Samadhan National Daily

      सिंगल गर्ल ‘प्राप्ती’

      , १० बैशाख:

      कक्षा ७ मा पढ्दा शिक्षकले राम्रो गाउँछिन् भनेर एक बाल प्रतियोगितामा भाग लिन पठाएका थिए प्राप्ती तुलाचनलाई ।

      मासको अगाडि डरले राम्रो गाउँन सकिनन् । त्यो क्षण सम्झिदै प्राप्ती भन्छिन्,‘नर्भस भएर राम्ररी गाउँन सकेको थिइन, त्यसैले केही प्राइज पनि पाइनँ ।’ पुरस्कार नपाउँदा उनले मनमनै सोचेकी थिइन, म गाएरै छाड्छु, जितेरै छाड्छु ।

      कुनै बेला अडियन्सको अगाडी गाउँन डर मान्ने उनी हाल ‘प्राप्ती एन्ड ब्रदर्स’ ब्यान्डको फिमेल लिड सिंगर हुन् र हार्मोनी गायीका पनि । थुप्रै मान्छेका अगाडि उभिएर मज्जाले गाउँछिन् र उनको गायनको तारिफ पनि हुन्छ ।

      ०४७ सालमा रामप्रसाद र रत्नकुमारी तुलाचनकी कान्छी छोरीको रुपमा जन्मिएकी प्राप्ती सानैदेखि नाँच्न, गाउँन रुचि राख्थिन् । फिल्मका गीतहरु क्यासेटमा रेकर्ड गरेर सुन्थिन् । गीतको लिरिक्स र लय कन्ठ पार्थिन् र घरमै रेकर्ड गर्थिन् । आफैले गाएको रेकर्ड सुन्थिन् । यसरी नै उनको संगीतको अभ्यास सुरु भयो ।

      घरको काम गरिरहँदा पनि गीत गुन्गुनाइरहन्थिन् । कलेजको वार्षिकोत्सवमा गाएर शिक्षक र साथीहरुको तारिफ बटुल्थिन् । स्कुले उमेरको त्यो रुचि नै उनको प्यासन बन्यो । उनी सिंगर बन्ने सपना देख्न थालिन् । गाउन बाहेक उनले अरु केही सोचिनन् । उनको त्यो सपनालाई परिवारले पनि साथ दियो ।

      संगीत क्षेत्रमा लागेको लगभग ८ वर्ष भयो । प्लस टु सकेर बस्दा उनलाई सेन्टर प्वान्इट गजलबाट अफर आएपछि उनको गायन करिअर अघि बढ्यो । प्राप्तीका अनुसार संगीतले उनलाई धेरै थोक दिएको छ । भन्छिन्, ‘संगीत क्षेत्रबाट मैले धेरै कुरा सिक्ने मौका पाएकी छु र थुप्रै अवसर पनि । र म यसमै खुसी छु ।’

      हाल उनी एम्बेस्सी, मुग्लान, ओपन हाउस र अन्नपूर्ण गार्डेनमा ब्यान्डसहित आफ्नो प्रस्तुती दिन्छिन् । प्राप्ती एन्ड ब्रदर्समा उनी लागायत सुनिल गुरुङ( लिड एन्ड रिदम गिटारिस्ट), विकास गुरुङ(बासिस्ट), परिवर्तन(किबोर्ड), कुशन गायक(अक्टो प्याडिस्ट), पारस थापा(मेल लिड भोकलिस्ट) गरी ६ जना सदस्य छन् ।

      ब्याडमा रहेर गाउन सुरु गरेको ८ महिना जति भयो । ब्यान्डले धेरथोर चर्चा पनि पाउन थालेको छ । ब्यान्डमा एक्ली केटी भएकोमा गर्व लागेको बताउँदै उनले भविष्यको योजना सुनाइन्, ‘संगीत क्षेत्रमा रहेर नाम कमाउनु छ, असल सिर्जना पस्कनु छ ।’


      प्रतिकृया दिनुहोस्