• Ad

Samadhan National Daily

  • Ad

निर्माण व्यवसायीलाई धम्की

पाेखरा, २७ माघ:

प्रदेश सभासद लगायतलाई धम्क्याएर रकम मागेको घटना सार्वजनिक भए लगत्तै पोखराका निर्माण व्यवसायीलाई धम्की आउन थालेको छ । पहिला पनि धम्की आएकोमा बुधबार फेरि उनीहरुलाई ‘प्राइभेट कलिङ’ भन्दै फोन आएको छ ।

निर्माण व्यवसायी संघ कास्कीमा आवद्ध केही व्यवसायीलाई प्राइभेट नम्बरबाट फोन गरेर प्रत्येक ठेक्काको ३ प्रतिशत रकम मागेको संघ कास्कीका अध्यक्ष वासुदेव गौचनले बताए । माघ १६ गते अघि देखि नै फोन गरी ‘हामीलाई तपाईंले लिएका सबै ठेक्काको बारेमा थाहा छ’ भन्दै धम्क्याएको जानकारी दिए ।
१ व्यवसायीले समाधानसँग भने, ‘प्रत्येक ठेक्काको ३ प्रतिशत माग्दै फेरि फोन गर्दा उठाउने गर्नुहोस्, नत्र नराम्रो हुन सक्छ भनेर धम्क्याएका छन् ।’ आफ्नो फोन नउठाएमा ‘लाइनमा’ पर्ने भन्दै थर्काएको उनले सुनाए । ‘तपाईंको काम राम्रो नै छ, त्यो हामीलाई सबै थाहा छ’ भन्दै पैसा मागेको पीडित व्यवसायीले बताए । पीडितका अनुसार तपाईंको नम्बर यस्तो ठाउँबाट लिएको भन्दै कुरा गर्ने गरेको पीडितले बताए ।

फोन गर्नेहरुले पोखराका केही नाम चलेका ‘गुण्डा’ को नाम लिने गरेका छन् । ‘आफू त नाम चलेको गुण्डाको भाइ हो’ भन्दै उनीहरुले फोनबाट धम्क्याएको पीडितले बताए । सभासद लगायतलाई धम्क्याएर रकम माग्नेलाई पक्राउ गरी माघ १८ गते कास्की प्रहरीले सार्वजनिक गरेपछि व्यवसायीहरु अलि ढुक्क भएका थिए । तर बुधबार फेरि फोन आएपछि उनीहरु त्रसित भएका छन् । पहिला पहिला बेलुका मात्र ‘प्राइभेट नम्बर’ बाट आए पनि बुधबार भने दिउँसै फोन आएको थियो ।

१८ गते अघि धेरै व्यवसायीलाई धम्की आएकोमा बुधबार भने २ जनालाई फोन आएको छ । बुधबार आएको फोन भने दुबैजनाले उठाएनन् । फोन आउँदा ‘प्राइभेट कलिङ’ देखिने र फोन काटिएपछि कुनै नम्बर नदेखिने पीडितले बताए । ‘फोन आउदा प्राइभेट नम्बर भनेर आउँछ, काटिएपछि नो नम्बर भनेर देखाउछ,’ १ पीडितले भने ।

धेरै व्यवसायीलाई फोनबाट धम्की आएपछि नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष गौचनले सुरक्षा माग्दै १८ गते नै जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए । धम्की आउने ७ व्यवसायी आफ्नो सम्र्पकमा आएको र अरुलाई फोन आए पनि केही गुनासो नगरेको गौचनले बताए । यस्तो दबाबमा परेर अनुचित रुपमा पैसा बुझाउन परे आफूहरुले गुणस्तरीय काम गर्न नसक्ने अध्यक्ष गौचनको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले पहिला उजुरी आए पनि बुधबारको फोनको बारेमा प्रहरीलाई थाहा नभएको बताए । उनले भने,‘पहिलाकै उजुरीका आधारमा हामीले अनुसन्धान गरिरहेका छौं ।’


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad