Samadhan National Daily

      नीति तथा कार्यक्रमलाई प्रतिपक्षले भन्योः सस्ताे प्रचारबाजी र पार्टीको दस्तावेज जस्तो

      पोखरा, ५ बैशाख:

      सरकारले प्रस्तुत गरेको प्रदेश ४ को नीति तथा कार्यक्रममाथि मंगलबारबाट छलफल सुरु भएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७४-७५ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा मंगलबार १६ सांसदले भाग लिए ।

      सत्ता पक्षका सांसदले नीति तथा कार्यक्रमको प्रसंशा गर्दै केही विषय थप्न सुझाव दिए । प्रतिपक्षी दलका सांसदले भने सस्तो प्रचारवाजीका लागि ल्याइएको महत्वाकांक्षी दस्तावेज भन्दै कटाक्ष गरे ।

      कांग्रेसका कृष्णचन्द्र नेपालीले सरकारले ल्याएको नीति तथा कार्यक्रम पार्टीको अधिवेशनमा प्रस्तुत गरेको दस्तावेज जस्तो अनुभूत गरेको बताए । उनले भने, ‘महान् हस्तीहरुलाई सरकारले सम्झेको छ, त्यति हुँदाहुदै पनि जननायक विपी कोइरालालाई सम्झनुभएकोमा धन्यवाद दिन चाहान्छु । इतिहास तोडमोड गरियो भने भोलिका पुस्तालाई हामीले ढाँट्न पाइँदैन ।’

      पुष्पलाल र मदन भण्डारी भन्दा पछि विपीको नाम राखेर इतिहास तोडमोड गर्न खोजिएको भन्दै उनले कटाक्ष गरे । गिरिजाप्रसाद कोइरालाको योगदान र संविधानलाई संस्थागत गर्न ३ वटा निर्वाचन गराउने सरकारलाई समेत नीति तथा कार्यक्रममा सम्झने प्रयास नगरेकोमा उनले दुखमनाउ गरे ।

      सरकारले ल्याएका योजना महत्वाकांक्षी भए पनि त्यसका लागि स्रोतको व्यवस्थापन गर्न कठिन रहेको उनको भनाइ थियो । कोराला, पोखरा, पोखरा त्रिवेणी सडक केन्द्रीय सरकारको योजनामा परिसकेको भन्दै अब फास्ट ट्रयाक बनाउन जोड दिनुपर्ने उनले बताए । दीगो विकासका धेरै कुरा उठाए पनि सीमान्तीकृतलाई माथि उठाउने खालका कुनै योजना यो दस्तावेजमा नसमेटिएको उनले आरोप लगाए ।

      यही प्रदेशमा जन्मेका नेपाली साहित्यका धरोहर राष्ट्रकवि माधव घिमिरेको नाममा सांस्कृतिक संग्रहालय बनाएर उनको सम्मान गर्न सांसद नेपालीले सरकारसँग आग्रह गरे । लोकतान्त्रिक व्यवस्थामा सरकारले सञ्चारमाध्यम चलाउन खोजेका भन्दै उनले चर्को आलोचना गरे । उनले भने, ‘सरकारी दस्तावेज राजपत्रमा आउँछन्, लोकतान्त्रिक प्रक्रियामा सरकारी मिडियाको औचित्य छैन ।’

      सांसद कुमार खड्काले नीति तथा कार्यक्रममा पर्याप्त सकारात्मक विषय भए पनि अमूर्त र अविवेकीको संज्ञा दिए । उनले भने, ‘लोकतन्त्रका लागि खटेका कांग्रेसका अग्रज त अटेनन् अटेनन्, वृद्धभत्ता लागू गरेर चर्चा कमाएका मनमोहन अधिकारीलाई समेत यो सरकारले सम्झने प्रयास गरेन ।’

      सम्पन्न भइसकेका योजनालाई आगामी यति वर्षमा पूरा गरिनेछ भनेर सरकारले जनतालाई ढाँट्ने काम गरेको आरोप उनको थियो । सरकारले यो वर्षलाई कानुन निर्माणको वर्ष भनेर घोषणा गरेकोमै उनले असहमति जनाए । उनको प्रश्न थियो, ‘अहिलेसम्म सदनमा ६ वटा विधेयक दर्ता गराएको सरकारले असारभित्रमा १ सयभन्दा बढी कानुन बनाउँछौं भनेको भाषण कसरी पत्याउने ?’

      कांग्रेस सांसद मणिभद्र शर्मा कँडेलले सरकारको नीति तथा कार्यक्रम मीठो भाषणको पुलिन्दा भएको टिप्पणी गरे । लोकतन्त्रकै लागि जीवन अर्पण गरेका नेताहरुको नाम लिनसमेत कन्जस्यार्इँ गरेर सरकारले कमजोरी प्रदर्शन गरेको उनको आरोप छ ।

      छलफलमा भाग लिने माओवादी केन्द्रका सांसदहरुले नीति तथा कार्यक्रममा जनयुद्ध शब्द समावेश नगरिएको, जनयुद्धका सहिद र घाइते योद्धालाई सम्बोधन गर्ने प्रयास नगरिएको भन्दै दुख व्यक्त गरे । सांसद आशा खनाल कोइराला त यो सरकारले सहिदको बलिदानको सम्मान गर्न नसकेको भन्दै रोस्टममै भक्कानिइन् ।

      सहिद र घाइते योद्धाको नाम लिने बित्तिकै उनको गला अवरुद्ध भएको थियो । केही बेर रोकिएर उनले जनयुद्धका सहिद सुरेश वाग्लेको नाम छुट्न नहुने भन्दै सरकार इतिहासको सम्मान गर्न चुकेको भनाइ राखिन् ।

      जनमोर्चाका सांसद टेकबहादुर घर्तीले नीति तथा कार्यक्रम कास्की र पोखरासँग अलि नजिक भएको भन्दै ११ वटै जिल्लालाई समेट्न आग्रह गरे । माथिल्लो मुस्ताङ, मनाङ, गोरखाको चुमनुब्री उपत्यकालाई समेट्दा बालगुङको ढोरपाटन छुटेकोमा उनले दुख व्यक्त गरे ।

      उनले भने, ‘अलि अस्ति महोत्सव उद्घाटनमा पुग्दा प्रचण्डले ढोरपाटनमा विकासको मूल फुट्यो फुट्यो भन्नु भएको थियो, यहाँ त नामै छुट्यो ।’ बागलुङबाट प्रतिनिधित्व गर्ने सबै सांसदले नीति तथा कार्यक्रममा ढोरपाटन नसमेटिएकोमा दुखमनाउ गरेका थिए ।

      मंगलबारको छलफलमा कृष्णबहादुर थापा, चन्द्रबहादुर बुढा, हरिशरण आचार्य, मीना गुरुङ, इन्द्रलाल सापकोटा, मधुमाया अधिकारी गुरुङ, जनकलाल श्रेष्ठ, रोशनबहादुर गाहाथापा, दिलमाया रोक्का मगर, पुष्पा केसी भण्डारी र रामबहादुर गुरुङले सहभागिता जनाए ।
      मंगलबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले स्थानीय तहको सभा सञ्चालन सम्बन्धी विधेयक सदनमा

      टेबल गरेका छन् । उक्त विधेयक चैत २६ गते संसद सचिवालयमा दर्ता भएको थियो । संसदको अर्को बैठक बुधबार दिउँसो १२ बजे बस्ने सभामुख नेत्रनाथअधिकारीले जानकारी गराए ।


      प्रतिकृया दिनुहोस्