Samadhan National Daily

      हारेर पनि जित्नेकाे कथा ‘राइडर अमित’

      पोखरा, ११ चैत्र:

      पोखरा, पस्र्याङका अमित श्रेष्ठले पल्सर डेयर भेन्चर सिजन १ मा एप्लाई गरे । टप २० मा पुगेपछि सोबाट बाहिरिए । सिजन २ मा पुनः एप्लाई गरे । तर अब्स्ट्याकल राउण्डमा आउट भए ।

      उनले हार मानेन्, या भनौं उनले जिन्दगीमा हार्न कहिल्यै जानेनन् । हार मान्नुको सट्टा उनी पल्सर डेयर भेन्चरको तेस्रो सिजनको लागि झनै तयारी गर्न थाले । बाइक पनि किने । भाग्यले उनको परीक्षा लिइरह्यो । जब तेस्रो सिजन सुरु भयो, उनले फेरि एप्लाई गरे र सेलेक्ट पनि भए ।

      यस सिजनमा उनले आफ्नो ३ वर्षको पर्खाइ, धैर्यता र मेहेनतलाई खेर जान दिएनन् । जज र मार्सलहरुले दिएका हरेक टाक्सलाई कुशलतापूर्वक अटेम्प्ट गरिरहे । फलस्वरुप उनलाई पल्सर डेयर भेन्चर सिजन ३ को विजेता घोषित गरियो । कहिलेकाही अमित सोच्छन्, ‘मैले सुरुमै वा दोस्रो पटक हार मानेको भए !’ जीतपछि उनले ‘घोडा चढ्ने मान्छे लड्छ’ भन्ने उक्तिलाई मनन गरे, र, थाहा पाए हार नै जीतको द्योतक हो ।

      २०६३ सालमा एसएलसी पास गरेपछि बाइक चढ्ने रहरले लाइसेन्स् निकालेर बुवाको बाइक कुदाउन थाले । तीन वर्षदेखि गैरापाटनमा ‘न्यू इरा रिकन्डिसन हाउस’ सञ्चालन गर्दै आएका अमित कुनै बेला ब्रिटिस आर्मी बन्ने सपना देख्थे, र, मिहिनेत पनि । दुई पटकसम्म लाहुरे हुन भिडेका पनि थिए । तर भाग्यको लेखा भनौं उनी आर्मी हुन सकेनन् । सायद उनलाई आफ्नै देशमा पसिना बगाएर अघि बढ्नु थियो ।

      त्यसपछि उनलाई वैदेशिक रोजगारको सोचाई नै भएन । आर्मीको सपना तुहिएपछि आफन्त दाईको सुझावमा रिकन्डिसन हाउस खोले । उनले उक्त रिकन्डिसन हाउस आफ्नी स्वर्गीय आमाको नाममा खोलेका छन् । ‘सुरु सुरुमा अलि गाह्रै भयो, प्रायः ग्राहकहरु पनि झट्ट विश्वास गर्न नखोज्ने । पछि पल्सर डेयर भेन्चरको विनर भएपछि सबैले चिन्न थाले । बिजनेसलाई पनि राम्रो फाइदा भयो ।’ यति भनिरहँदा उनको मुहारमा एक किसिमको ‘स्याटिस्फ्याक्सन’ झल्कन्थ्यो ।

      १७ वर्षको हुँदा आमा गुमाएका अमित र उनको जुम्ल्याहा भाई सुमित हजुरआमाको रेखदेखमा हुर्किए । आफ्नो हजुरआमालाई सम्झिदै भन्छन्, ‘आमापछि हामीलाई अजी (हजुरआमा)ले हुर्काउनु भएको हो । उहाँले नै हामीलाई सही/गलतबीचको अन्तर बुझाउनु भयो ।’ आमाको निधनपछि अजीबाट आफ्नो आमाको माया पाएका थिए । उनी फेरी शोकमा परे । अमितको सहारा बनेकी अजीलाई दैवले सहेन । घरमा बुवा, दाई र जुम्ल्याहा भाई सुमित बाहेक कोही भएन ।

      अमित एसएलसीपछि प्लस टु गर्न काठमाडौं गए । प्लस टु सकेर उनी फेरी पोखरा फर्के र ब्याचलर गर्न जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना भए । त्यही क्रममा कलेजमै उनको भेट सविनासँग भयो । दुबै प्रेममा परे । जसको गन्तव्य विवाह थियो । उनीहरुले भागी विवाह गरे । घरपरिवारले सहजै स्वीकारे । अमितको जीवनमा सविना ‘लक्की चार्म’ बनेर आइन् । आफ्नो सफलताको श्रेय कडा परिश्रम र पत्नी सविनालाई दिन भुल्दैनन् उनी ।

      अमित हाल सफल बिजनेसम्यान बन्ने धुनमा छन् । र, धेरथोर त्यही नाममा चिनिन्नछन् पनि । डेयर भेन्चर विजेताको ट्यागसँगै उनलाई ‘नेपाल्स बेस्ट राइडर’ र ‘अनस्टपेबल राइडर’को अवार्ड समेत दिइयो । पुरस्कारस्वरुप उनले हात पारे पल्सरको लेटेस्ट २ सय सीसीको एनएस बाइक । यसका साथै उनले १० लाख नगद पुरस्कार र सामसुङको एस ८ मोबाइल सेट । पुरस्कारको धनराशी पनि ठूलै भएको उनी बताउँछन् ।

      भविष्यमा नेपालमै रहेर राइडिङ फिल्डमा ‘केहि’ गर्ने र युवापस्ताका लागि नमुना बनेर मार्गदर्शन गर्ने उनको सोंच छ । हाल गैरापाटनको रिकन्डिसन हाउससँगै चिप्लेढुङ्गामा बाइक वर्कसपसमेत सञ्चालन गर्दै आएका अमितले ३ जनालाई रोजगार पनि दिएका छन् । अहिलेसम्मको जीवन बाँच्नेक्रममा उनले बुझेको फिलोसोफी छ, ‘नथिङ इज इम्पोसिबल, अनलेस यु ट्राई ।’


      प्रतिकृया दिनुहोस्