Samadhan National Daily

      तनहुँ हाइड्रोको बिजुली खरिद सम्झौता

      तनहुँमा निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता

      दमाैली, १२ बैशाख:

      तनहुँमा निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक पिपिएमा गत शुक्रबार हस्ताक्षर भएको हो ।

      सम्झौतामा प्राधिकरणको योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले हस्ताक्षर गरेका छन् ।

      सुख्खा याममा प्रतियुनिट १२.४० रुपैयाँ र बर्खामा ६.१० रुपैयाँमा खरिद गर्ने गरी प्रारम्भिक सम्झौता भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘आयोजनाको प्रारम्भिक पिपिएमा हस्ताक्षर भएको छ,’ उनले भने, ‘अब प्राधिकरणको सञ्चालक समितिबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।’

      प्राधिकरणले प्रारम्भिक पिपिए गरेको तनहुँ जलविद्युत आयोजना पहिलो जलाशय आयोजना हो । आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट प्रक्रियामा छ । आयोजनाको निर्माण सन् २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ ।

      अहिले आयोजनाको निर्माण पूर्वका काम भइरहेका छन् । डुबान क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि करिब ९० प्रतिशत मुअब्जा तथा क्षतिपूर्ति वितरण भइसकेको छ । पहिलो प्याकेज अन्तर्गत आयोजनाको हेड वक्र्स, पावरहाउस पर्छ भने दोस्रो प्याकेजमा विद्युतगृह र आयोजनाको सुरुङ निर्माण तथा इलेक्ट्रो मेकानिकल इक्विपमेन्ट आयत र जडान पर्छ ।

      पहिलो प्याकेजमा एडिबी र दोस्रोमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोग रहनेछ । पहिलोमा छनोट भएका ठेकेदारको अन्तिम मूल्यांकन तथा स्वीकृतका लागि एडिबी पठाइएको छ । यस्तै, दोस्रो प्याकेज स्वीकृत गर्न जाइका पठाइएको छ । पहिलो प्याकेजको प्राविधिक मूल्यांकनको स्वीकृत आउने तयारीमा रहेको प्रबन्ध निर्देशक थिकेले जानकारी थिए । उनका अनुसार यसपछि कम्पनीहरूको आर्थिक प्रस्ताव खोलिनेछ ।

      आयोजना निर्माण सन् २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणका लागि स्थानीय तहमा सहजीकरण गर्न आयोजना प्रभावित तनहुँका चारै तहमा स्थानीय परामर्श मञ्च (एलसिएफ) गठन भइसकेको छ । डुबान क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि करिब ७० प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति वितरण भइसकेको छ ।

      आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । यो लागत निर्माण अवधिको ब्याज र प्रसारण लाइन तथा ग्रामीण विद्युतीकरणको खर्चसहित हो । आयोजनामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणका अतिरिक्त एसियाली विकास बैक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग र युरोपेली लगानी बैकको संयुक्त लगानी रहनेछ ।

      आयोजनामा एडिबीले १५ करोड, जाइकाले १८ करोड ४० लाख, इआइबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर लगानी गर्ने छन् । सन् २०२२ भित्र निर्माण सक्ने लक्ष्य राखिएको आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको छ ।


      प्रतिकृया दिनुहोस्