Samadhan National Daily

      पाेखरा इञ्जिनियरिङमा छैटाै‌ं पेक प्रदर्शनी सुरु

      पोखरा, २४ फाल्गुण:

      इञ्जिनियरिङका विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासलाई जोड दिन पोखरा इञ्जिनियरिङ कलेज फिर्केले आयोजना गरेको छैटौं पेक इञ्जिनियरिङ एक्स्पो २०१८ बिहीबार सुरु भएको छ ।

      पोखरा महानगरका मेयर मानबहादुर जिसीले प्रर्दशनीको उद्घाटन गर्दै पोखरालाई प्रविधीमैत्री शहर बनाउन विज्ञान र प्रविधि क्षेत्रका कलेजहरुसँग सहकार्य गर्ने बताए । महानगरले नीतिगत निर्णय गरेर विज्ञहरुको सहयोग लिने उनले उल्लेख गरे । ‘सूचना र प्रविधिलाई आत्मसाथ नगरेसम्म समृद्धि हासिल गर्न सकिन्न,’ उनले भने, ‘महानगरलाई चुस्त दुरुस्त बनाउने प्रविधि क्षेत्रको सहयोग आवश्यक छ ।’

      मेयर जिसीले विद्यार्थीहरुले प्रर्दशन गरेका सामग्रीको स्थायीत्व र बजारीकरणको लागि स्थायी खालको प्रर्दशनी केन्द्रको आवश्यकता रहेको बताए । उनले पोखरामा सडकको भन्दा पनि नाली व्यवस्थापनको समस्या रहेको उल्लेख गरे ।

      पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन वुद्धिराज जोशीले सबै प्राविधिक क्याम्पसको समन्वय र सहकार्यमा पोखरालाई स्मार्ट सिटी बनाउन सकिने बताए । त्यसको लागि महानगरसंग छलफल भइरहेको जानकारी दिए । इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेलले इञ्जिनियरहरुले महानगरलाई प्राविधिक रुपमा सहयोग गर्ने बताए । उनले नेपालमा प्रयोगात्मक पक्ष कमजोर भएको उल्लेख गरे ।

      सिँचाई डिभिजन कार्यलयका इञ्जिनियर तुलसी भट्टराई, कलेजका संस्थापक प्रिन्सिपल लेखबहादुर गुरुङ, कलेजका रिसर्च एन्ड डेभलपमेन्ट चिफ इञ्जिनियर सरोज गिरी, विद्यार्थीहरु प्रतिमा गुरागाईं, स्मृति बराल, विनायक पौडेलले बोलेका थिए ।


      प्रतिकृया दिनुहोस्