरभोग्या बसुन्धरा ….!’ को मन्त्रजप गरें । यो मन्त्रजपले निश्चितै मेरो मनलाई दह्रो पारेको छ । म झिँगाको पाखुरा सुर्काइमा डराएकै हो ।

      कत्तिको न्यायिक मनले हो, सुमनहरूले हामीलाई एउटै कोठामा थुनिदिँदा लडाइँमा उसित म हारें । त्यो हारको घाउमा खाटा बसेन । सायद बस्दैन । म नानीलाई कथा सुनाउने शब्द खोज्दैछु । तिमी पनि आफ्नो नानीलाई कथा भन्नु ।

      पीडाकै क्षणहरूमा ‘पुसः फासफुस’ भयो । मसान्तिको बिहानै तिमीलाई फोन गरें । काठमाडौंबाट प्लेनमा पोखरा आएँ भन्यौ । छोरीको हर्निया ठीक हुँदैछ । राति युट्युबमा सावित्री गौतमको लेख खोजें । व्यक्तिगत परिचय छैन । लेख मनपर्छ ।

      ‘किन भएनन् स्त्रीहरूबौद्धिक ?’ पढें । ‘बलात्कृत महिलालाई उसैले उक्साइ होली र पुरुष ‘बाध्य’ भयो होला ! भनिने समाज र यसैको उत्पादन हौं हामी !’ दोहो¥याइ–तेहे¥याइ पढें ।

      भनिन्छ, प्रत्येक क्रान्तिपछि संक्रान्तिकाल आउँछ । माघे संक्रान्ति । तिमीलाई अभिलेखीय चिठी लेख्ने जाँगर चल्यो । न्युज अपडेट हुन नेट खोलें ।

      ‘अन्नपूर्ण पोष्ट’मा ‘यस्ता पनि पतिः जसले पत्निलाई कुटेर नाबालकसहित घरबाट निकाले’ शीर्षात्मक समाचार रहेछ । एउटा शेर्पा शेर्पीनीलाई कपालमा समातेर भूइँमा घिसार्दैथ्यो । एउटी आमा मधेसको शीतलहरमा नानीसहितै कठ्याङ्ग्रिदै थिइन् ।

      ‘समाधान’को वितरण व्यवस्था असाध्य राम्रो छ । पेपर आयो कि भनेर ढोका खोलें । झम्टेर टिपें । बाहिर सरर्र हेरेर भित्री पाना पल्टाएँ । ‘मगर जातिमा माघेसंक्रान्ति’ बारे जानकारी भयो ।

      ‘पढ्नुका फाइदा’मा ‘मज्जाको निद्रा लाग्छ’, ‘लेखन शक्ति बढाउँछ जस्ता टिप्स रहेछन् । टाउकोमा सिउरें ।

      ‘एक किलो सकरखण्ड ल्याउँ है !’आमाको आदेश बोकेर कोठाबाट निस्किएँ ।

      महानगरमा माइलोमा

      पोखरा लेखनाथ महानगरपालिकामा वाम वर्चश्व छ । एकजना साथी भेट्न कार्यालयमा पसें ।

      दीर्घनारायण पौडेल, नारायण पौडेल, ओमराज पौडेल…. गण्डकी टिभीमा बारम्बार देखिने हाकिमहरू त्यहाँ ‘सेवा’ प्रदान गर्दा रहेछन् ।नेमप्लेटहरु हेरें ।

      महानगर प्रमुखले पहिलो गाँसमै ढुंगो चपाए । बृद्ध भत्ता ह्वात्तै बढाउन हतारिए । कानुनको कुरा गर्दै केन्द्र सरकारले छेक्यो ।

      रातारात सहिदको सालिक फालियो । पूर्ण कदको फालेर रातारात अर्ध कदको हालियो । मगरका नेता र महानगरका नेतृत्वले ठूलै ‘इजेत’ कमाए । सर्वसाधरण ट्वाँ छन् ।

      ढुंगोले दाँत कुँडिएरै होला आफ्नै रागले मरिच चाउरिए । डा.सुरेश आचार्यले (०७४÷१०÷१) को ‘नागरिक’मा लेखेछन्, ‘यो सुन्दर नगरी (पोखरा)मा बसेका कुरुप नागरिक पहिचान पनि बोकेर (विदेशीहरू) आफ्नो मुलुक फर्किन्छन्… मेयरका काममा हस्तक्षेप गर्न रवीन्द्र अधिकारीलाई उचित लागेन होला ….!’

      अर्का अधिकारीको कन्टेनरको रुपमा पनि प्रमुखको चित्रण गरिँदैछ । ‘महानगरमा मति भ्रष्टहरूको साम्राज्य’ सुरेश आचार्यको टिप्पणी टुप्पोबाट पलाएकाहरूलाई कटु लाग्न सक्छतर ती वाम एकताको गलगाँड बन्दैछन् ।

      गँड्याहाको साम्राज्यमा गाँड भएकै राम्रो मानिन्छ रे । जगदीशचन्द्र घिमिरेको किताबमा माइलोमाको चर्चा छ । महानगरमा माइलोमा फैलाइँदैछ । प्राइमेरी स्टेजमै उपचार नभए यो रोगको निवारण असम्भव हुन्छ ।

      माघी र माघेसंक्रान्ति

      गणतन्त्र नेपालमा जातीय सद्भाव बढेका छन् । ल्होसार, उँधौली–उँभौली, गौरा, ईद, छठ आदि अनेक चाडले महत्व पाएका छन् । तर, खल्बल्याउने खतरा राजनीतिकै छ ।

      मधेसको मुद्दालाई पेलेरै यसपालि राष्ट्रिय एकता दिवस मनाउन खोजियो । २ सय ५० वर्षअघिदेखि पृथ्वीनारायण शाहको यशोगानका गीत गाइएकै छ । ‘पन्छीमा राम्रो डाँफे’को ठोकुवाले विरह गाउने न्याउलीमाथि न्याय गर्दैन ।

      लालीगुराँसको गीतले पनि मधेसको प्याउलीमाथि अन्याय गरेको छ । पहाडका झुसे दादाहरूकै कारण मधेसमा नेपाल विरोधी भावना फैलिँदै छ । दीपक मनाङे त एउटा बिम्ब मात्रै हुन् ।

      चिठीको अन्तर्य

      ‘नेताहरूसँगको छोटो भेटघाट कार्यक्रम छ, आउनु है !’ म डाकिएँ । पोलेम कार्यालयबाट बाहिरिएँ । अकस्मात तिनी भेटिइन् । पुरुष सत्ताको दगलच्याइँमा परेका हामी दुवै पार्टी अफिसतिर गयौं ।

      मैले पटक–पटक काँतर आँखाले तिनलाई नियालेँ । तर तिनी स्वाभाविक देखिइन् । केही गम्भीर र परिपक्वता जस्तो व्यक्तित्व बढेको मैले पाएँ । तिनी आफ्ना कटु र पीडापूर्ण अनुभवहरू पचाएर परिस्थितिसँग जुध्दै थिइन् ।

      के उनको मनमा विशाल उच्छ्वास, छाल, हल्ला र भद्रगोल छैन ? छ, पक्कै छ । किनभने आत्माको आवाजलाई थिच्न, कुल्चिन सकिन्छ मार्न सकिँदैन ।

      ‘के छ सासु–ससुराले मायै गर्छन् नि ?’ मैले जानी–जानी सोधें । एक जना दार्शनिकको ‘सेल्फिसजिन’ बारे पढेकी थिएँ । नातानातिना आफ्नै जीन हुँदा हजुरबा हजुरआमाले माया गर्छन् । बुहारी अलि टाढै हुन्छे ।

      ‘माया पाउने कामले हो, म काम गर्छु !’ तिनले गज्जब उत्तर दिइन् । म मौन रहें । मनमा झनै हाहाकार मच्चियो ।

      पोहोर परारै क्याम्पसको लाइबे्ररीमा प्रश्रितको एउटा कविताको अंश सारेकी थिएँ । घोकेकी थिएँ । साथी, तिम्री पनि छोरी छे ।

      ५२ वर्ष पुरानो कविता हाम्रो लागि प्रेरक छ । पढुँ र नानीहरूलाई पढाऔं न ल !

      ‘छोरी जन्मदा थरथर काँप्ने
      काँतर बाबु–आमा खा
      निर्दोषलाई दोषी भन्ने
      समाजलाई काँचै खा !!’

      पार्टी अफिसमा सभामुखसँग हात मिलाइयो । महरा कमरेडले राष्ट्रिय राजनीति र पार्टी एकता बारे छोटो मन्तव्य राख्नु भयो । माघको पहिलो दिन, मुटु चिसो भइरहन्छ ।

      हामी कुनाको न्यानोतिर सर्दै कुरा गर्छौं ।

      ‘अतिचारै भएपछि किन त्यो पापीलाई अर्को बिहेको छुट दिने ? नानी ! तिम्रो उमेर छ, रुप छ । आफै पनि रनवन चहार्ने, किलोदाम्लो नछोड्ने गरे हुन्न ?’ मलाई आमाले सल्लाह दिनु भाथ्यो ।

      यसबारे फेरि पछि, आज यत्ति ।

       

      nyaupane.aastha@gmail.com


      प्रतिकृया दिनुहोस्

      अस्ट्रेलियामा पाइलैपिच्छे पेनाल्टी

      नेपालदेखि आएका बहिनी–ज्वाइँलाई एयरपोर्टबाट पिकअप गरेर आफ्नै घरतर्फ फर्कंदै गर्दा सिड्निको रकडेल स्थित ट्राफिक लाइटको रेडलाइटमा परे रकडेलकै युवा व्यावसायी विकास सेढाइ । त्यसको १५...