• Ad

Samadhan National Daily

  • Ad

सफा पानी: समाजिक उत्तरदायित्व

पाेखरा, २५ माघ:

आ–आफ्नो समयका नायक माओत्से तुङ र बिपी कोइरालाको भेटमा, बिपीले जिज्ञासा राखे,‘देश विकासको कुनै फर्मुला छ ?’ माओले एउटै वाक्यमा भने,‘आफ्नो देशका नागरिकलाई शुद्ध पानी खुवाउनुस् ।’

बस् कुरा यति थियो तर बिपी कोइरालाका प्रतिनिधि मण्डलका सदस्यले पानी खाएर पनि देश विकास हुन्छ भनेर मजाक गरे । वास्तविकता फरक थियो,अन्तर्य धेरै रोग पानीको कारणबाट लाग्छ भन्ने थियो। पानी संक्रमित भयो भने रोगले छिटो समात्छ । शुद्ध पानी मात्रै नागरिकलाई खुवाउने हो भने नागरिकहरूहट्टाकट्टा र स्वस्थ रहन सक्छन् । जनताले आफ्नो काममा कुशल कार्यसम्पादन गर्न सक्छन्, हरेक नागरिकको कामको योग नै विकासको गठजोड हो भन्ने मान्यता माओको रहेछ ।
पोखरालाई धेरैले धेरै पटक पर्यकटीय सहरको उपमा दिएका छन्। तर, पोखरा वास्तवमा पानीको चरित्र भएको सहर हो । पर्यटक आउनु पूर्व नै पोखरामा पानी आएको थियो । आकाशबाट धेरै वर्षाद हुने ठाउँ हो पोखरा । हिमाल पग्लिएर बग्ने नदी, हतार–हतारमा झर्ने छाँगा–झरना, नदी भेट्न आतुर खोला, भलादमी भएर बस्ने ताललगायत पानीका सबै स्रोत पोखरामा छन् । यिनै मान्यता र आधारका कारण पनि पोखरा पानीको चरित्र भएको सहर हो ।

‘पानी बगेको बग्गै छ, न पानी डाँडाका न पानी भाँडामा’ भने जस्तो बसाइँसराइ र जनघनत्वका कारण पोखराले पानीको अभाव खेपी रहेको छ । जसरी जंगलमा काठ तस्करी, जमिनमा दलाल र जलमा याने कि पानीमा ऐन मौकामा जलमाफियाहरुले चौका हानीरहेका छन् र उनीहरुलाई दाउ लागिरहेको छ । त्यसैले त हामी दूधभन्दा महँगो पानी पिउन विवश र बाध्य छौं । भूमिगत पानीलाई बोरिङ गरी ट्यांकर मार्फत् उपभोक्तासम्म पु¥याउनु र पानीलाई बोटलमा शीलबन्दी गरी बेच्नु पुँजीवादको विशेषता हो । अब धर्मशालामा पानीका घैंटा भेटिँदैनन् । मानवचोला अन्न–पानीमा आश्रित छ । पानीबिनाको जिन्दगानी कल्पना समेत गर्न सकिँदैन् ।

पहिलो पटक विसं १९७६ सालमा बालधाराको पानीलाई पाइपलाइनबाट वितरण गर्न शुरु गरिएको पोखरामा विसं २०२१ सालमा भोटी खोला परियोजना, २०३५ मा कालीखोला र २०४४ सालबाट मर्दी खोलालाई खानेपानी स्रोतका रुपमा प्रयोग गरिँदै आएको देखिन्छ । विसं २०२९ सालमा सरकारी तवरबाट पानी गोशराका रुपमा स्थापित भएर खानेपानी वितरणको व्यवस्थित विकासमा लागेको पानी अड्डा विसं २०४६ कातिक ११ गते नेपाल खानेपानी संस्थानका रुपमा स्थापित भयो ।

सहरीकरणसँगै, बसाइँसराइ र बढ्दो जनसंख्याका कारण पोखरामा अहिले झन्डै ४ लाख जनसंख्या पुगिसकेको छ । ५ प्रतिशतका दरले जनसंख्या बृद्धि भइरहेको तथ्यांकमा उल्लेख छ । विसं २०१६ सालमा पोखरा नगरपालिका भइ विसं २०५२ सालमा पोखरा उप–महानगरपालिका र २०७३ सालमा पोखरा महानगरपालिका बनेपछि ग्रेटर पोखराको अवधारणा आइसकेको हो । स्थानीय सरकार पोखरालाई स्मार्ट सिटी बनाउने धुनमा छन् । स्मार्ट सिटीका सिटिजन उपचार गरिएको पानीको प्रतीक्षामा छन् । जहाँ महानगरपालिकाका मेयरले स्वयंले सार्वजनिक धाराको पानी पिएर नागरिकलाई आस्वस्त गराउन अपरिहार्य छ ।

प्रत्येक दिन एक जना मानिसलाई ४५ लिटर पानी आवश्यक पर्छ । जसमा ३ लिटर पिउनका लागि अपरिहार्य मानिन्छ । पोखराको जनसंख्या र पानीको मागलाई हेर्दा दैनिक ६ करोड ५० लाख लिटर पानी आवश्यक छ । सुख्खा याममा मर्दी खोलाबाट ४ करोड ५० लाख लिटर पानी आपूर्ति हुन्छ भने नेपाल खानेपानी संस्थानसँग ५ करोड लिटर पानी भण्डार गर्ने क्षमता छ । दैनिक २ करोड लिटर पानी पोखरालाई अभाव भइरहेको छ । ४ सय ५० किमी पाइप लाइन विस्तार गरिएको छ । हरेक वर्ष ३ हजार मिटर पाइप लाइन विस्तारको माग भइरहेको छ । पोखरामा ३४ हजार ८ सय ९९ धारा जडित छन् । जसमध्ये ४ सय ३९ धारा मिटर रहित छन् । ३ सय ९८ सरकारी धारा अन्तर्गत १ सय ८९ वटामा मिटर छैन् । जम्मा २ वटा सार्वजनिक धारा र ५ वटा इनार प्रयोगमा रहेका छन् ।

नेपालको चेरापुञ्जी भनेर चिनिने पोखरामा हिमाल, ताल, नदी, खोला, झरना, दह, कुण्ड, पोखरी, इनार र बोरिङ जलस्रोतका रुपमा रहेका छन् । खानेपानीका रुपमा बाल धारा, भोटी खोला, काली मुढा, माझा कुना, घट्टे खोला र मर्दी खोलालाई पानी आपूर्तिको स्रोत मानिएको छ । जसमा मर्दी खोला प्रमुख स्रोतका रुपमा रहेको छ । यिनै उपलब्ध स्रोतबाट आएको पानीलाई विन्ध्यवासिनी, लामाचौर अमला बिसाउनी, माटेपानी र बाल धारामा ट्यांकी राखी वितरण प्रक्रियालाई व्यवस्थित बनाउने काम गरिएको भए पनि पोखराको खानेपानी उपचार नगरी केवल सामान्य थेग्ग्राउने र क्लोरिन मात्रै प्रयोग गरेर धारामा पठाउने गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार ७५ प्रतिशतभन्दा बढी रोग पानी प्रदूषित र संक्रमित हुँदा लागेको पाइन्छ । सफा र शुद्ध खानेपानी पाउने नागरिकको अधिकार हो भने सहज उपलब्ध गराउनु राज्यको दायित्व पनि हो । नागरिकस्तरमा प्रत्यक्ष सम्बन्ध रहेको हुँदा शुद्ध खाने पानीका लागि सरकारी, गैर सरकारी र सार्वजनिक क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुको विकल्प देखिँदैन् । पोखरा खानेपानीको प्रमुख स्रोत मर्दीलाई संरक्षण, संवद्र्धनका साथै सरसफाइ सहित वितरण सुधार गर्ने पहल र प्रयासहरु भइरहेका छन् । ९९ वर्ष पुराना पाइपहरु हटाएर व्यवस्थित रूपमा नयाँ पाइप राख्नु आवश्यक देखिन्छ । पानी उपचार गर्ने ट्रिटमेन्ट प्लान्ट बनाइ खानेपानी भण्डारणको क्षमता बृद्धि गर्नुपर्नेछ । गुणस्तरीय खानेपानी वितरणका लागि वितरण प्रणालीलाई चुस्त दुरुस्त बनाउनु पर्नेछ ।

वर्गीय हकहितको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले पोखराको जेठो संस्थाको रूपमा विसं २०११ सालमा स्थापना भएको पोखरा उद्योग वाणिज्य संघले आफूलाई वर्गीय दायरामा मात्र सीमित नराखी यस क्षेत्रको सर्वांगिण विकासमा विस्तार गरी सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ । गैर नाफामुखी संघले उद्योग व्यवसाय एवं यस क्षेत्रको विकास निर्माणसँग सम्बन्धित समसामयिक विविध विषयहरु लगायत शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिमा पैरवी गर्दै आइरहेको छ ।

स्रोतको संरक्षण, मुहानको सफाइ र नागरिकलाई स्वच्छ खाने पानी उपलब्ध गराउनु राज्यको दायित्व हो भन्ने कुरा त जगजाहेर नै छ । असीमित काम र सीमित साधन–स्रोतका बीचमा यी सबै कार्य सम्पादन गर्नु चुनौती थियो । विसं २०७३ माघ २५ गते पोखरा उद्योग वाणिज्य संघले आफ्नो स्थापनाको ६३ औं वार्षिकोत्सवका अवसरमा पोखराको खानेपानीको मुहान मर्दीलाई सफा राख्ने मस्कतले आफ्नै पहल र प्रयासमापोखरा लेखनाथ महानगरपालिका, नेपाल खानेपानी संस्थान पोखरासँग हालेमालो गरेर स्रोत सफा राख्ने कामलाई पूर्णता दिएको छ ।

खानेपानीको मुहान माथिल्लो तटीय सैदी घट्ट, सिदिङ, लुम्रे, घलेल, खोराको मुख, रिभान, हेमजा क्षेत्रमा शवदहन गृह, सार्वजनिक शौचालय र कपडा धुने ठाउँ निर्माण गरी स्थानीय सरोकारवालालाई हस्तान्तरण गरिसकेको छ । यो नमुना कामले संघको गरिमा र प्रतिष्ठा बृद्धि भएको छ । आफ्नो स्थापनादिवस केवल गोष्ठी र झिनो औपचारिकतामा सीमित नराखी उदारहणी कार्य गर्ने हो भने विकास र समृद्धिको अनुभूतिगर्न सकिन्छ र आम नागरिकको मन जितिन्छ भन्ने मान्यतालाई संघले पुष्टि गरको छ ।

पोखराको खानेपानीलाई व्यवस्थित र प्रभावकारी बनाउन जापानी सहयोग नियोग (जाइका) ले ४ अर्व ५२ लाखको आर्थिक सहयोग सहित कार्यक्रम अगाडि बढाउन सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । यद्यपि यसको निर्माण सम्पन्नता समयसीमा झन्डै २ वर्षको भएको हुँदा तात्कालिक रुपमा समस्या समाधानका लागि मर्दी मुहानलाई सफा राख्न र पोखराका उपभोक्तालाई सफा खानेपानी उपलब्ध गराउने संघको क्रियात्मक अभियान प्रशंसनीय छ ।

पोखरेलीको खाने पानीको मुहान मर्दी खोला आसपासमा जथाभावी फोहर मैला फाल्ने, खुला रूपमा दिसापिसाब गर्ने, कपडा धुने, सवारी साधन गुडाउने, गिटी–बालुवा उठाउने साथै स्रोतमै शव दहन गर्ने कार्यले पानी प्रदूषित र संक्रमित बनेको थियो । यसको रोकथामका लागि सम्बन्धित क्यासविन क्षेत्रमा सार्वजनिक शौचालय, कपडा धुने ठाउँ र शव दहन गृह निर्माण गरी हस्तान्तरण गर्दा सरोकारवालालाई सकारात्मक सन्देश गएको छ भने तल्लो तटीय पोखरेलीहरुले पनि सफा पानीको अनुभूति सामाजिक उत्तरदायित्वका कारण गर्न पाएका छन् ।६४ औं वर्षमा प्रवेश गरेको संघले प्राकृतिक स्रोतमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जाने हो भने प्राकृतिक र साँस्कृतिक विविधताले भरिएको पोखरा साँच्चिकै स्वर्ग जस्तो लाग्ने छ ।

suresh.ranabhat@gmail.com


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • ‘तेस्रो आँखा’को प्रयोग

    बल दौडाउँदै अघि बढेका एन्टिनियो ग्रिजम्यानलाई डि–बक्सभित्र लडाइन्छ । खेलाडीहरु हात ठड्याउँदै अपिल गर्छन् । तर रेफ्रीले उनीहरुको अपिलको सुनुवाइ नगरी खेललाई अगाडि बढाउँछन् । अपिल भिडियो असिस्टेन्ट रेफ्री (भिएआर)...

  • प्रदेशको नाम र पहिचान

    एक धर्म र एकल जातिको पहिचानले नेपालको राष्ट्रियताको पहिचान दिन सक्दैन । बहुल जाति, भाषा, सांस्कृति, धर्म र इतिहास नै समष्टिमा राष्ट्रिय पहिचान हो । नेपाल सबै जातजातिको फूलबारी हो...

  • मिस एसइईको ट्यालेन्ट सो सम्पन्न

    इभेन्टस् फोरयू प्रालिको आयोजना तथा सारेगम इन्टरटेन्टमेन्ट हाउसको सहकार्यमा सञ्चालन भएको मिस एसइई पोखरा पाँचौ संस्करणको ट्यालेन्ट सो भएको छ । एसइई दिएर बसेका छात्राको प्रतिभा र सौन्दर्यसँगै भविष्य निर्माण...

  • डिभोर्स माग्नेको लर्को ! न्यायिक समितिकाे टाउकाे दुखाई

    गण्डकी गाउँपालिका गोरखाकी १७ वर्षीय सुनिता र १८ वर्षीय सन्देशले २०७२ सालमा प्रेम विवाह गरे । त्यसको ३ वर्षपछि सुनिताले सम्बन्ध विच्छेदको माग गर्दै स्थानीय सरकारको न्यायिक समितिमा मुद्दा हालिन्...

Ad
Ad
Ad