• Ad

Samadhan National Daily

  • Ad

डाँडाकाँडा उक्लँदै लगानीकर्ता

पोखरा, २८ माघ:

‘सबै पूर्वाधार र विकासका संरचना पोखरामै खुम्च्याइयो । न यहाँ खाली जमीन रह्यो न यहाँको मौलिकता । अझै पनि हामीले विचार पु¥याइएन भने पोखरा एकदिन झुपडपट्टी बन्छ,’ सामाजिक अध्येता विश्व सिग्देल चिन्ता व्यक्त गर्छन् ।

सिग्देलले भनेजस्तै अहिले पोखरामा ठूलो लगानी गरेर कुनै उद्योग, व्यापारिक प्रतिष्ठान खोलौं भन्ने सोचले ठूलो लगानीकर्ता पोखरा आउँछ भने उसले सुरुमै खेप्ने भनेकै जग्गाको समस्या हो ।

‘पोखरामा होहल्ला, भीडभाड बढिसक्यो । ठूलो उद्योगमा लगानी गरौं, ठूला होटल खोलौं भनेर आउने लगानीकर्तालाई पोखरा बजारभित्रै चाहिँ अब त्यो स्पेप पाउन गाह्रो छ,’ पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले भने, ‘अब लगानीकर्ताको ध्यान पोखराभन्दा आसपासका ठाउँ हुन थालेको छ ।’

पोखरामा मध्यम खालको होटल खुल्ने क्रम जारी रहे पनि अब होटलका ठूला लगानीकर्ता भने पोखराबाट डाँडाकाँडा उक्लन थालेका छन् । पोखरा आसपासका डाँडाहरुमा केही ठूला होटल बनिसकेका छन् भने केही निर्माणाधीन छन् र केही जग्गा खरिद गरेर निर्माण योजनामा छन् ।

पोखरा उपत्यकाका आसपासका डाँडाहरु सराङकोट, कास्कीकोट, नौडाँडा, चापाकोट, पुम्दीभुम्दी, रुपाकोट, बेगनास, काँहुडाँडा, धम्पुस लगायत डाँडाकाँडामा होटलका ठूला लगानीकर्ताको नजर परेको छ ।

विशेषत बढी विदेशी पर्यटककको पनि पोखराभन्दा आसपासका डाँडाकाँडा रोजाइमा पर्न थालेका छन् । पोखराको जुनसुकै ठाउँबाट देखिने हिमाल अचेल पहिलेजस्तो गरी देखिँदैन ।

अग्ला घर र विज्ञापनका ठूला होडिङबोर्डले पोखराबाट हिमाल खोज्ने आँखाले सजिलै नभेट्न सक्छ । आसपासका डाँडाबाट साँझमा देखिने रंगिन पोखरा, एकाबिहानै आँखैछेउ आइपुग्ने अन्नपूर्ण लगायतका हिमशृंखला, तरेली परेका डाँडा, स्वच्छ हावापानीमा बास बसाउने गरी ठूला होटल खुलिरहेका हुन् ।

डाँडाकाँडामा लक्जरियस होटल खुल्ने क्रम बढ्नु खुसीको कुरा भएको होटल संघ अध्यक्ष तुलाचन बताउँछन् । ‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छ । भोलि विमानस्थल बन्यो भने पोखरालेमात्रै धान्न सक्दैन,’ तुलाचनले भने, ‘त्यसका लागि हामीले पोखरा आसपासकै क्षेत्रलाई विकास र विस्तार गर्नुपर्छ । सबै पर्यटकलाई पोखरामै कोचेर राखौं भन्ने कुरा हुँदैन ।’

सराङकोट पोखरापछि धेरै होटल खुलेको आसपासका डाँडामध्येमा पर्छ । सराङकोटमा साना, मध्यमदेखि पाँच तारे होटलसम्म निर्माणाधीन छन् । सराङकोटमा करिब अर्ब लगानीमा होटल माउन्टेन भ्यू निर्माणाधीन छ ।

निर्माण अन्तिम चरणमा पुगेको पाँचतारे होटल जापानी मूलका नेपाली नागरिक ताकासी मियाहाराले बनाएका हुन् । यो होटलसँगै अर्को एक अर्बको अन्नपूर्ण केबलकार पनि निर्माणाधीन छ । अन्नपूर्ण केबलकार प्रालिले बनाउन लागेको केबलकार निर्माण सुरु भइसकेको छ ।

पोखरा, चितवन लगायतका ठाउँमा होटल चलाउँदै आएको होटल बाराहीले सराङकोटमै अर्को होटल निर्माण गरिरहेको छ । माउन्टेन रिसोर्ट एन्ड स्पा नाम दिएर ३०÷३५ करोडको लगानीमा सराङकोटमा तारे होटल निर्माणधीन छ ।

विनोद चौधरीका कान्छा भाइ अरुणले पनि सराङकोटमा लक्जरी होटल खोल्ने घोषणा गरिसकेका छन् । करोडमाथि नै खर्च गरेर अरु होटल पनि निर्माणाधीन छन् । कर्ण शाक्यले ठूलै लगानीमा सराङकोटमै हिमालय फ्रन्ट होटल सञ्चालन गरिरहेका छन् ।

सराङकोटभन्दा अलि तल मेथलाङमा रसियनको ठूलै लगानीमा जुरासिन रिर्सोट निर्माण हुँदैछ । मेथलाङमै मध्यम लगानीमा रक गार्डेन सञ्चालित छ ।

काँहु डाँडामा हिमालन गार्डेन निर्माण भइसकेको छ भने ठूलो लगानी र ठूलो क्षेत्रफलमा ब्रिटिस र नेपालीको लगानीमा पुम्दीभुम्दीमा दी पेभिलियन हिमालयज, विश्व शान्ति स्तूपमाथि रानीवन रिट्रिट, नौडाँडामा हिमालय देउराली रिसोर्ट निर्माण भएका छन् । यी होटल सबै लक्जरियस छन् ।

यस्तै अस्ताममा इको भिलेज सञ्चालनमा छ । कास्कीकोटमा विदेशी तथा स्वदेशी लगानीमा माउन्टेन रिसोर्ट सञ्चालनको तयारी हुँदैछ ।

कास्कीको रुपाकोटमा बनेको रुपाकोट रिसोर्ट नेपाली तथा विदेशी मध्यम र उच्च वर्गीय परिवारको रोजाइ बनेको छ । मान्छे जानै डराउनेजस्तो प्रयोगविहीन खरबारी अहिले डलर कमाउने डाँडो बनेको छ ।

सुनसान बन्ने खरबारी अहिले गुल्जार बनेको छ । २० वर्षे बेल्जियम बसाईलाई पूर्णबिराम लगाएर नेपाल फर्केका पुष्पराज अधिकारी ३ वर्ष अगाडिमात्रै खालेको रिसोर्टले एक अर्ब लगानी र हजार जनालाई रोजगारीको योजना बनाइरहेको छ ।

‘पर्यटन भनेकै पोखरा हो । सबै होटल र विकासका संरचनालाई पोखरामै खुम्च्याउनुहुन्न भनेरै रुपाकोटमा रिर्सोट खोलेको हुँ,’ उनी भन्छन्, ‘नेपालको पर्यटनमा पनि नमूनायोग्य केही गर्न सकौं भन्ने मेरो चाहाना थियो ।’

६० करोड लगानी भइसकेको रिसोर्टमा एक सय करोड लगानी पु¥याएर र विदेशी राष्ट्राध्यक्ष तथा विशिष्ट पाहुनाहरु आउँदा बस्ने स्वीट रुपसहित अन्य संरचना बनाउन लागेको अधिकारी बताउँछन् ।

यही अर्को वल्ड भिलेज निर्माणको काम पनि अगाडि बढिरहेको छ । १८ औं शताब्दीको बस्ती नै निर्माण गर्ने एनआरएन टोली र रुपाकोट रिसोर्टको योजना छ ।

यही रुपाकोट रिर्सोटभन्दा अलि तल बेगनासमा काठमाडौंमा पाँचतारे होटल चलाइरहेको सांग्रिला होटल एन्ड रिसोर्टले अन्तर्राष्ट्रिय स्तरको रिर्सोट बनाउँदैछ । ४० रोपनी जग्गा लिएको सांग्रिला ग्रुपले अहिले ‘द लस्ट होराइजन रिसोर्ट’ को योजना तयार पार्दैछ । ‘माटो टेस्टिङदेखि सरकारी प्रक्रिया पूरा गर्ने गरिरहेका छौं,’ सांग्रिला गु्रपका कार्यकारी निर्देशक प्रविण पाण्डेले भने, ‘हाम्रो अन्तर्राष्ट्रियस्तरको लक्जरियस रिर्सोट बन्ने छ । त्यहाँ वातावरण र वन्यजन्तुलाई समेत संरक्षण गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय मान्यताको अध्ययन गरिरहेका छौं ।’

विनोद चौधरीले पोखराको ताल पारी जग्गा हेरेका छन् । सुरज वैद्यकी छोरी सुभानाले पनि पोखरा आसपासकै क्षेत्रमा होटल खोल्न अध्ययन गरिरकी छन् । लक्ष्मी गुप्रले पनि पोखरादेखि उत्तरपश्चिम पामे क्षेत्रमा होटल निर्माणको तयारी गरिरहेको छ । धम्पुसमा यदु अधिकारीले अर्को रिर्सोटको तयारी गरिरहेका छन् । अधिकारीले २ करोडमा जग्गा खरिद गरेर राखिसकेका छन् ।

स्टान्डर्स रिर्सोट नै सञ्चालन गर्नका लागि अन्नपूर्ण धम्पुस रिर्सोट निर्माण गर्न लागेको अधिकारीले बताए । डाँडाकाँडामा ठूला होटल बन्ने क्रम बढेसँगै गाउँललाई अवसर र सुविधादुवै मिलेको छ ।

पर्ख र हेरको अवस्थामा लगानीकर्ता

सनम छिरिङ शेर्पाले कास्कीकोटमा जब इएस देउराली रिर्सोट निर्माण थाले नेपालमा चर्किएको सशत्र संघर्षले चौपट पा¥यो । उनलाई ६ वटा कजेज निर्माण गर्नै लामो समय लाग्यो । उनी अझै पनि पूरा लगानी गर्न पर्ख र हेरको अवस्थामा छन् ।

‘देशको अवस्था अझै कता जाने हो थाहा छैन । देशको परिस्थिति हेरेर बाँकी लगानी गर्ने हो,’ शेर्पाले भने, ‘टुरिजम सेक्टरमा काम गरेको ३५ वर्ष भयो तर होटलमा अझै ढुक्क हुन अवस्था छैन ।’

शेर्पामात्रै होइन अन्य व्यवसायी पनि पर्ख र हेरको अवस्थामा छन् । क्षेत्रीय होटल संघका अध्यक्ष तुलाचन भन्छन्, ‘धेरै जनाले कास्की आसपासका क्षेत्रमा जग्गा किनेर पर्ख र हेरको अवस्थामा छन् ।

देशको अवस्था र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई हेरेर उनीहरु योजना बनाउने तयारीमा छन् ।’ तुलाचनले भनेजस्तै धेरै जनाले जग्गा खरिद गरी होल्ड गरेर राखेका छन् तर लगानी गर्न अझै डराइरहेका छन् ।

निर्माणधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै मझेरी पाटनमा हिमालन गल्फसँगै उद्योगी सूर्यबहादुर केसीले रिर्सोट सञ्चालन गर्ने योजना बनाएका छन् तर उनी पनि पर्ख र हेरको अवस्थामा छन् ।

‘रिर्सोट सञ्चालन गर्ने हाम्रो पुरानै योजना हो,’ सूर्यबहादुरका छोरा किरणले भने, ‘विमानस्थल निर्माण कसरी अगाडि बढ्छ त्यसलाई हेरर हामी रिर्सोट सञ्चालन गर्ने छौं ।’

पोखराका होटलमा २ खर्ब लगानी, २२ हजारलाई बास

२ वटा पाँच तारे होटल रहेको पोखरामा फूलबारी रिर्सोट एन्ड स्पा बन्द भयो । पाँच तारे होटर ग्राण्डसहित झन्डैझन्डै १ हजार होटल पोखरामा खुलिसकेको व्यवसायी बताउँछन् । झन्डै २ खर्ब लगानी भइसकेको पोखराका होटलले एकै पटक झन्डै २२ हजार जनालाई सुताउन सक्ने होल संघका अध्यक्ष तुलाचनले बताए ।

अहिलेसम्म पुरानो पोखरामै केन्द्रित रहेर होटल खुल्ने क्रम तीव्र रहे पनि अब भने लेखनाथ र आसापासका डाँडाकाँडामा पनि लगानी बढ्न थालेको छ । पोखराका होटलमा झन्डै २५ हजारले रोजगारी पाएको तुलाचन बताउँछन् ।

नेपाल आउने ३० प्रतिशत पर्यटक पोखरा आउने गरेका छन् भने यहाँको होटल भरिने र बढी आउने पर्यटन आन्तरिक पर्यटक नै हुन् । पोखरामा सबैभन्दा बढी आउने विदेशी पर्यटक भारतीय र चिनियाँ नै हुन् ।

पोखरा आउने पर्यटकमध्ये धेरै जना अन्नपूर्ण सर्किटको पदयात्रामा जाने अध्यक्ष तुलाचनले बताए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad