Samadhan National Daily

      पोखराको एउटा विद्रूप बिहानी

      पाेखरा, २७ माघ:

      सुन्दर पोखरामा विद्रूप बिहानी देख्नु प¥यो । पिएनका विद्यार्थीको दुघर्टनामा मारिए । नेविसंघ, नेता मारिएको रनाहामा परे । पृथ्वीनारायण क्याम्पसको द्वार अगाडि हत्या विरोधको सामान्य प्रदर्शनलाई पुलिस प्रशासनले असामान्य माने । गोडा बिसेक विद्यार्थी समूहका ८ जनालाई च्यापचुप समातेर भ्यानमा कोचे । बारुदमा आगो झोस्दाका प्रतिक्रिया नबुझेका पुलिसकर्मीहरुले तत्काल समस्या झेल्नु प¥यो । भित्र थुप्रिएका विद्यार्थीहरु बाहिर ढुंगा हान्न थाले । पुलिस के कम ढुंगाको जवाफ ढुंगैले दिन थाले । भीषण लडाइँ चल्यो । बगर अस्तव्यस्त भयो । पूरै नगरमा बस चलेन । २०७४ माघ २३ को बिहानीमा बगर भयावह देखियो ।

      म ५ वर्षकी हुँदी हुँ, पत्तो पाउने कुरा भएन । बा, ठुलाबाहरु कुरा गर्थे, केपी ओली गृहमन्त्री छँदा सरकारी पक्षको गोलीबाट चरो मरेन अरे । शान्ति सुव्यवस्था अब्बल देखियो अरे । २०५२ को मध्यावधि चुनावपछि एमाले नेतृत्वको सरकारले सकरात्मकताको हेराइमा चमत्कार गरेछ । त्यही साउँको ब्याज २०७४ को चुनावमा एमालेले पायो । प्रचण्ड बहुमत ल्यायो । सरकार निर्माणमा कांग्रेसले अनेक अवरोध गर्दैछ । भित्री गाँठी कुरा जनताले जान्दैन । नांगो आँखाले देखिने सत्य यही हो । किन यति विथोलियो त ?

      अस्ति पुस १४÷१५ गते पोखरामा ‘लेखनाथ जयन्ती’ मनाइयो । लेखनाथबारे केही जानकारी बढे । चर्चामा आएको एउटा कविता अंश अलि बढी पढें ।
      ‘ठगी, चोरी, डाँका
      हर–किसिमको झेल बखडा
      कुटामारी, गाली, कपट–कटुता
      बैर झगडा
      घृणा, ईश्या, हत्या प्रवृत्ति
      जति छन् दुर्गुण कडा
      सबैको मूलैमा
      अधम सरुवा सञ्चय खडा !’
      सीधा र सपाट कुरा समाज यत्तिबिध्न विथोलिनुको मूल कारण सञ्चयको लोभ नै हो । टनकपुर प्रकरणपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पदबाट राजीनामा नगर्दा ‘एकता केन्द्र’ का तत्कालीन महामन्त्री प्रचण्ड गर्जेका थिए, ‘अहिलेसम्म सरकारको नेतृत्वले पदत्याग नगर्नु सामान्य राजनीतिक नैतिकताको पराकाष्ठा हो (२०४९ पुष ४) ।’ तुरुन्तै अर्को विज्ञप्तीमा फेरि थपे, ‘शक्तिको भाषाबाहेक केही नबुझ्ने नेपाली कांग्रेसको सरकार विरुद्ध शक्तिशाली आन्दोलनको सृष्टि गर्नु बाहेक जनताका अगाडि अर्को विकल्प छैन (२०४९ पुष १२) ।’ २५ वर्ष अगाडिका यी विज्ञप्ती अहिले शेरबहादुर देउवालाई भनिए जस्ता छन् । त्यसपछिका घटनाक्रम इतिहासमा लिपिवद्ध छ । नेपाली कांग्रेस लगातार खिइँदै अहिलेको हालतमा पुगेको हो । यो कांग्रेसी पतनको पीडाको गुनासो होइन, कांग्रेस कमजोर हुँदै जाँदा मुलुक पनि थिल्थिलिएकै छ । अनेक शक्ति केन्द्र संस्थापित भएका छन् । हिजो त राजालाई गाली गरे पुग्थ्यो । आज क–कसलाई गाली गर्नु ? कुरा ठीकै गर्ने काम उल्टोको एउटा उदाहरण हिसिला यमीको यो अभिव्यक्ति हुन सक्छ ‘२०७४÷१०÷०७ को बलात्कारको घटनालाई मिलापत्र गराउनका लागि करिब ३० लाख रुपैयाँको चलखेल बिचौलियाबाट भइरहेको गन्ध आइरहेको छ… जनयुद्ध ताका जब महिलाहरुको सहभागिता बढ्न थालेको थियो । त्यतिखेर म माओवादी पार्टीको महिला विभागको प्रमुखको हैसियतले हर्षित थिएँ ।

      चर्चित राष्ट्रिय दैनिकको २०७४÷१०÷२३ को प्रस्तुत आलेख पढ्ने सबै दिदीबिहिनीहरु कति क्षुब्ध भए होलान् ? अल्लारे उमेरमा उत्साहका साथ त्यो जनयुद्धमा होमिएको एकजना इमान्दार कार्यकर्ताको नाताले हिसिला दिदीलाई सोध्नै मन लाग्छ । किन त त्यो सशक्त महिला विभाग ध्वस्त पारियो ? न्युज २४ मा कुरा गर्दै केशव स्थापितले डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएकै बेला हिसिला यमीलाई २० लाखको बात लगाएका छन् । दिदीहरुकै कारण हाम्रो महिला विभाग फितलो हुँदा आज हामी दिनदिनै महिला हिंसा र अनेक बलात्कारका घटना देखिभोगी रहेका छौं ।

      यही हत्या, हिंसा र राज्य अव्यवस्थाको एउटा सानो कडी पोखराको विद्रूप बिहानी हो । प्रचारित समाचार अनुसार बस स्टाफको बदमासीकै कारण विद्यार्थी बोधराज ढकालको ज्यान गयो । २२ गते साँझको त्यो हत्यापछि २३ गते बिहानै नेविसंघका विद्यार्थीहरु पृथ्वीनारायण क्याम्पसको गेट अगाडि प्रदर्शनमा आए । त्यो शान्तिपूर्ण प्रदर्शनमा पुलिस प्रशासन तुरुन्त धरपकडमा ओल्र्यो । गेटभित्रका विद्यार्थीहरुले ढुंगा हाने । ढुंगा हान्न ठेउके पुलिसहरु झनै उत्ताउलिए । बाटोमा अन्धाधुन्ध लाठीचार्ज गरे । अरु विद्यार्थी संगठनले नेविसंघको प्रदर्शनप्रति एक्यवद्धता जाहेर गरे । ‘युद्ध’ ले भयानक उग्ररुप लियो । पुलिस कर्मीले ड्याङ–ड्याङ अश्रु ग्याँस चलायो । मलाई दिदीको वचन लाग्यो । आँखा पेलेर आत्तिएँ ।

      ‘गुड मर्निङ दिदी !’ बिहानै मैले दिदीलाई भनेकी थिएँ ।

      ‘गुड होइन, नानी ! मर्निङ मात्रै भन्नुपर्छ ।’

      दिदी प्रायः हसाउँछिन् । ‘किन ?’ मैले सोधें ।

      ‘प्रत्येक नाइटपछि मर्निङ हुन्छ तर मान्छेहरुले मर्निङलाई कहिल्यै गुड हुन दिँदैनन् । मान्छे अलिकति शक्तिमा आयो कि भाँड्न थालिहाल्छ । मर्निङलाई गुड बनाउन मानवीय भावना हुनुप¥यो नि ……।’

      ‘तिमी त दार्शनिक हुनुपर्ने दिदी……।’

      ‘म दार्शनिक त हुँ नि ! दृष्टिकोण नै दर्शन हो । समाजलाई हेर्ने मेरो आफ्नै दृष्टिकोण छ, दर्शन छ ।..भात खान आउने होला नि ?’
      ‘आउँछु, खाएर अफिस जाने हो ।’

      ‘हिजो दुर्घटनामा पर्ने विद्यार्थी मृत्यु भयो अरे । क्याम्पसमा तनाव होला । झडप हुन सक्छ । ढुंगामुडा होला । लाग्ला, अलि जोगिनु ।’
      झडप होइन, युद्ध मच्चियो । एकजना पत्रकारलाई पुलिसले खुट्टै खुट्टामा बजायो । गणतन्त्रमा जनताभन्दा पत्रकार ठूला, पत्रकारभन्दा पुलिस धेरै ठूला देखिए । क्याम्पसमा काम त के प्रवेशै पाइएन । कोठामा फर्किने बस पनि पाइएन । अलन्तारमा परें । नानीको स्कुल, अफिस । आँखा मिच्दै र जोगिँदै बगरबाट महेन्द्रपुल आइपुगें । बाँचें भन्ने भयो । जनयोद्धा संगीनी भेटिइन् । चिया खान पर्ने भो ।

      गणतन्त्र नेपालमा सहीद परिवार, बेपत्ता परिवार बिचल्लीमा छन् । विशाल नेपालमा मेरी संगीनी ढुकुरको छाती जति जमीनका लागि आफ्नैसँग अदालतमा मुद्दा खेपिरहेकी छिन् । म दिनदिनै अदालतको भ्रष्टताबारे पढ्छु । गोविन्द केसीले प्रधान न्यायाधीशलाई हत्यारो भनेछन् । कालो कोटभित्र स्वच्छ मनकाहरु दुर्लभ छन् ।
      ‘बगरबाट आकी, लडाइँ कस्तो चल्दैछ ?’

      ‘भयानक छ ।’

      ‘२०६४ बैशाखमा माओवादीले चुनाव जित्यो, साउनमा बल्ल सरकार बनाउन पायो । ९ महिनापछि राष्ट्रपति स्वयं सरकार ढाल्न तम्सिए । अहिले पनि कसरी हुन्छ भाँडहरु भाँड्नेमै छन् । हेर्नु त, कांग्रेसी सरकार छ । प्रधानमन्त्री–गृहमन्त्री कांग्रेसकै छन् । विद्यार्थीको मुद्दालाई सरकारी पक्षबाटै चर्काएर यसरी जनतालाई दुख दिन हुन्थ्यो ? गल्ती गर्ने नेता, अपराध गर्ने एउटा डाइभर ! पुलिसको आतंकले दुनियाँलाई सास्ती !’

      ‘यतिखेर लालबाबु गृहमन्त्री हुनुपर्ने….।’

      ‘जुन बाबु होस्, कांग्रेसको सरकार लम्बिँदा कांग्रेसलाई घाटा छ । अति घिनलाग्दो कमाउने होड गरेका छन्…..!’

      पुरञ्जन आचार्यले यही भनेका छन् । मैले महानगरका महाघुस्याहा कांग्रेसी हाकिमलाई सम्झें । माछापुच्छ«ेलाई हेरें । पूर्वतिर हेरें । पोखराको यो विहानी विद्रूप देखियो ।


      प्रतिकृया दिनुहोस्

      अस्ट्रेलियामा पाइलैपिच्छे पेनाल्टी

      नेपालदेखि आएका बहिनी–ज्वाइँलाई एयरपोर्टबाट पिकअप गरेर आफ्नै घरतर्फ फर्कंदै गर्दा सिड्निको रकडेल स्थित ट्राफिक लाइटको रेडलाइटमा परे रकडेलकै युवा व्यावसायी विकास सेढाइ । त्यसको १५...