Samadhan National Daily

      गर्भ रहेको थाहा पाएपछि प्रेमिकाको हत्या गरे ‘प्रदीप’ले

      पर्वत, २२ माघ:

      बागलुङकी एक युवतीको हत्या भएको पुष्टि भएको छ ।

      वागलुङको जैमिनी नगरपालिका ८ की कमला शर्मालाई पर्वतको बिहादी गाउँपालिका २ बर्राचौरका विक्रम भनिने प्रदीप पराजुलीले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको हो ।

      २२ वर्षीया शर्मा यही माघ ५ गतेदेखि वेपत्ता भएपछि परिवारले खोजी गरेका थिए । खोजतलासकै क्रममा माघ १७ गते उनको शव कालीगण्डकी नदी किनारमा फेला परेको थियो ।

      विक्रम भनिने प्रदीप पराजुलीले शर्माको हत्या गरेको भनेर गाउँलेलाई भनेपछि प्रहरीले उनलाई पक्रेको थियो । उनको वयान र घटनाको मुचुल्काका आधारमा पक्राउ परेका व्याक्ति प्रदीपले नै कमलाको हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताए ।

      अदालतबाट म्याद थपेर घटनाको अनुसन्धान भइरहेको छ । युवतीको शव कालीगण्डकी गाउँपालिका ४ गुल्मीमा भेटिएकाले जिल्ला प्रहरी कार्यालय गुल्मीमा अनुसन्धानको लागि पठाइएको थियो ।

      तर प्रारम्भिक अनुसन्धान पश्चात उक्त घटना पर्वत जिल्लामा घटेको हुनाले गुल्मी प्रहरीले सबै मिसिल जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । सबै मिसिलहरुको अनुसन्धान पश्चात हत्या नै भएको पुष्टि भएको हो ।

      कमला र प्रदीपका बीचमा केही समयदेखि प्रेम सम्बन्ध थियो ।

      माघ ५ गते कमलाले प्रदीपलाई भेटन बोलाएकी थिइन् । दुबैजना कालीगण्डकी तिरमा भेट्ने निधोमा पुगे ।

      दुबैजनाका बीचमा सञ्चो बिसञ्चो सोधेपछि आफ्नो महिनावारी रोकिएकोे कमलाले प्रदीपलाई सुनाइन् । उनीहरुका बीचमा समय समयमा यौनसम्पर्कहुँदै आएको थियो । यौनसम्पर्क राखेको हुनाले कमलाको गर्भमा वच्चा रहेको कारण महिनावारी रोकिएको प्रदीपले अनुमान गरे ।

      कमलाले गर्भपतन गराउने सल्लाह गर्न प्रदीपसँग भेटन बोलाएकी रहिछन् । गर्भपतन गराउँदा समाजमा सबै कुरा खुल्ने डरले कमलालाई प्रदीपले सलको पासो लगाएर बौरको फाँटमा मारेर नदी किनारमा फालेका थिए ।

      उनले एक्लै कमलाको हत्या गरेको वयान दिएका छन् । हत्या गरेर उनले शव नदीमा बगाएका थिए ।

      पछि खोजी गर्दै जाँदा शव हत्या गरेको केही तल नदी किनारमा फेला परेको थियो ।


      प्रतिकृया दिनुहोस्