Samadhan National Daily

      नोटरी पब्लिकको काम, आवश्यकता र महत्व

      पाेखरा, १ फाल्गुण:

      कुनै पनि लिखत कागज गर्दा वास्तविक व्यक्ति एकिन गरी लिखतजन्य अपराधमा कीर्ते र जालसाजी काम–कारवाही नियन्त्रण गर्ने उद्देश्यले नेपाल नोटरी पब्लिक सम्बन्धी ऐन २०६३ प्रमाणीकरण र नियमावली २०६३ लागु गरिएको ८ आठ वर्ष बितिसकेको छ । विशेषगरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नोटरी पब्लिकले लिखत प्रमाणीकरण, नक्कल प्रमाणित तथा अनुवाद गर्ने कार्य विश्वमा १२ औं शताब्दीबाट सुरुआत भएको पाइन्छ । तापनि हाम्रो देशमा भने सन् २००७ सालमा नेपाल ‘डब्युटिओ’ को सदस्य राष्ट्र भएपछि मात्र नोटरी पब्लिक ऐन २०६३ जारी भइ फागुन १ गतेदेखि लागु गरिएको थियो । फलस्वरुप ०६३ फागुन १ गतेदेखि नोटरी पब्लिक ऐन दिवसका रुपमा मनाउने गरिएको हो ।

      नोटरी पब्लिकको अर्थ र परिभाषा
      इन्साइक्लोपेडिया ब्रिटाननिका २००६ मा गरिएको परिभाषाअनुसार नोटरी पब्लिक त्यो अधिकार हो जसको प्रमुख कार्य करार, तमसुक तथा अन्य लिखतहरूलाई उपयुक्त प्रमाणपत्र वा नोटरियल छापद्वारा प्रमाणित गर्नुहुन्छ ।

      मित्रिस्फ्ट इन्कार्टामा नोटरी पब्लिकलाई प्रमाणीकरण गर्ने अधिकार प्राप्त व्यक्तिको रुपमा परिभाषा गरिएको पाइन्छ । भारतिय नोटरी सम्बन्धी ऐन १९५३ मा नोटरी भन्नाले यस ऐनद्वारा सो कार्यका लागि तोकिएको व्यक्तिलाई बुझाउँछ भनी परिभाषा गरिएको छ । त्यहाँ नोटरीलाई करार वा त्यस्तै प्रकारका लिखतहरू, विनिमयपत्र आदिको प्रतिवाद तयार गर्न, अरु औपचारिक प्रकृतिका कर्तव्यहरू पूरा गर्न, सार्वजनिक रुपमा अधिकार पाएको व्यक्तिलाई जनाउन प्रयोग गरिएको पाइन्छ ।

      नोटरी पब्लिकको योग्यता उसको भूमिका र कर्तव्यसँग सम्बन्धित छ । जहाँ नोटरी पब्लिकले कानुन व्यवसायीको समेत भूमिका निर्वाह गर्छ । निश्चित अवधि कानुन व्यवसाय गरेको व्यक्ति मात्र नोटरी पब्लिक हुन योग्य मानिन्छ । जहाँ कानुन व्यवसायीको भूमिका हुँदैन त्यहाँ नोटरी पब्लिकको योग्यता फरक किसिमले निर्धारण भएको पाइन्छ ।

      बेलायतमा नोटरीमा दर्ता हुन कानुन विषयमा डिग्री वा ५ वर्षको अनुभव प्राप्त कानुन व्यवसायी भई क्याम्ब्रिज युनिभर्सिटीको २ वर्षे पोस्ट ग्राजुयट डिप्लोमा इन नोटरीयन प्राक्टिस हासिल गरेको हुनुपर्ने तथा विदेशी भाषा र विदेशी कानुनको समेत ज्ञान भएको हुनुपर्छ । अमेरिकामा नोटरीको योग्यता राज्य पिच्छे फरक पाइन्छ । अमेरिकाको भेयना राज्यमा नोटरी हुनका लागि १८ वर्ष उमेर पुगेको र अंग्रेजी भाषामा प्रविण व्यक्ति हुनुपर्ने व्यवस्था छ भने मोन्टगोभेरीमा उक्त राज्यको बासिन्दा, मतदाता सूचीमा नामदर्ता भएको, आवश्यक रकमको ऋण पत्र पेस गर्न सक्ने हुनुपर्छ । त्यस्तै क्यालिफोर्नियामा १८ वर्ष उमेर पुगेको, सो राज्यकै बासिन्दा, राज्यले निर्धारण गरेको कार्यक्रम पूरा गरी लिखित परीक्षा उत्तिर्ण भएको व्यक्ति नोटरी पब्लिक बन्न पाउने व्यवस्था रहेको पाइन्छ ।

      यसैगरी अस्ट्रेलियामा केही वर्ष कानुन व्यवसायीको रुपमा काम गरेको व्यक्ति हुनुपर्छ र नोटरी सम्बन्धी काम, कर्तव्य र अधिकारबारे त्यहाँको कानुन बमोजिम करारीय र व्यापारिक लिखतहरूको कार्यान्वयन सम्बन्धी ज्ञान भएको हुनुपर्छ । नोटरीका लागि पर्याप्त तालिम, योग्यता र पदको कार्यदक्षता र प्रभावकारी रुपमा सम्पन्न गर्न सक्षम हुनुपर्छ ।

      यस अर्थमा नोटरी पब्लिक भनेको अविवादास्पद विषय जस्तो अचल सम्पत्ति हस्तान्तरण सम्बन्धी लिखतहरू, वारेसनामा, २ पक्षहरु मिली आएको अवस्थामा गरिने लिखतहरु, अन्तर्राष्ट्रिय व्यापार आदि विषयमा जनतालाई सेवा पु¥याउने उद्देश्यले कानुनद्वारा सृजित सार्वजनिक अधिकार हो ।

      नोटरीले गर्ने कार्य
      – सपथ खुवाउने– सपथ पत्र तथा कानुन बमोजिम घोषणा लिने ।
      – खास प्रकारका लिखतहरूलाई प्रमाणीकरण गर्ने र तिनको निस्पादनलाई आधिकारिकता दिने ।
      – तमसुक र अरु हक हस्तान्तरणका लिखतहरू तयार गर्ने ।
      – प्रतिवाद तयार गर्ने ।
      – विनियम पत्रको स्वीकृति गर्ने विदेशी ड्राफ्टको सूचना प्रदान गर्ने, सामुद्रिक क्षतिमा प्रतिवाद तयार गर्ने ।
      – नमुना र नोटरियल प्रतिलिपिहरू उपलब्ध गराउने लगायत खास प्रकारका औपचारिक कार्यहरू
      पर्छन् ।

      नेपालमा नोटरी पब्लिक
      नेपालमा लिखतको प्रतिलिपि (नक्कल) प्रमाणित गर्नु गराउनु परेमा सरकारी सेवामा वहाल रहेका नेपाल सरकारको राजपत्रांकित अधिकृत तहका कर्मचारीले प्रमाणित गरेको प्रतिलिपिलाई नेपाली कार्यालयहरूमा कानुनी मान्यता दिइने गरिएको थियो । तर, यो व्यवस्था बाध्यात्मक भने थिएन । यस्तो व्यवस्थाले त्यस्ता कर्मचारीबाट नक्कल प्रमाणित गराउन सर्वसाधारणलाई सहज पनि थिएन, नक्कल प्रमाणित गर्न चिनजान सिफारिस अधिकारपत्र ऐन २०३४, धितोपत्र कारोबार ऐन २०४० तथा लेख्य प्रमाणिक (नोटरी पब्लिक) नियमावली २०४१ नोटरी सम्बन्धमा गरिएका प्रारम्भिक कानुनी व्यवस्थाहरू थिए तर लागु हुन् सकेनन् । विनियम अधिकार पत्र ऐन २०३४ को दफा २ को खण्ड (१) मा नोटरी पब्लिक भन्नाले ऐनको दफा १ सय ६ बमोजिम नियुक्ति भएको वा तोकिएको व्यक्तिलाई सम्झनुपर्छ भन्ने परिभाषा थियो । दफा १ सय ६ ले नोटरी पब्लिकले गर्नुपर्ने काम गर्न नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी नोटरी पब्लिक नियुक्त गर्न वा सो काम गर्ने कुनै अधिकृतलाई तोक्न सक्ने व्यवस्था गरेको थियो ।

      नोटरी पब्लिकको योग्यता, प्रमाणपत्र, आचरण, दस्तुर र अन्य कार्यविधि तोकिए बमोजिम हुने व्यवस्था, ऐनको दफा १ सय ९ बमोजिम लेख्य प्रमाणिक (नोटरी पब्लिक) नियमावली २०४१ जारी भएको थियो तर उक्त ऐन र नियमावली समेत लागु हुन सकेन ।

      यसपछि देशको बदलिँदो परिस्थिति र आवश्यकता अनि विदेशीमा प्रचलनमा रहेको नोटरी पब्लिक व्यवस्था र हामीले गर्दै आएका प्रक्रियामा देखिएका त्रुटीहरुलाई पहिचान गर्न लिखत हस्ताक्षर गर्ने वास्तविक व्यक्तिको एकिन गरी जालसाजी र कीर्तेजन्य काम कारवाहीलाई नियन्त्रण गर्न तथा सरल र सुलभ तरिकाले कागजातको अनुवाद तथा प्रमाणीकरण गराउने व्यवस्था गरी सर्वसाधारणको हितमा नोटरी पब्लिक सम्बन्धी कानुनी व्यवस्था गर्न नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ तथा नियमावली जारी गरियो । लागु भएका यो ऐन, नोटरी पब्लिक सम्बन्धी काम गर्ने कानुन व्यवसायीहरुले नोटरी पब्लिक दिवसका रुपमा मनाउन थालिएको हो । २०६३ सालदेखि यो ऐन मुलुकभर लागु भएको छ । तापनि नोटरी पब्लिकको काम, आवश्यकता र महत्वका सम्बन्धमा आम जनमानसमा व्यापक जानकारी रहेको पाइंदैन । नोटरी पब्लिकबाट लिन सकिने सेवाका बारेमा चासो राख्नु र कानुनतः प्राप्त सेवा–सुविधा लिइ फाइदा लिन पनि यसबारे आम सर्वसाधारणामा जानकारी हुनु आवश्यक छ ।

      नोटरी पब्लिक सम्बन्धी नियमावली २०६३ दफा २० मा नोटरी पब्लिकको शुल्कसम्बन्धी व्यवस्था भएअनुसार लिखत प्रमाणीकरणको प्रतिलिखत ५ सय रुपैयाँमा नबढाइ, नागरिकता, जग्गाधनी पुर्जा, जन्ममृत्यु, विवाहदर्ताको अनुवादको प्रति कागजात १ सय ५०, कानुनी लिखत, फैसला, आदेश, विधान, यस्तै कागजातको प्रतिपृष्ठ ५ सय, स्थानीय निकायको सिफारिस र यस्ता अन्य कागजातको २ सय र नक्कल प्रमाणीकरण गर्दा पहिलो प्रतिका लागि रु. २० र त्यसपछि सोही कागजातको प्रतिको रु. १० मा नबढाइ लिने व्यवस्था छ ।

      नोटरी पब्लिकले नियमावलीमा व्यवस्था गरे बमोजिम लिखत प्रमाणीकरण गर्न आउनेको निवेदन, नाम, थर, वतन, अनुवाद गरिएको लिखतको विषय पृष्ठ संख्या, लिएको शुल्क अनुवाद गरिदिएको मिति लगायतको रेकर्ड आफ्नो अभिलेखमा राख्नुपर्छ र प्रत्येक वर्ष नोटरी पब्लिक परिषदको कार्यालयमा प्रतिवेदन पेस गर्नुपर्छ । नियमानुसार नोटरी पब्लिक सम्बन्धी कार्य गर्न खर्चिलो छ तर कानुनमा तोकिएको शुल्क र कार्यालय व्यवस्थापनदेखि स्टेसनरी लगायत सामग्री खरिद गरी नोटरी प्रमाणित गर्नु गराउनुपर्दा तोकिएको शुल्क समय सापेक्ष छैन भन्ने कुरामा दुइमत छैन । तापनि हाम्रो ऐन कानुनले व्यवस्था गरेबमोजिम नै हालसम्म नोटरी पब्लिक सेवा उपलब्ध गराउँदै आइएको पाइन्छ ।

      समस्या
      – पहिचान वा मान्यतामा समस्या
      – सेवाको वितरणमा समस्या
      – कार्यमा स्पष्टताको अभाव
      – शुल्क सम्बन्धी कानुनी व्यवस्था भए पनि एकरुपता छैन
      – अनुवादमा एकरुपता नहुनु
      – असल नियतले गरेका कामको बचाउ गर्न सहयोगका अभाव
      – स्थानीय तह तथा सरकारी निकायहरुको समन्वयको अभाव

      नोटरी पब्लिक सम्बन्धी आचारसंहिता इमान्दारीपूर्वक पालन गर्दै समाजलाई निष्पक्ष र सहज सेवा उपलब्ध गराउनुपर्छ । जसले गर्दा नोटरी पब्लिकलाई निजको पेसा, व्यवसाय गर्ने सन्दर्भमा एउटा कर्तव्यनिष्ठ, इमान्दार र महत्वपूर्ण सार्वजनिक जवाफदेही पदको व्यक्ति मानिएको छ । नोटरी पब्लिकको आफ्नै आचारसंहिता २०६४ ले नोटरी पब्लिकको पेसागत आचरण र स्वतन्त्रता, र सार्वजनिक जवाफदेहीता सम्बन्धी आचरण गरी ३ छुट्टाछुट्टै व्यवस्था गरिएको पाइन्छ । जसअनुसार नेपालमा नोटरी पब्लिकको गरिमा र हैसियत कायम राख्नका लागि सोही आचरणभित्र रहेर कार्य गरी सेवामा जुट्नु नै नोटरी पब्लिकको जिम्मेवारी ठहर्छ ।


      प्रतिकृया दिनुहोस्

      अस्ट्रेलियामा पाइलैपिच्छे पेनाल्टी

      नेपालदेखि आएका बहिनी–ज्वाइँलाई एयरपोर्टबाट पिकअप गरेर आफ्नै घरतर्फ फर्कंदै गर्दा सिड्निको रकडेल स्थित ट्राफिक लाइटको रेडलाइटमा परे रकडेलकै युवा व्यावसायी विकास सेढाइ । त्यसको १५...