• Ad

Samadhan National Daily

  • Ad

सांसदका समृद्धि सपना

पाेखरा, २३ माघ:

संघीयता कार्यान्वयनका क्रममा पहिलोपटक प्रदेशसभा बैठकमा सहभागी सांसद निकै उत्साही देखिएका छन् । लामो संघर्षपछि संविधानसभामार्फत संविधान बनेर साँच्चिकै संघीयता कार्यान्वयनमा आइसक्दा राजनीतिक स्थिरितासँगै अब समृद्धिको ढोका खोल्नुपर्नेमा उनीहरुको जोड थियो ।

प्रदेश नम्बर ४ को प्रदेश सभा पहिलो बैठकमा सोमबार बोल्ने र बाहिर प्रतिक्रिया दिने सबै सांसदको एकै स्वर थियो, ‘अब समृद्धिका लागि दलीय स्वार्थबाट माथि उठ्नुपर्छ ।’ प्रदेश नम्बर ४ जलस्रोत, पर्यटन, कृषिमा अब्बल रहेको भन्दै उनीहरुले अब खास योजना बनाएर अरु प्रदेशभन्दा उत्कृष्ठ बन्न सबैले जोडबल गर्नुपर्ने बताए ।
एमाले सांसद पृथ्वीसुब्बा गुरुङले नेपालको एकीकरणको सुरुआत यही प्रदेशको गोरखाबाट सुरु भएकोले अब आर्थिक समृद्धि पनि यहींबाट सुरु हुने उद्घोष गरे । ‘गौरवपूर्ण गाथालाई हामीले भुल्न हुँदैन,’ उनले भने, ‘अखण्ड र एकीकृत देश निर्माणमा प्रदेश नम्बर ४ सधै कटिबद्ध हुनेछ ।’ यो प्रदेशमा अझै ९ प्रतिशत जनता स्वच्छ खानेपानी र १५ प्रतिशत जनता बिजुलीबाट बञ्चित छन्, ५ वर्ष भित्रमा हामीले पूरा गर्नुपर्नेछ ।’ हिमाल देखि तराई क्षेत्र भयो यो प्रदेशमा सामाजिक न्यायका आधारमा समानुपातिक विकास गरेर गरिबीको रेखामुनि रहेका १४ प्रतिशत नागरिकको हैसियत अरु सरह पु¥याउन आफूहरुले खाका बनाउने प्रतिबद्धता उनले जनाए । प्रदेशलाई समृद्ध बनाउने पहिलो सर्त नै दक्षजनशक्ति र सुशासन रहेको भन्दै उनले भने,‘जनतासँग गरिएको प्रतिबद्धतालाई कार्यान्वयन गर्न लागि पर्नेछ ।’

एमालेका सांसद किरण गुरुङले दल सानो ठूलो भएपनि प्रतिस्पर्धी नभई यो प्रदेशलाई कसरी समृद्ध बनाउने भनेर नै आएको बताए । ‘सत्तापक्ष र प्रतिपक्ष जे भए पनि समृद्ध प्रदेश बनाउने लक्ष्य सबैको हो,’ उनले भने, ‘मिलेर अघि बढियो भने समृद्धि हासिल हुन्छ ।’ संघीयता सुन्दर फूलबारी भएकोले नयाँ राजनीतिक संस्कारलाई अगाडि बढाएमा परिर्वतन सम्भव भएको गुरुङको भनाइ थियो ।

नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले भारत र चीन जोड्ने सडकलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले मुक्तिनाथ, देवघाट र गजेन्द्रमोक्ष धामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिए । विकासका प्रशस्त सम्भावना रहेको यो प्रदेशलाई समुन्नत बनाउन कांग्रेसले अंगीकार गरेको नीति अनुसार अघि बढ्न उनको सुझाव थियो ।
माओवादी केन्द्रका हरिबहादुर चुमानले एकात्मक सोच त्याग्न जरुरी रहेको बताउँदै देशको नेतृत्व नै ४ नम्बर प्रदेशले गर्नुपर्ने बताए । नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले देशमा प्रतिबद्धता गर्ने धेरै र काम गर्ने थोरै हुँदा आर्थिक समृद्धि हुन नसकेको जिकिर गरे ।

कांग्रेस सांसद दोबाटे विकले दलगत स्वार्थ भन्दा माथि उठेर काम गर्ने बेला आएको बताए । उनले जनतालाई कसरी सुखी बनाउन सकिन्छ त्यसतर्फ सांसदको ध्यान जानुपर्ने बताए । नेकपा माओवादीका सांसद नेत्रनाथ अधिकारीले पहिचान र अधिकारलाई सही रुपमा स्थापित गरे मात्र संघीयता सफल हुने बताए ।
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले भौतिक पूर्वाधारको कमीले गाउँहरु पछि परेको भनाइ राखे । सामुदायिक विद्यालय, सरकारी अस्पतालको अवस्था नाजुक भएको भन्दै सुधारको खाँचो औल्याए ।

एमालेका सांसद सिर्जना शर्माले जनताले दिएको जिम्मेवारीलाई पूरा गर्न हरसम्भव लागि पर्ने बताइन् । प्रदेशलाई समृद्ध बनाउन सबैले मिलेर काम गर्नुपर्ने भनाइ उनको थियो । कांग्रेसका सांसद ललितकला गुरुङले यो प्रदेशमा अवसर चुनौती दुबै रहेको औंल्याउनुभयो । उहाँले नमुन प्रदेश बनाउनेतर्फ प्रदेश सभाले काम गर्नुपर्ने बताउनुभयो । नेकपा माओवादीका सांसद गायत्री गुरुङले प्रदेशलाई समृद्ध बनाउन युवा बेरोजगारी मुख्य चुनौती रहेको बताइन् ।

सोमबारको बैठकमा सभामुखको भूमिकामा रहेका ज्येष्ठ सांसद जनकलाल श्रेष्ठले प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाएलगत्तै प्रदेश सभा सञ्चालन अन्तरिक कार्यविधि पारित गरिएको थियो । त्यही कार्यविधिमा टेकेरै बैठक सञ्चालन गरिएको थियो । प्रदेशसभाको बैठकले सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि अध्यक्ष मण्डल चयन गरेको छ । अध्यक्ष मण्डलमा गायत्री गुरुङ (माओवादी), टेकबहादुर घर्ती मगर(जनमोर्चा), धनमाया पोखरेल लामा(नया शक्ति), मनकुमारी गुरुङ(कांग्रेस) मित्रकुमारी गुरुङ सुवदी(एमाले) चयन भए ।

प्रदेश ४ प्रदेशसभाको सभामुख चयनका लागि फागुन ३ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मिति तय गरेको हो । प्रदेशसभामा वाम गठबन्धनको बहुमत छ । वाम गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रको भागमा परेको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad