• Ad

Samadhan National Daily

  • Ad

को भक्कानिँदैन ?

पाेखरा, १३ माघ:

मै उडी जाने काँ, ए देई हो मै उडी जाने काँ ?
नै मेरा पंख, नै मन चंख मै उडी जाने काँ ?

संगीत स्रोताको यो गीतले उडिजानको लागि पंखको कल्पना गरेको छ । तर, यहाँ यस्ता २ पात्र छन्, उड्ने पखेटा त के हिँड्ने खुट्टाको कल्पनासम्म गर्न सकिँदैन ।

भूइँचालोले भत्काएको पुरानो घरको पिंढीमा ओछ्याएको पुरानो गुन्द्रीमा उनीहरु छन्, चुपचाप । जब उनीहरुलाई कसैले देख्छ, आँखाहरु रसाउनेछन्, रोकिनेछन् पाइलाहरु, बन्द हुनेछन् आवाजहरु र मानवीय संवेदनाको घनले हिर्काउनेछ मनका छेउकुनामा, ड्याङड्याङ । आर्वाको डिहीगाउँको यो घरमा पुग्दा सायद मान्छेको अहमता गल्र्यामगुर्लुम ढल्छ, जब देख्छ उनीहरुलाई ।

७० सालको भूकम्पले भत्काएको घरभन्दा कमछैन सायद, चेतबहादुर र शिवबहादुर जीवन । दाइ चेतबहादुर भए पनि उनलाई कुनै कुराकोे चेत छैन । नत भाइ शिवसँग भगवान शिवकोजस्तो शक्ति छ ।

अभिभावकले सुताइदिन्छन् । ज्यान पाट्टिए यताउति गर्न पनि अरुको सहारा चाहिन्छ । अरु त अरु दिसापिसाब लागेको समेत उनीहरुले चाल पाउँदैनन् ।

उमेरले चेतबहादुर ३१ पुगे, शिव २४ । उनीहरुकै उमेरका छिमेकी युवा कतिले स्वदेशमैै पसिना बगाउँदैछन्, कति विदेशबाट कमाएर ल्याएर जहान परिवार पाल्दैछन् । जन्मजात पूर्ण शारीरिक अपांगता लिएर आएका २ दाजुभाइको जीवन भोगाइ कम्ती असजिलो छैन ।

न बोल्न सक्छन्, न यताउति चल्न चलबलाउन । ५३ वर्ष टेकेकी आमा देवुु नेपाली भन्छिन्, ‘छोरा जन्मे भनेर खुसी भइयो, काखमा छञ्जेल भ्यागुतोजस्तो फœयाकफुत्रुक उफ्रन्थे, जति बढ्दै गए उति चल्न सक्न छाडे ।’

गोडा तेस्र्याएर राख्दा २ जनालाई अलग अलग गुन्द्री चाहिने भएकाले सानैदेखि दुवैजनाका गोडा शरीर तलबाट हातजस्तै अगाडि ल्याएर राख्ने गरेको उनकी आमा सुनाउँछिन् । असजिलो हुँदैन त, आमाको भनाइ थियो, ‘उनीहरुले यसरी नै सजिलो मान्ने गरेका छन् ।

पोखरा महानगर– १३ को डिही गाउँमा बाक्लै घर छन् । चाक्ला आँगन अनि सुलुत्त परेका पिँढीसहित ढुंगे छानाका ३ तले घरजति खाली छन् । छानामा खर र आँगनमा झार पलाएको छ । तिनै खाली घरभन्दा केही माथि छ पूर्णबहादुर नेपालीको पुरानो घर । ७० वैशाखको भूइँचालोले घर चिरिएर गारो नै चोइटिएको छ । त्यही घरमा टालटुल गरेर बसेको छ उनको परिवार ।

पुननिर्माणको लागि ५० हजार बुझे पनि त्यो पैसा कता खर्च भयो थाहा छैन । ‘खै २ लाख रुपैयाँ पाइन्छ भन्थे, सिमन्टी, छट महंगा छन्, ढुवानी गर्न गाडी भाडा तिरिनसक्नु छ, अरु पैसा त पाइन्न कि क्या हो,’ पूर्णबहादुरले सुस्केरा हाल्दै भने ।

अपांगता भएका २ छोराको बारेमा कसैले सोध्यो कि देवुुका आँखा रसाइहाल्छन् । उनको मन अमिलिएर आउँछ । ‘हेर्नु त बाबु मेरो कोख नराम्रो त हैन के, ३ छोरा ३ छोरी पाएँ, क्यार्नि त नि मेरो कर्म खोटी रैछ, छोरोको कमाइ खाने कर्म रैनछ, यसो साँझ बिहान, घरबाट निस्कन खोज्यो, कि त यी २ केटा मुख निन्याउरो पार्छन्, मेरै कर्म धिक्कार्छु, बस्छु,’ उनले दुखेसो पोखिन् ।

विदेशबाट फर्केर सुकिला लुगा लगाएर कोही युवा गाउँमा पस्दा उनलाई लाग्छ– यी छोरा सग्ला भइदिएको भए म कति भाग्यमानी हुन्थें होला । नयाँ लुंगी फेर्न दसैं कुर्न पर्थेन । उराठ लाग्दो गाउँ छाडेर कतै अलि सजिलो ठाउँमा सानो घर बनाएर नातिनातिना खेलाउँथें ।

नातिनातिनाको दिसा पिसाब स्याहार्ने बेलामा वयस्क छोराहरुकै स्याहारमा उनको दिन बितेको छ । मनभित्र परेको गाँठो कतिबेलै फुक्दैन । घरमा नौलो व्यक्ति कोही आउँदैन । आएदेखि मनको पीडा पोख्न मन लाग्छ उनलाई । भन्छिन्,‘मेरो दुख सुनाएर कम हुने छ हैन हजुर, तैपनि अलि हलुका हुन्छ सुनाउन पाएदेखि ।

पोखरा नजिकैको अर्मला हो, देवुुको माइती । १५ वर्षमा बिहे भयो पूर्णबहादुुरसँग । देवुु २० वर्ष पुग्दा छोरा जन्मे । तर पहिलो सन्तान सानैमा खेर गयो । त्यसपछि छोरी सीता जन्मिइन् । त्यसको २ वर्षपछि चेतबहादुर जन्मे । ६ मध्ये ५ सन्तान बाँकी छन् अहिले । २ छोरीले घरजम गरिसके । सबैभन्दा जेठी सीता भने बिहे नगरी बसेकी छन् ।

बिहे कहिले गर्ने त ? प्रश्न खस्न नपाउँदै सीताको उत्तर आउँछ, ‘मैले बिहे गरे बाआमा बितेपछि यी भाइलाई कसले स्याहार्छ ।’ अपांगता लिएर जिएका २ भाइकै मायाले सीताको ध्यान घरजमतिर कहिल्यै गएन ।

आफ्नो नाममा भएको जग्गा घर र गोठले ओगट्यो । खेती गर्न आफ्नो जमीन छैन । अधियाँ कमाउन त जग्गा पाइन्छ । तर अहिले खेती गर्न निकै महंगो पर्छ । भनेको बेलामा खेताला पाइँदैन । गाउँघरतिर गोरु पाल्न पनि छाडिसके ।

‘त्यही पनि अर्कोकै जग्गामा खेती गरेर पेट पालिएकै छ हजुर,’ देवी भन्छिन् । पूर्णबहादुर डकर्मी हुन् ।

पहिला गाउँमा दिन नबिराइ काम पाइन्थ्यो । ज्याला पनि राम्रै थियो । अहिले त गाउँमा भएका सग्ला घर त छाडेर सहर भरिएको बेलामा उनका गाउँतिर कसैले घर बनाउँदैनन् । त्यसैले अहिले पूर्णबहादुर पूरै बेरोजगार छन् ।

दाउरा, काठ काट्न पनि उनको हातले मिल्दैन, काममा जाँदा लडेर भाँच्चिएको हात, कुहिनोबाट खुम्चिन्न, सिधाको सिधै हुन्छ । तै पनि पिउने बानी छ, सानो तिनो कामबाट आएको पैसाले आफैलाई पु¥याउन धौ पर्छ ।

घरमा यस्ता छोराहरु छन्, सहयोग त आइरहेको होला नि ? यो प्रश्न सुनेपछि देवुु घोरिइन् । छिमेकीले उनीमाथि आरोप लगाइरहन्छन्– २ छोरा अपांग छन् भनेर माग्दै हिँडेपछि सहयोग आउँछ, त्यसैले पूरै परिवारको खाँचो टरेको छ । तर देवुुको पीडा आफैसँग छ । जिल्ला महिला तथा बालबालिका कार्यालयले २ छोरालाई पूर्ण अपांगताको परिचय पत्र दिएको छ ।

त्यसैको भरमा १ जनाले महिनाको २ हजार रुपैयाँ पाउँछन् । त्यो पनि ४ महिनाको १ चोटि आउँछ । पहिला वाणिज्य बैंकमा खाता थियो । झिक्न पोखरा नै झर्नुपथ्र्यो । अहिले जनप्रतिनिधि आएपछि बैंकले गाउँमै ल्याएर भत्ता दिने गरेको छ । छोराहरुको कार्ड बनाउन पनि ६ दिन पोखरा धाउनु परेको थियो देवुुलाई ।

अपांगता भएकाको क्षेत्रमा काम गर्दै आएको सिबिआरएस संस्थाले केही वर्ष अघि २ छोरालाई दूध खुवाउन भन्दै १८ हजार रुपैयाँ दियो । त्यसैबाट उनले लैनो भैंसी किनिन् । अहिले त्यही भैंसीको एउटा थोरे पाडी छ । ब्यायो भने छोराहरुलाई दूध खुवाउने रहर छ उनलाई ।

दृष्टिविहीनहरुको संस्थाले पाटनबेसीको ताराकुञ्ज स्कुलमा बोलाएर २४ हजार रुपैयाँ सहयोग गरेको सम्झना छ उनलाई । त्यही सहयोग थाप्ने दिन गाडी भाडामा लिँदा ६ हजार रुपैयाँ खर्च भयो । अपांगताको कार्ड बनाउन छोराहरुलाई पोखरा झार्दा पनि ६ हजार रुपैयाँ खर्च भएको थियो । त्यतिबेलाका वडा सचिवले यत्रो सहयोग पाउँदा मलाई कत्ति पनि दिन्नौं भनेपछि १ हजार रुपैयाँ थमाइदिइन् देवुुले ।

पोहोर बर्खा सकिएपछि भद्रकाली मावि जुनियर रेडक्रस सर्कलको टोली सहयोग लिएर डिही गाउँ पुगेको थियो । ‘हामी हात थाप्दै हिँडेका छैनौं हजुर, हाम्लाई दुख परेको छ अरे भन्ने सुनेर सहयोग लिएर कोही घरमै आउनुहुन्छ,’ देवुुले बिसाइन् ।

नजिकैको आर्बा गाउँका वसन्त शर्मा अधिकारीले केही समय अघि १ बोरा चामल नुन, तेल, बिस्कुट ल्याइदिएको सम्झना छ उनलाई । चुनावका बेला देवुुको घरमा भोट माग्न कोही आएनन् । बाटोमै भेटिएका बेला खै कुन कुन पार्टीकाले हो पर्चा दिँदै भोट मागेका थिए ।

देवुुले दुखको पोको खोलिन् ‘भोट त आफूलाई मन परेको चिह्नमा हालियो, आफ्नो दुख जस्ताको तस्तै छ ।’

पोखराकै एउटा संस्थाले ट्वाइलेट कुर्सी र ह्विल चियर पनि दिए । तर त्यो पाखामा ह्विल चियरको के काम । माटोले लिपेको पिँढीमा गुडाउन मिल्दैन । आँगनमा गुडाउँदा तल्लो गरामा खस्ला कि भन्ने पिर ।

आमा देवुुले भनिन्, ‘माथिल्लो गाउँमा एकजना अपांग छन् उनैलाई दिएर पठाइदिएँ, मैले त ह्विल चियर ।’

यता आमा अरुसँग कुरा गरिरहँदा २ दाजुभाइ चेत र शिवबहादुर पाली नभएको घरको पिँढीमा ओछ्याएको पुरानो गुन्द्रीमा घोप्टो परिरहेका थिए । २ भाइ कुनै बेला टाउको हल्लाएर गफ गरेजस्तो गर्छन्, अनि हाँस्छन् पनि । आँगनामा अरुले कुरा गर्दा उनीहरु कान ठाडो पार्छन् । यसबाट यसबाट सहज अनुमान गर्न सकिन्छ, उनीहरु कान राम्रोसँग सुन्छन् ।

दाइ खै भनेर सोध्दा शिवले दाइतिर फर्केर उ भन्छन् । दाजु चेतलाई सोध्दा पनि उसै गर्छन् । बोली नबुझिने भए पनि उनीहरु आमा र दिदीसँग बात मार्छन् । आमा र दिदीले बुझेजस्तै गरी टाउको हल्लाइदिन्छन्, उनीहरु मख्ख पर्छन् ।

गर्भमा हुँदा खोप र पोषिलो खानेकुरा नपुगेर हो कि त यस्तो भएको भन्दा आमा देवुुको उत्तर थियो, ‘हैन नि हजुर खै के के हो खोप लाउनी, आइरन चक्की खानी भनेर स्वास्थ्यचौकीकी सिस्टरले सिकाउनु भएको थियो, यी छोराका पालामा त सबै थोक गरेकै हो ।

बरु २ वटा छोरीका पालामा खोप लाउन पाइएन ।’

आमा र दिदीले जे खुवाइदियो त्यही खान्छन् उनीहरु । तर मम उनीहरुको सबैभन्दा रुचाउने परिकार हो । परिवारका कोही बजारतिर झर्दैछन् भन्ने थाहा पाए भने दुवैजनाको एउटै माग हुन्छ, मम ।

आमा भन्छिन्, ‘कहिलेकाहिँ बजारबाट मम ल्याइदिन बिर्सियो कि त यी रोएर बसिनसक्नु हुन्छ ।’

 


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad