प्रधान सम्पादक ज्ञवाली र उपसम्पादक कुँवरसहित ५ पत्रकार पुरस्कृत, भण्डारी र खनाललाई सम्मान

समाधान संवाददाता २०८० वैशाख १४ गते १६:०७

पोखरा ।
प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५ देखि ०७९ पाँच पत्रकारलाई प्रदान गरिएको छ । दुई दशकभन्दा बढी समयदेखी पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरुलाई प्रेस चौतारी कास्कीले बिहीबार पुरस्कार प्रदान तथा सम्मान गरेको हो ।

समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवाली, चौतारी कास्कीका पूर्व अध्यक्ष तथा समाधान दैनिकका उपसम्पादक श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, चौतारी कास्कीका सल्लाहकार केशव, चौतारीका केन्द्रीय सचिव र सुष्मा पौडेललाई पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारको राशि जनही रु ११ हजार १११ र सम्मानपत्र छ । कार्यक्रममा प्रेस चौतारी कास्की सम्मान २०७९ पत्रकार राजु भण्डारी र सावित्री खनाललाई अर्पण गरिएको छ ।

Advertisement

नेकपा एमालेका उपमहासचिव तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताए । पूर्वमुख्यमन्त्री गुरुङले संविधान, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षामा सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

‘जनताका समस्या हटाउन, आवश्यकता पुरा गर्न अब सबै ठूला पुराना राजनीतिक दल संगठित हुनुपर्छ,’ गुरुङले भने, एमाले र नेपाली कांग्रेसको विकल्पमा बनेको नयाँ दलहरुको भविष्य छैन, दर्शन र सिद्धान्त स्पष्ट नहुने पार्टीबाट विकासको अपेक्षा गर्न सकिँदैन ।

Advertisement

एमालेका सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज पद्मा अर्यालले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी जनतालाई सुसूचित गर्न प्रेस जगत सधैँ सचेत हुनुपर्नेमा जोड दिइन् । प्रेसले घट्ना घटेको जानकारी मात्र होइन घट्ना घट्नुको कारण पनि खोज, अनुसन्धान गर्नुपर्ने अर्यालले सुझाव दिइन् ।

पुरस्कारले हौसला प्रदान गरेको रामकृष्ण ज्ञवाली र सुस्मा पौडेले बताए । सबैभन्दा ठूलो कुरा स्वाभिमान रहेको भन्दै अबका दिनमा अझै क्रियाशिल भएर लाग्ने उनीहरुको भनाइ थियो ।

एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले संविधानको रक्षाका लागि पत्रकार राजनीतिकभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याए । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाली प्रेसले लोकतन्त्रका पक्षमा कलम चलाउँदै आएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया