गण्डकीमा एमालेले बनायो छायाँ सरकार

समाधान संवाददाता २०७८ साउन ३० गते १२:१५

समाधान संवाददाता

नेकपा एमालेले गण्डकी प्रदेशमा छायाँ सरकार बनाएको छ । एमाले संसदीय दल अन्तर्गतको संसदीय बोर्डको शुक्रबारको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको हो । दलका प्रमुख सचेतक मायानाथ अधिकारीका अनुसार ती समितिले विषयगत मन्त्रालयका कार्यप्रगति हेर्नेछन् । ‘प्रदेशमा ११ मन्त्रालय छन्, ९ समितिले सबै मन्त्रालयको काम हेर्ने गरी संसदीय समूह बनाएका छौं,’ अधिकारीले भने ।


शुक्रबार बनेका समूहहरुले मन्त्रालयका बजेट, योजना, कार्यान्वयनका पक्ष हेर्ने अधिकारीले बताए । अधिकारीका अनुसार भौतिक पूर्वाधार, विकास तथा यातायात समूहको संयोजक पूर्वमन्त्री रामशरण बस्नेत छन् । समूहमा रोशन गाहामगर र प्रभा कोइराला सदस्य छन् ।


यस्तै सामाजिक विकास समूहमा नरदेवी पुन मगरको संयोजकत्वमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट सदस्य चुनिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण समूहको संयोजकत्व विकास लम्सालले गर्नेछन् । समूहको सदस्यमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार रहेका प्रमुख सचेतक अधिकारीले बताए ।

Advertisement


यस्तै अर्को समूह कानुन, सूचना सञ्चार, प्रदेश मामिला समूह छ । यसको संयोजक चन्द्रमोहन गौचन छन् भने सदस्यमा पुष्पा केसी भण्डारी चुनिएकी छन् । इन्द्रलाल सापकोटाको नेतृत्वमा अर्थ समूह गठन भएको छ । यस समूहको सदस्यमा कृष्णबहादुर थापा छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् समूहको संयोजकत्व मोहनप्रसाद रेग्मीले गर्नेछन् । समूहमा मायानाथ अधिकारी र मीना गुरुङलाई सदस्य बनाइएको छ ।


मनबहादुर गुरुङ, महेन्द्र थकाली सदस्य रहेको भूमि, व्यवस्था,कृषि समूहको नेतृत्व मित्रकुमारी गुरुङले गर्नेछिन् । ऊर्जा, खानेपानी समूहको संयोजक मीनप्रसाद गुरुङ बनेका छन् भने धनञ्जय दवाडीलाई समूह सदस्य बनाइएको छ । स्वास्थ्य, जनसंख्या, युवा तथा खेलकुद समूहको संयोजकत्व राजीव पहारीलाई दिइएको छ । समूहको सदस्यमा जूनादेवी नेपाली र सावित्रा राना मगर छन् । रानालाई यसअघिको संसदीय दलको बैठकले दलको सचेतक चयन गरेको थियो । उक्त बैठकमा किरण गुरुङलाई दलको उपनेता बनाउने निर्णय पनि भएको थियो ।

Advertisement


एमाले नेतृत्वको सरकार जेठ २७ गते ढलेको थियो । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संसदमा विश्वासको मत नपाएपछि कांग्रेस नेतृत्वको चार दलीय गठबन्धनको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका थिए । २९ जेठमा पोखरेलले अरु ४ मन्त्रीसहित मुख्यमन्त्रीको सपथ लिएका थिए । कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपाले १ जना स्वतन्त्र सांसदसमेत लिएर सरकार बनाएका थिए ।

तर उनीहरुबीच मन्त्रालय भागबन्डामा कुरा नमिलेको पछि १३ असारमा मुख्यमन्त्री पोखरेलले दुई मन्त्रीलाई जिम्मेवारी तोकेका थिए । कांग्रेसबाट मन्त्री बनेका कुमार खड्कालाई सामाजिक विकास र माओवादीबाट मन्त्री बनेका मधुमाया अधिकारीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका थिए ।१महिना भन्दा बढीको रस्साकस्सी पछि मुख्यमन्त्री पोखरेलले ८ साउनमा मन्त्रीपरिषद्लाई पूर्णता दिएका थिए ।


उक्त दिन मुख्यमन्त्रीले ६ जनालाई मन्त्री बनाएर शपथ खुवाएका थिए । कांग्रेसका बिन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला, मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास र मणिभद्र शर्मा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, माओवादी केन्द्रका रामजी बराल अर्थ, चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण, दीपक थापा मगरले वन, वातावरण तथा भूसंरक्षण मन्त्रीको शपथ लिएका थिए ।

तपाईको प्रतिक्रिया