• Ad

Samadhan National Daily

  • Ad

क्यानभासमा नारी हस्ताक्षर

पाेखरा, २४ फाल्गुण:

ज्योति गुरुङ । उनलाई चित्र मन पथ्र्यो बनाउँथिन् पनि । तर चित्रमै लाग्छु भन्ने सोच भने थिएन । बिबिएस पढ्थिन् । उनलाई लाग्थ्यो – भविष्यमा कुनै बैंकमा कुर्चीमा बसेर जागिर गर्दै हुनेछु ।

हेमाकान्ति भने सानैदेखि चित्रमा रुचि राख्थिन् । साथीहरु पनि चित्र बनाउँथे । भविष्यमा के बन्ने ? भन्ने प्रश्नमा कोही डाक्टर भन्थे त कोही पाइलट । उनी एक्ली थिइन् चित्रकलामा नै लाग्छु भन्ने । उनले चित्रकलालाई यति प्रेम गरिन् कि त्यो भइनँ भने के भन्छु होलाको उत्तर कहिले खोज्नतिर लागिनन् ।

महेन्द्रपुलबाट पूर्वीदक्षिण बाटोको सानो गल्लीमा छिरेर केही मिनेट हिडेपछि बाहिर ‘बुद्धिज् एटेलिएर’ लेखेको सेतो घर छ । घरमा भित्र छिरेर जब पहिलो कोठामा छिरिन्छ – सबै भन्दा पहिले नजर ठोक्किने भनेको क्यानभासमा पोतिएका चित्रमा हो । चित्रको सानो आयतनमा तपाईं आफू स्वयंलाई पनि भेटिनुहुन्छ । देश मात्र होइन सारा जगत भेट्नुहुन्छ । कोठाकै भूईंमा थिए उन्मुक्त उडेका रंगका छिटाहरु जो नयाँ बिहान पर्खेर उड्न लागेका चरा जस्ता थिए । आलो रंगको हरहर मन लठ्याउने गन्ध–जसमा हुन्थ्यो मौलिकता र सम्मोहन कलाको सुगन्ध । सायद यहाँ प्रथम पटक पुग्ने जो कोही लाई पनि कुनै भव्य ‘चित्रकलाको स्वर्ग’ पुगेझैं आभाष हुन्छ । यो घर हो– पोखरालाई ‘स्कुल अफ वाटर कलर’को रुपमा चिनाउन सफल कलाकार बुद्धि गुरुङको । र यो त्यही घर पनि हो जहाँ एकै परिवारका ३ छोरी कुचीमा रमाउँछन् । ‘कलाकार बन्न सक्नु कसैको विचार र मस्तिष्कसँग खेल्न सक्नु पनि रहेछ,’ गुरुङ परिवारले त्यो कला जानेको छ ।

बुद्धिका ३ छोरी हुन् । हेमाकान्ती, ज्योती र कृति । सानोमा बाबाले चित्र बनाएको हेर्दाहेर्दै कति बेला रंगसँग माया बस्यो थाहा भएन उनीहरुलाई । रंगसँगै अविजित प्रेम गरे । हातमा कुची समाएर रंगसँग खेल्न थाले सानै उमेरदेखि । विद्यालयमा हुने चित्रकला प्रतियोगिताहरुमा भाग लिए । लगाव बढ्दै गयो । झुकाव गहिरियो । बुवाले बेलाबेलामा चलाउने वर्कसपमा सहभागी हुन आउने महिला कलाकारसँग उनीहरुको चिनजान भयो । सम्बन्धको कुची चलिरह्यो । यतिबेलासम्म उनीहरु राम्रो चित्र बनाउने सक्ने भइसकेका थिए ।

पंक्तिकार उनको घरमा पुग्दा बुद्धि आफ्नै क्यानभास वरिपरि थिए । २ छोरी आफ्नै कोठामा । परिवारकी जेठी छोरी कृति अध्ययनका लागि जापान छन् । कृतिकै अनुपस्थिति खड्कियो । कुराकानीका क्रममा २ बहिनीले कलाकारितामा आउँदाताकाका पुराना दिन सम्झिए । सामान्यरुपमा महिलाहरुसँग चिनजान भए पनि पछि ती महिलाहरु हराइजान्थे । तर ३ बहिनीका लागि यसरी क्यानभासमा पानी परेर चित्रको अनुहार हराए जसरी साथीहरु हराउनुको कुराले दुख्थ्यो । उनीहरु सोच्थे बरु सँगै सहकार्य गरेर पोखरेली नारी कलालाई बाहिर चिनाउन पाए हुन्थ्यो । कुची रंग र क्यानभासको दुनियाँ नै सबथोक लाग्ने उनीहरुको सोचमा अब कलाकारिता मात्र थियो ।

चित्रकला केहो त ? प्रश्नको जवाफमा हेमकान्ति एकछिन हाँसेर भनिन्, ‘डिप्रेसन होस् या ह्यापिनेस् दुबैलाई पोख्न सकिने एउटा बाटो हो, पाटो हो ।’ चित्रकलामा कुनै रोकतोक नहुने र स्वतन्त्र हुन पाउनाले नै आफूलाई यो विधा प्रिय लागेको बताइन् ।

‘अनि तपाईंको विचारमा ?’ यो प्रश्न तेर्सिएको थियो ज्योतिलाई । अलिक शान्त पारामा भनिन्, ‘दिल दिमाग र सोचको कुरालाई एक्सप्रेस गर्ने अन्तिम एउटा ठेगाना नै चित्रकला हो । चित्रको फिलिङ्समा डुब्न चित्रकार हुनु जरुरी छैन ।’

महिला कलाकार कम हुनु र पुरुषसँगै काम गर्नु उपलब्धि र चुनौती दुबै थियो । सिनियर सबै पुरुष सोच हाबी भएका हुन्थे । चित्रकला प्रर्दशनी होस या तालिम पुरुषहरुले महिलालाई हेर्ने दृष्टिकोणमा विस्तारै फरक पाउन थाले उनीहरुले । कला र कलाकारिता नबुझेको यो सहरलाई नारीले पनि केही गर्न सक्षम छन् भनेर देखाउनु बोलेर मात्र गाह्रो कुरो थियो । गरेर देखाउनु थियो । त्यसकोलागि संगठनको जरुरत भने पक्कै थियो । क्यानभासमा रंग पोतेर मात्र हुँदैन । रंगहरुले महिलाको पक्षमा पनि वकालत गर्नुपर्छ भन्ने लाग्यो उनीहरुलाई । सिर्जनशील कलाकार समूहकै अग्रसरतामा पहिलो पटक ३ बहिनीले पोखरामा चित्रकला प्रदर्शनी गरे– ‘थ्री सिस्टर्स आर्ट एक्सिबिसन’ नाममा । महिला चित्रकला त्यो पनि एउटै परिवारको ३ जना दिदीबहिनी नै कलाकारितामा लाग्नु त्यतिबेला अचम्मको विषय थियो । तर उनीहरुले सफल भएर देखाइदिए ।

पछि उनीहरुले पोखरामै रहेर चित्रकला गरिरहेका कलाकारलाई एकीकृत गरेर खोले ‘पोखरा वुमेन आर्टिस्ट फ्यामिली ।’ ३ बहिनी सँगसँगै अलिता गुरुङ, मीना गुरुङ, लिना गुरुङ, सोफिया गुरुङ, ओसुवा गुरुङ, अलिता गुरुङ, क्यान्डी इयोङ वेङ सान पनि सामेल भए । साँच्चिकै एउटा राम्रो परिवार भयो । महिला कलाकारलाई नै लक्षित गरेर पोखरामा खुलेको यो संस्था पहिलो थियो । फ्यामिलीले पोखरा र काठमाडौंमा बेलाबेलामा चित्रकला प्रदर्शनी तथा तालिम सञ्चालन गर्दै आइरहेको छ । प्रकृति नै सुन्दर चित्र जस्तो लाग्ने पोखरा सहरमा आर्टिस्ट फ्यामिलीले क्यानभासमा प्रकृति उतार्ने कामको थालनी गरेको हो ४ वर्षअघि । फ्यामिलीले ‘नेपालको मुहार’ शीर्षकमा चित्रकला प्रर्दशनी गरेर पोखराको नारी कला क्षेत्रमा उपस्थित जनायो । १० जनाबाट सुरु भएको फ्यामिलीमा अहिले ४ जना थप भएका छन् । सबैलाई कलाका माध्यमबाट १ गराउने काम फ्यामिलीले गर्दै आइरहेको छ । त्यसैगरी फ्यामिलीले सन् २०१४ बाट २०१८ सम्मको लागि ‘कल्चर एक्सचेञ्च आर्ट वर्कसप’ अभियान चलाइरहेको छ । जसबाट प्रत्येक वर्ष उल्लेख्य मात्रामा राम्रा कलाकारको जन्म भइरहेको छ । रंग कुची र क्यानभासमा जीवनको रंगीन चित्र कोर्दैछन् ।

त्यसो त बाबाआमाबाट कलाकारितामा प्रेरणा र प्रोत्साहन पाएका उनीहरुलाई संस्थागत रुपमा लाग्नुपर्छ भन्ने ज्ञान ‘वुमेन आर्टिस्ट ग्रुप अफ नेपाल’ले दिएको हो । काठमाडौैंबाट आउने राष्ट्रियस्तरका कलाकारसँग भेट पनि यही ग्रुपले जुराइदिएको हो । वरिष्ठ महिला कलाकार रागिनी उपाध्यायसँगको सहकार्यमा पाटनमा भएको चित्रकला प्रदर्शनी अविस्मरणीय उनीहरुको लागि । सोचेको भन्दा बढी दर्शकको उपस्थिति र राम्रो प्रतिक्रिया अहिले पनि सम्झन्छन् । समाज आधुनिक युगमा प्रवेश गरेको ढोङ देखाए पनि नारी माथि हेर्ने समाजको दृष्टि नफेरिएकोमा दुवै जनाले गुनासो गरे ।

हेमकान्ति अहिले पनि रोजाइकै क्षेत्रमा छिन् । बगरको एक निजी स्कुलमा ‘आर्ट टिचर’को रुपमा काम गर्छिन् । रंगहरुको समीपमा रम्न पाउँदा उनलाई खुशी लाग्छ । कसैले डिस्टर्ब नगरिदिए हुन्थ्यो झैं लाग्छ । त्यसैले घरमा चित्र कोर्दा पनि आ–आफ्नै धुनमा हुन्छन् । एकले अर्कालाई बाधा नपु¥याउने अदृश्य सहमति जस्तै छ । गीत सुन्न र नाच्न मन पराउने उनी कुनै बेला नाच कक्षामा पनि जान्थिन् तर चित्रकला जस्तो प्रेम भने नृत्यसँग भएन । उनी फर्किएर आर्टमै एकचित्त भइन् । हरर थ्रिलर उपन्यास उनको मुख्य मन पर्ने अध्ययन विधा हो । रंग बाहेक उनलाई थप नयाँ नयाँ कुरा सिक्न पनि खुब मजा लाग्छ । चित्र बनाउँदा रोमान्टिक पर्पल र गाढा नीलो रंग प्रयोग गर्न रुचाउँछिन् । खाली समयमा युट्युबमा घन्टौं झुम्मिने उनको बानीले नै उनलाई फरक बनाएको उनी भन्छिन् । कोरियन, डच, जर्मन, हिन्दी भाषामा दख्खल राख्ने उनले यी भाषाहरु फिल्म हेरेर सिकेकी हुन् । नेपाली आर्ट विधालाई विश्वमा चिनाउने लक्ष्य राखेकी हेमकान्ति अहिले पोखरेली युवा सांस्कृतिक परिवारको कला संयोजक हुन् ।

उसो त ज्योति पनि आर्ट टिचर नै हुन् । मन्टेसरीमा ससाना नानीहरुलाई जीवनको रंगको कला सिकाउँदा सिकाउँदै दिन बितेको पत्तो पाउँदिनन् उनी । ससाना बच्चाहरुको हातमा कुची र रंग पोतिएको दृश्य उनलाई सबैभन्दा प्रिय लाग्छ । पोखरामा फाइन आर्ट कलेज नभएको बेला पनि बाबानै आफ्नो लागि विश्वविद्यालय भएको बताउँछिन् उनी । स्कुलमा पढ्दा एउटा चित्रकला प्रतियोगितामा भाग लिइन् । दिदी कृति प्रथम र आफू द्वितीय भएकी थिइन् । कला र कलासँग सम्बन्धित विभिन्न समूह तथा संघसंस्थासंग आबद्ध उनी अबको बाँकी समय पनि कलाकारिता मै बिताउने सोचेकी छिन् । वाटर कलर उनको पहिलो रोजाइमा पर्छ । उनले आफूलाई वाटर कलरमा बढी खुलेको पाउँछिन् । पढाइको सन्दर्भमा भने लामो हाँस्दै किताब हे¥यो कि निद्रा लाग्ने बताइन् । तर हाल एकजना पोखरेली श्रष्टाकै कृति पढिरहेकी उनको मन त्यसैले तानेको छ ।

कलाको माध्ययमबाट पोखरालाई चिनाइरहेका यी २ बहिनी कलाकारलाई भने महानगर वा सरकारी तवरबाट हालसम्म कुनै सहयोग पाएका छैनन् । बेलामौकामा आउने प्रायोजकको सहयोग र आफ्नै लगानीले नै वर्कसप तथा प्रदर्शनी गरिरहेको उनीहरुले बताए । पोखरा वुमेन आर्टिस्ट फ्यामिली संस्था नाफामुखी नभएकै कारण त्यसैका माध्यमबाट निशुल्क रुपमा आर्ट कक्षाहरु पनि सञ्चालन गर्दै आइरहेकाछन् । वर्षमा आफ्नो व्यस्त समयका बीच पनि २ देखि ३ वटा चित्रकला कार्यशाला सञ्चालन गर्दै आइरहेको छ दिदीबहिनी ग्रुपले । कलाकारिताका साथै सामाजिक सेवामा रुचि राख्ने उनीहरुले चित्रकला प्रदर्शनी र बिक्रीबाट आएको पैसाले भूकम्प पीडितलाई पनि सहयोग गरेका छन् । हेमकान्तिले अब चाँडै नै एकल चित्रकला प्रदर्शनी गर्ने सोंच रहेको सुनाइन् ।

सायद जिन्दगी पनि खाली क्यानभास जस्तै हो । आफ्नो कला चिन्नेले कलाले रंग्याउँछन् – सुन्दर बनाउँछन् । बहुमूल्य बनाउँछन् । कला नचिन्नेहरुले केरमेट पारिरहन्छन् र तनाव थोपारिरहन्छन् – ठिक त्यसपछि जिन्दगी एउटा कुरुप चित्र बनिदिन्छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • खर्कको अभावमा चौंरीपालन घट्दो

    मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने...

  • बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

    उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा...

  • पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय...

  • भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास...

Ad
Ad
Ad