Samadhan National Daily

      मुख्यमन्त्री क्वाटरमा फेवातालको फोहोर पानी

      पाेखरा, २३ फाल्गुण:

      अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तारन्तारको निर्देशनपछि तत्कालीन पोखरा महानगरपालिकाले २० भदौ २०७० मा फेवाताल किनारबाट लेकसाइका होटेल रेस्टुरेन्टमा पानी तान्न प्रयोग गरिएका मोटर हटाउन थाल्यो । ताल किनारका ४ सयभन्दा बढी होटेलले फेवाकै फोहोर पानी प्रयोग गर्दै आएकोमा त्यसपछि रोक लाग्यो ।

      त्यसपछि होटल व्यवसायी र स्थानीयले फेवातालको पानी तान्न छाडे पनि सरकारी नियमनकारी निकायले नै फेवाको फोहोर पानी तानेर प्रयोग गर्ने गरेको पाइएको छ । त्यसो त होटल रेस्टुरेन्ट व्यवसायीले अहिले पनि लुकीछपी फेवाको पानीप्रयोग गर्न भने छाडेका छैनन् । ६ वर्ष पहिला जलवायु तथा मौसम विज्ञान विभागले गरेको अध्ययनअनुसार फेवातालको पानी छुनसमेत अयोग्य भइसकेको छ ।

      पानीमा आवश्यक पर्ने अक्सिजन लगायतका तत्वको मात्र घट्दो छ भने क्याल्सियम र कोलिफर्मको मात्रा अत्यधिक छ । छुनसमेत नहुने पानी बिना प्रशोधन नुहाउन र भाँडा माझ्न प्रयोग हुँदै आएको छ । विभागकी तत्कालीन वरिष्ठ वैज्ञानिक ईन्द्रकुमारी मानन्धरको टोलीले गरेको अध्ययनमा सिधा मिसाइएको ढल तथा शौचालय, तालमै कपडा धुने र नुहाउने, जलाधारमा क्षेत्र खेतबारीमा विषादी प्रयोग गर्दा त्यसको असर जस्ता कारणले फेवातालको पानी दूषित भएको उल्लेख गरिएको छ । दूषित पानीका कारण छालाजन्य लगायत ५० भन्दा बढी रोगको संक्रमणको खतरा हुने चिकित्सक बताउँछन् ।

      यही पानी अहिले प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रयोग हुँदै आएको छ । पोखरा महानगरको गेस्टहाउस मर्मत सम्हार गरी फागुन ११ गतेबाट मुख्यमन्त्री गुरुङ बस्दै आएका छन् । ४० वर्ष पुरानो गेस्टहाउस मर्मत गर्न ६० लाख रुपैयाँभन्दा बढी खर्च भयो । उक्त गेस्ट हाउसमा नेपाल खानेपानी संस्थानको पानीको लाइन जोडिएको छ । वितरण पाइप पुरानो भएकै कारण, ड्यामसाइड, बिरौटा, घारीपाटन, छोरेपाटन क्षेत्रमा पानी कम जान्छ ।

      पानीको अभाव कम गर्न गेस्टहाउसमा महानगरपालिकाका कर्मचारीले फेवातालबाट पानी तान्ने गरेकोमा अहिले पनि रोकिएको छैन । गेस्टहाउस सँगै जोडिएको नेपाल प्रहरीको पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गणमा पनि फेवातालकै पानी प्रयोग हुँदै आएको छ ।

      मुख्यमन्त्री निवासको ठ्याक्कै पछाडि साँझ–बिहान २ वटा मोटरको आवाज सुनिन्छ । ती मोटर नदेखिउन् भनेर बाटोको केही तल छोपेर राखिएको छ । मोटर छोपिए पनि आवाज भने बटुवाले सुन्ने गरेका छन् । निकै थोत्रो टिनको पाताले एउटा मोटर ढाकिएको छ । त्यसको नजिकै केराको गाँजले छेकिने गरी अर्को मोटर फिट गरिएको छ । तिनै मोटरबाट मुख्यमन्त्री निवास र प्रहरी कार्यालयमा पानी तानिन्छ । मर्मत सम्भार र व्यवस्थापन पोखरा महानगरले गरेको भएकाले यसबारेमा मुख्यमन्त्री भने जानकार छैनन् ।

      नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल होटल व्यवसायीलाई पानी तान्न रोक लगाइएपछि सरकारी निकायले पनि तान्न नहुने बताए । उनले समाधानसँग भने, ‘फेवाताललाई कसैले दोहन गर्न पाइँदैन, नियम सबैलाई बराबर लाग्नुपर्छ ।’ फेवाताल प्रदूषणको मात्रा सबैभन्दा बढी मुख्यमन्त्रीकै निवासपछि भएकाले यसको संरक्षणमा पहल थाल्नुपर्ने सुझाव संयोजक पौडेलको छ । फिर्के खोलाले बगाएर ल्याउने फोहरी त्यहींनेरबाट फेवातालमा मिसिन्छ । नेपाल प्रहरीको पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गणबाट निस्केको फोहोर पानीसमेत सिँधै तालमा मिसाइएको छ ।

      पोखरा महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले मुख्यमन्त्री निवासमा खानेपानी संस्थानकै पानी आपूर्ति हुँदै आएको बताए । उनले फेवातालबाट पानी तानिएको बारे आफूलाई केही थाहा नभएको र त्यस्तो भए तत्काल रोक्ने प्रतिबद्धता जनाए ।


      प्रतिकृया दिनुहोस्