Samadhan National Daily

      बागलुङमा प्रदेश स्तरीय कराते

      बागलुङ, १ फाल्गुण:

      काठेखोला गाउँपालिका ५ को बिहुँ पोखरामा प्रथम प्रदेश नम्बर ४ स्तरीय कराते प्रतियोगिता शुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ स्थानीय स्तरबाट स्वतस्फूर्त सहयोग संकलन गरी सञ्चालित प्रतियोगिताको सोमबार प्रदेश सभा सदस्य मणिभद्र शर्मा कँडेलले उद्घाटन गरे ।

      उद्घाटन पछि बोल्दै कँडेलले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको लगानीले व्यक्ति समाज र राष्ट्रलाई ठूलो फाइदा हुने बताए । काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बिहुँ पोखरालाई कराते खेलको हबको रुपमा विकास गर्न आवश्यक पहल र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

      कार्यक्रममा युवा विकास समितिका अध्यक्ष विष्णु पौडेल, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले मन्तव्य व्यक्त गरेका थिए । बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र काठेखोलाको आयोजना तथा बिहुँकोट सितोरियो कराते डोजोको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा प्रदेश नम्बर ४ का ११ जिल्लामा मुस्ताङ र मनाङबाहेक ९ जिल्लाका २ सय ८० खेलाडी सहभागी भएको समाजका अध्यक्ष तथा प्रशिक्षक कृष्णप्रसाद कँडेलले बताए ।

      खेलको पहिलो दिन महिलातर्फ २५ देखि ४५ केजी र पुरुषतर्फ ३० देखि ५० केजी सम्मका सेमीफाईनल खेलहरु भएका छन् । ती खेलमा बागलुङका अधिकांस खेलाडीले अग्रता लिएका छन् । खेलमा महिला तर्फ ८ र पुरुषतर्फ ८ सामुहिक र एकल काँतामा ४ स्पर्धाका गरी २० स्पर्धा हुनेछन् । ती स्पर्धामा २३ स्वर्ण, २३ रजत र ४६ कास्य पदक गरी ९२ पदकका लागि खेल हुनेछ । यो अभियानका लागि बिहुँकोट समाज जापान तथा जापान समाज बिहुँकोट लगायत संस्थाले आर्थिक सहयोग गरेका छन् भने केही संस्थाले मेडलका लागि प्रायोजन गरेका छन् ।
      बाहिरबाट आउने सबै खेलाडीहरुलाई गाउँमै खाना र बस्नको व्यवस्था गरिएको आयोजकले जनाएको छ । ५ लाख ३१ हजारभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको प्रतियोेगिता मंगलबारसम्म सञ्चालन हुनेछ । ‘यो सबै खर्च हामीले स्थानीय स्तर र विदेशबाट संकलन गरेका छौं,’ प्रशिक्षक कँडेलले भने ।

      उद्घाटन कार्यक्रमका अवसरमा बागलुङ बिहुँकोट डोजो र कास्की डोजोका खेलाडीहरुले उत्कृष्ट खेल कौशलसमेत प्रदर्शन गरेका थिए । कार्यक्रममा बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रको तर्फबाट पत्रकार महासंघ बागलुङ शाखाले भवन निर्माणार्थ सञ्चालन गरेको ‘हामी सबैको रहर, पत्रकार महासंघ बागलुङको घर’ अभियानमा ५ हजार ५ रुपैयाँ प्रदान गरेको थियो । उक्त रकम समाजका अध्यक्ष कृष्णप्रसाद कँडेलले पत्रकार महासंघका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरेका थिए । खेलमै विशिष्ट अतिथिको रुपमा आएका अर्जुनवाण गणका गणपति नेपाली सेनाका प्रमुख सेनानी अच्युतम भण्डारीले पनि ५ हजार ५ रुपैयाँ सहयोग हस्तान्तरण गरे । कार्यक्रम समाजका अध्यक्ष कँडेलको अध्यक्षता, काठेखोला गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष शिव कँडेलको स्वागत मन्तव्य र सञ्चालन सचिव सन्तोष पुनले गरेका थिए ।


      प्रतिकृया दिनुहोस्